सन् २०२४ को ७३ औँ मिस युनिभर्स प्रतियोगिता १६ नोभेम्बर २०२४ मा मेक्सिको सिटीमा सम्पन्न भएको छ, जहाँ डेनमार्ककी भिक्टोरिया जाएर थेलभिगलाई मिस युनिभर्सको ताज पहराइएको छ। तस्बिर हेक्टर विवास/गेटी इमेजेस ।
मेक्सिको । डेनमार्ककी भिक्टोरिया जाएर थेलभिग यस वर्षको मिस युनिभर्स बनेकी छन् । हरेक वर्ष प्रतिस्पर्धा गराइने मिस युनिभर्सको ताज जित्ने उनी पहिलो डेन युवती पनि बनेकी छन् ।
यसअघि डेनमार्कबाट मिस युनिभर्सको ताज कसैले जित्न सकिरहेका थिएनन् । पेसागत रूपमा डान्सर, उद्यमीसँगै वकिलको पनि अभ्यास गरेकी २१ वर्षीय भिक्टोरियाले अरू १२० जना प्रतिस्पर्धीलाई पछाडि पार्दै मिस युनिभर्सको ताज जितेकी हुन् ।
यस वर्ष २०२४ को मिस युनिभर्सको फाइनल प्रतियोगिता शनिवार मेक्सिकोमा आयोजना गरिएको थियो । यस वर्षको मिस युनिभर्सको उत्कृष्ट पाँच प्रतिस्पर्धीमा डेनमार्ककी भिक्टोरियासहित मेक्सको, नाइजेरिया, थाइल्यान्ड र भेनेजुएलाका प्रतिस्पर्धीहरू सहभागी थिए । उत्कृष्ट १२ बाट उत्कृष्ट पाँच जनालाई अन्तिम चरणमा छनोट गरिएको थियो ।
अघिल्लो वर्ष २०२३ को मिस युनिभर्सको ताज भने निकारागुआकी श्यानिस पालासिओले जितेकी थिइन् । उनैले यस पटकी विजेता भिकेटोरियालाई ताज लगाइदिएकी हुन् । भिक्टोरिया ७३औँ मिस युनिभर्स हुन् ।यस पटक भने दक्षिण कोरियाकी ७० वर्ष नाघेकी महिलालाई पनि प्रतिस्पर्धी बनाइएको थियो । जुन मिस युनिभर्सको इतिहासकै पहिलो अभ्यास हो ।