वीरगञ्ज । नेपाल चिकित्सक सङ्घले पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले दिएको विवादास्पद अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई जिम्मेवारीबाट मुक्त गर्न र कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
सङ्घले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाउँदै सिडिओ अर्यालको अभिव्यक्तिले कानुन पालना गर्ने जिम्मेवार पदाधिकारीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ । सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्की र महासचिव डा. सञ्जीव तिवारीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा सिडिओ अर्यालको भनाइ अनुचित, उत्तेजना फैलाउने र स्वास्थ्यकर्मी तथा संस्थामाथि आक्रमणलाई प्रोत्साहन गर्न सक्ने दाबी गरिएको छ ।
कार्तिक ३० गते वीरगञ्जमा आयोजित उपभोक्ता हित संरक्षण मञ्च नेपालको वार्षिकोत्सव कार्यक्रममा सिडिओ अर्यालले बुटवलको आम्दा अस्पतालमा झन्डै १० महिना पहिले भएको घटनाको प्रसङ्ग उल्लेख गर्दै, आफू बिरामीको पक्षमा भएको भए अस्पतालमा तोडफोड मात्र नगरी आगो लगाई दिनेसम्मको टिप्पणी गरेको एउटा भिडियो सार्वजनिक भएको छ ।
सङ्घले उक्त टिप्पणी राष्ट्रसेवकको भूमिकासँग बाझिएको र कानुन पालनामा बाधा पुर्याउने उल्लेख गरेको छ । सङ्घको दाबी छ, “यस्ता प्रशासकका अभिव्यक्तिले स्वास्थ्यकर्मीको मनोबल गिराउने मात्र होइन, स्वास्थ्य सेवा क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्छ ।”
नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष तथा मधेस प्रदेश संयोजक डा. नीरज कुमार सिंहले सिडिओ अर्यालको अभिव्यक्तिप्रति कडा विरोध जनाउँदै यस्तो प्रवृत्तिले स्वास्थ्य सेवा क्षेत्रमा गम्भीर असर पुर्याउने बताएका छन् । उनले भने, “रक्षक नै भक्षकको भूमिकामा देखिएपछि चिकित्सकहरू निर्धक्क भएर सेवा दिन सक्दैनन् । यस्तो प्रवृत्ति तत्काल रोक्न आवश्यक छ ।”
सङ्घले स्वास्थ्य संस्थामाथिको आक्रमण र हिंसाका घटनाहरू बढ्न सक्ने चेतावनी दिँदै, स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुनको प्रभावकारी कार्यान्वयनको माग गरेको छ ।
सिडिओ अर्यालको प्रतिक्रिया
यस विषयमा सिडिओ अर्यालले भने आफ्नो भनाइलाई हेरफेर गरी गलत अर्थमा प्रस्तुत गरिएको दाबी गरेका छन् । उनले भने, “मैले आम उपभोक्ताको आक्रोशलाई बुझाउने सन्दर्भमा बोलेको कुरालाई गलत ढङ्गले व्याख्या गरिएको छ ।”
सिडिओ अर्यालले लुम्बिनी प्रदेशका चिकित्सक सङ्घका पदाधिकारीसँग यस विषयमा स्पष्टीकरण दिइसकेको जनाउँदै आफू चिकित्सकप्रति पूर्ण सम्मान राख्ने र सही ढङ्गले कार्य गर्ने स्वास्थ्यकर्मीहरूको पक्षमा सधैँ उभिने बताएका छन् ।
सङ्घको अडान
नेपाल चिकित्सक सङ्घले यदि सिडिओ अर्याललाई जिम्मेवारीमुक्त गरेर कारबाही नगरिए, सङ्घ थप सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएको छ । सङ्घले गृह मन्त्रालयसँग यस्ता घटनाले स्वास्थ्य क्षेत्रमा उत्पन्न गम्भीर चुनौतीहरूको समाधान गर्न कडा कदम चाल्न आग्रह गरेको छ ।