×

फाइल तस्बिर ।

वीरगञ्ज । अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व रक्षा मन्त्री योभ गालन्टका साथै हमासका सैन्य कमान्डरका लागि गिरफ्तारी वारेन्ट जारी गरेका हो।

आइसिसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आइसिसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। त्यस्तै हमासका नेता मोहम्मद देइफका लागि पनि वारेन्ट जारी गरिएको छ। यद्यपि इजरायली सेनाले जुलाईमा गाजामा गरेको हवाई आक्रमणमा उनको मृत्यु भइसकेको छ।

योसँगै आइसिसीका १२४ सदस्य राष्ट्रहरूले यो निर्णय बारे आफ्नो सहमति/असहमति जाहेर गर्नेछन्। हमासका नेता देइफको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका थिए। उनलाई दक्षिणी इजरायलमा आक्रमणको नेतृत्व गरेको र १ हजार २०० मानिसको हत्या गर्नुका साथै २५१ जनालाई बन्धक बनाएर गाजा लगाएको आरोप लगाउने गरिन्छ।

यसको जवाफमा इजरायलले हमासलाई नष्ट गर्न भन्दै सैन्य अभियान सुरु गरेको छ भने यस क्रममा कम्तीमा ४४ हजार मानिस मारिएको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। हमास नेताहरूलाई मानवता विरुद्धका अपराध र युद्ध अपराधहरूको आरोप छ भने इजरायलका नेताहरूलाई नागरिकहरूमाथि जानिबुझी आक्रमण गर्ने लगायतका आरोप लाग्ने गरेको छ।

Back to top