वीरगञ्ज । तराई-मधेससँगै नेपालकै हिन्दु धर्मावलम्बीहरूले विशेष श्रद्धा र आस्थासाथ मनाउने लोक आस्था र प्रकृति पूजनको महापर्व छठ शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइएको पर्व आज उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सम्पन्न भएको हो ।
आज छठको अन्तिम दिन सप्तमी तिथिमा व्रतालुहरू प्रसाद र फलफूल सुपली र ढकनीमा सजाएर सूर्यको उदयअघि नै जलाशयमा प्रवेश गरेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए ।
कात्तिक शुक्ल पक्षको चौथो तिथिदेखि सुरु भएर चार दिनसम्म चल्ने छठ पर्वको पहिलो दिन मङ्गलवार ‘नहाय-खाय’ विधिबाट प्रारम्भ भएको थियो । पहिलो दिन व्रतालुहरूले पवित्र जलले स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गरेका थिए । त्यसको भोलिपल्ट बुधवार ‘खरना’ अर्थात् रसियाव रोटी विधिमा व्रतालुहरूले दिनभर उपवास गरी साँझमा दूध र चामलबाट बनेको खिर, केरा र मिठाइहरू छठी मातालाई अर्पण गरी प्रसादका रूपमा परिवारलाई वितरण गरेका थिए ।
हिजो षष्ठी तिथिमा बुधवारका छठ पर्वको मुख्य विधि सझिया घाटका दिनमा व्रतालुहरूले दिउँसो स्नान गरी नयाँ र चोखो वस्त्र धारण गरी नदी, पोखरी वा तलाउमा तयार पारिएको छठ घाटमा उपस्थित भई पूजा गरेका थिए । बाँसको चोयाबाट बनेको सुपली र माटोको ढकनीमा उखु, केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, नरिवल, केराउ, चामलका अछेता, र मूला राखी अस्ताउँदो सूर्यलाई अर्घ्य प्रदान गरिएको थियो ।
बुधवार साँझमा पहिलो अर्घ्य सम्पन्न भएसँगै श्रद्धालुहरूले बुधवार राति गरिने कोसी पूजा पनि गरेका थिए । परम्पराअनुसार छठी मातालाई अर्घ्य दिइसकेपछि घरको आँगन, छत, वा नदी किनारमा चारदेखि २१ वटा उखुले मण्डप बनाई, रातो कपडामा ठेकुवा, फलफूल र अरू पूजाको सामग्री राखेर माटोको हात्ती र कलश सहित व्रतालुहरूले कोसी पूजा गरेका थिए । त्यसपछि मध्यरातमा परिवारका पुरुष सदस्यहरूले कोसीमा पूजा गरिएको उखु र पूजन सामाग्री एवम् प्रसाद लिएर छठ घाट बनाइएको जलाशय नजिकै आँगनमा गरिएको विधि जस्तै उखुले मण्डप बनाई दियो र धूप बाली पूजापाठ गरेका थिए । कोसी पूजा पश्चात् भक्तहरूले कोसी (माटोको कलश र हात्ती आकृतिको मूर्ति) जलाशयमै डुबाएर (विसर्जन गरेर) उखु र अन्य प्रसाद लिई उनीहरू घर फर्किएपछि छठको निराहार निर्जल व्रत लिएका व्रतालुहरू रातिको तेस्रो प्रहरमै फेरि नुहाइ धुवाइ गरी चोखो भई पूजन सामाग्री र प्रसाद लिएर सूर्य नउदाउँदै छठ घाटमा पुगेका थिए ।
घाट पुगेका व्रतालुहरू सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरूले श्रीमान्, श्रीमती, छोराछोरी र परिवारका सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको लागि छठी मातासँग अनुनय विनय गर्दै बिहान सूर्य उदाउनु भन्दा पहिले नै सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद, फलफूल लिएर छठ घाटको जलाशयमा प्रवेश गरेर उदाउने क्रममा रहेको सूर्य र छठ मातालाई अर्घ्य अर्पण गरेका थिए ।
सूर्यलाई अर्घ दिए पछि छठ घाटमै व्रतालु महिलाहरूले एक अर्काको नाकको टुप्पादेखि सिउँदोसम्ममा सिन्दूर पनि लगाइ दिए । त्यसपछि उनीहरू आ–आफ्नो घर फर्किए । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन भएको छ ।
छठ पर्वको धार्मिक र सांस्कृतिक महत्त्व
छठ पर्व सूर्य देवता, पृथ्वी, जलाशय, प्रकृति र छठी माताको उपासनासँग गहिरो सम्बन्ध राख्छ । सूर्य देवताका रूपमा प्रकृतिको स्तुति गर्दै यस पर्वले प्राकृतिक सम्पदाप्रति मानव समाजको आस्था र श्रद्धालाई उजागर गर्छ । सूर्यलाई साक्षात् देवताको रूपमा मानी यसको उपासना गर्दा मानसिक र आत्मिक शुद्धताको अनुभूति गरिन्छ । परिवारका सबै सदस्यहरूले सामूहिक रूपमा सहभागिता जनाउने यो पर्वले समाजमा एकता, सहयोग र सहकार्यको सन्देश दिन्छ ।
छठको परम्परा अनुसार व्रतालुहरू पूर्ण रूपमा निराहार र शुद्ध रहन्छन् । यो विधिलाई शारीरिक र मानसिक धैर्यताको एक कठिन परीक्षा मानिन्छ । कठिन अनुशासन र कठोर व्रतले यस पर्वलाई धार्मिक मात्र नभई सामाजिक दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण बनाएको छ । यस पर्वमा अर्पित सामग्रीलाई अन्य सदस्यहरूसँग बाँडेर सामाजिक सहिष्णुताको भावना बलियो बनाउने परम्परा रहिआएको छ ।
छठ पर्वको ऐतिहासिक पृष्ठभूमि र उत्पत्ति
छठ पर्वको इतिहास र उत्पत्ति धेरै पुराना मान्यता र ग्रन्थहरूमा पाइन्छ । महाभारतमा उल्लेख भएअनुसार पाँच पाण्डवहरूको अज्ञात वासको समयमा द्रौपदीले सूर्य देवताको उपासना गरेर यो व्रत सुरु गरेको मानिन्छ । त्यति बेला पाण्डवहरूको गुप्त वास सफल होस् भनेर सूर्यको आराधना गरिएको थियो । त्यस्तै, पौराणिक ग्रन्थहरूमा अत्री मुनिकी पत्नी अनुसूयाले अटल सौभाग्यको कामनासहित सूर्यको उपासना गरेको उल्लेख छ । यसै कारणले पनि छठ पर्वलाई श्रद्धा, सौभाग्य र समृद्धिको प्रतीक मानिन्छ ।
सूर्य पुराण र साम्ब पुराणमा पनि सूर्यको उपासनासम्बन्धी चर्चा पाइन्छ । कृष्ण पुत्र साम्बले कुष्ठ रोगबाट मुक्ति पाउन सूर्यको आराधना गरेको उल्लेख छ । यस मान्यताका आधारमा सूर्य उपासनाले शारीरिक र मानसिक रोगबाट छुटकारा मिल्ने विश्वास रहेको छ ।
वीरगञ्जमा छठ पर्वको उल्लासमय वातावरण
वीरगञ्जको घडिअर्वा पोखरी, रानीघाट, नगवा र अन्य छठ घाटहरू विशेष रूपमा सजाइएको थियो, जहाँ व्रतालुहरूले शान्तिपूर्ण रूपमा पूजा गर्न सकुन् भनी व्यवस्थापन मिलाइएको थियो । प्रशासन र स्थानीय स्वयंसेवकहरूले सुरक्षाका लागि विशेष व्यवस्था गरेका थिए, जसले गर्दा भक्तजनहरूले सहज वातावरणमा अर्घ्य दिन सके ।
छठको राष्ट्रिय स्वरूप
छठ मूलतः मधेस क्षेत्रको पर्व भए पनि विक्रम संवत् २०४६ देखि यो पर्वले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । अहिले यो पर्व मधेसका साथ-साथै नेपालका विभिन्न स्थानमा समेत हर्षोल्लासका साथ मनाइन्छ । सरकारले पनि छठ पर्वको महत्त्वलाई मान्यता दिँदै यस अवसरमा सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ ।
छठ पर्वको विधि सम्पन्न भएसँगै आजका व्रतालुहरू घर फर्केर छठी माताको प्रसादलाई परिवारका सदस्यहरूसँग बाँड्नेछन् । यो प्रसादलाई अति पवित्र मानिन्छ, जसले परिवारको रक्षा, सुस्वास्थ्य र समृद्धिका लागि आशीर्वाद प्रदान गर्ने विश्वास रहिआएको छ ।
छठ पर्वले धार्मिक, सांस्कृतिक, सामाजिक र आध्यात्मिक एकताको सन्देश दिनुका साथै तराई-मधेसको मौलिक पहिचानलाई सिँगार्दै समाजमा सहिष्णुता, शान्ति र सद्भाव फैलाउने काम गरेको छ ।