जनकपुर बोल्ट्सको फेसबुकबाट ।
वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको टिम जनकपुर बोल्ट्सको लोगोप्रति विवाद उत्पन्न भएको छ ।
लोगोमा प्रयोग गरिएको चित्रलाई जनकपुरस्थित ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको जानकी मन्दिरको भनिए पनि वास्तविक मन्दिरसँग कुनै मेल नखाएको भन्दै स्थानीयले असहमति जनाएका छन् ।
जनकपुरका स्थानीयहरूले उक्त लोगोले जानकी मन्दिरको वास्तविक सुन्दरतामा आँच पुर्याएको आरोप लगाएका छन् । उनीहरूका अनुसार मन्दिरको चित्र गलत रूपमा प्रस्तुत हुँदा जनकपुरवासीहरूको भावना प्रभावित भएको छ ।
स्थानीय समाजसेवी सरोज राय यादवले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जनकपुर बोल्ट्सको लोगोमा रहेको चित्रको आलोचना गरेका छन् । उनले लेखेका छन्, “जनकपुर बोल्ट्स टिमको खेलाडीहरूको युनिफर्ममा जनकपुरको पहिचान जनाउने जानकी मन्दिरको चित्र छापिएको छ, तर उक्त चित्र वास्तविक जानकी मन्दिरसँग बिलकुलै फरक छ । यस्तो चित्रले मन्दिरको वास्तविक सौन्दर्यलाई हानि पुर्याउँछ र जनकपुरवासीहरूको भावनामा चोट पुर्याउँछ । सक्षम ग्राफिक डिजाइनरले यसलाई सजिलै सुधार गर्न सक्छन् । जानकी मन्दिर हाम्रो गर्व र पहिचान हो, त्यसैले यसको सही र सम्मानजनक चित्र मात्र प्रयोग गर्नुपर्छ। आयोजकले तुरुन्त सुधार गर्नु पर्छ ।”
त्यस्तै, अर्को सामाजिक सञ्जाल प्रयोगकर्ता पवन कुमारले जानकी मन्दिर केवल जनकपुरको मात्र नभई विश्वकै सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै लोगो सच्याउन माग गरेका छन् । उनले लेखेका छन्, “जानकी मन्दिर नेपालको मात्र नभएर विश्वमै पहिचान बोकेको सम्पदा हो । यसको पहिचान नै खतरामा पुग्छ। यदि यो माँ जानकी मन्दिरकै चित्र हो भने यो राष्ट्रघाती कदम हो । यो लोगो यथाशक्य चाँडो सच्याउनु पर्छ। होइन भने राज्यले गम्भीरता पूर्वक पहल गर्नुपर्ने देखिन्छ ।”
यस विषयमा फरक मत राख्नेहरूले पनि आफ्नो धारणा व्यक्त गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता जिबरली खानले लोगोको त्रुटि भए पनि यस वर्ष एनपीएलमा जनकपुर बोल्ट्सलाई समर्थन गर्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, “तिन दिन पछि गेम छ। सब जर्सीमा लोगोहरू प्रिन्ट भइसकेका छन् होला । अब केही गर्न सकिँदैन । त्यो बुझेर अब यो विषयलाई यहीँ छोडेर टिमलाई समर्थन गरौँ । किनभने यस्ता विषयहरूले खेलाडीहरूको मानसिकता र प्रदर्शनमाथि असर पर्छ । अर्को वर्ष लोगोमा अर्कै केही राख्नु पर्छ । लुम्बिनी र काठमाडौँको लोगो जस्तै बुद्ध र पशुपतिको चित्र राखेका छन् ।”
स्थानीयहरूले जानकी मन्दिर जनकपुरको मात्र नभई राष्ट्रिय पहिचान भएकोले यसको चित्र सही रूपमा प्रस्तुत गर्न आग्रह गरेका छन् । विभिन्न प्रतिक्रियाहरूले आयोजकलाई लोगो सच्याउन र भविष्यमा यस्तो त्रुटि नदोहोर्याउन सचेत गराएका छन् ।
हाल विवाद भइरहे पनि, खेल सुरु हुन तीन दिन मात्र बाँकी रहेकोले यस विषयले टिमका खेलाडीहरूको मानसिकतामा असर पार्ने चिन्ता पनि व्यक्त गरिएको छ । स्थानीयहरूको भावनालाई सम्मान गर्दै भविष्यमा लोगोको पुनरावलोकन गर्ने आशा गरिएको छ ।
क्रितिपुरस्थित टीयु क्रिकेट मैदानमा मङ्सिर १५ गतेदेखि नेपाल प्रिमियर लिग सुरु हुँदै छ । प्रतियोगिताको पहिलो संस्करणमा कुल आठ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
यस विषयमा प्रतिक्रिया माग्दै जनकपुर बोल्ट्सलाई लेखिएको इमेलको कुनै जवाफ आएको छैन । आएपछि यहाँ समावेश गरिनेछ ।