×

तस्बिर : श्याम सर्राफ ।

वीरगञ्ज । भक्ति र लोक आस्थाको चाड छठ पर्वमा बुधवार बेलुकी र मध्यरातमा छठका व्रतालु र भक्तजनले कोसी पूजा गरेका छन् ।

सझिया घाटका दिन साँझ सूर्य भगवान् र छठ मातालाई अर्घ्य दिएर व्रतालुहरू घाटबाट घर फर्किएपछि बेलुकी घरमा र मध्यरात अर्थात् तेस्रो प्रहरमा छठ घाटमा पुगेर कोसी भर्ने चलन छ । छठी मातासँग मागिएको मनोकामना पूरा भएका व्रतालुहरूले कोसी पूजा गर्ने गरेका छन् ।

कात्तिक शुक्ल पक्षको चौथो तिथिदेखि सुरु भएर चार दिनसम्म चल्ने छठ पर्वको पहिलो दिन मङ्गलवार ‘नहाय-खाय’ विधिबाट प्रारम्भ भएको थियो । पहिलो दिन व्रतालुहरूले पवित्र जलले स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गरेका थिए । त्यसको भोलिपल्ट बुधवार ‘खरना’ अर्थात् रसियाव रोटी विधिमा व्रतालुहरूले दिनभर उपवास गरी साँझमा दूध र चामलबाट बनेको खिर, केरा र मिठाइहरू छठी मातालाई अर्पण गरी प्रसादका रूपमा परिवारलाई वितरण गरेका थिए ।

हिजो षष्ठी तिथिमा बुधवारका दिन छठ पर्वको मुख्य विधि सझिया घाटका दिनमा व्रतालुहरूले दिउँसो स्नान गरी नयाँ र चोखो वस्त्र धारण गरी नदी, पोखरी वा तलाउमा तयार पारिएको छठ घाटमा उपस्थित भई पूजा गरेका थिए । बाँसको चोयाबाट बनेको सुपली र माटोको ढकनीमा उखु, केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, नरिवल, केराउ, चामलका अछेता, र मूला राखी अस्ताउँदो सूर्यलाई अर्घ्य प्रदान गरिएको थियो ।

साँझमा पहिलो अर्घ्य सम्पन्न भएसँगै श्रद्धालुहरूले बुधवार राति गरिने कोसी पूजा गरेका छन् । परम्पराअनुसार छठी मातालाई अर्घ्य दिइसकेपछि घरको आँगन, छत, वा नदी किनारमा चारदेखि २१ वटा उखुले मण्डप बनाई, रातो कपडामा ठेकुवा, फलफूल र अरू पूजाको सामग्री राखेर माटोको हात्ती र कलश सहित व्रतालुहरूले कोसी पूजा गरेका थिए । 

अब आज सप्तमी तिथि अर्थात् छठ पर्वको अन्तिम दिन मध्यरातमा परिवारका पुरुष सदस्यहरूले कोसीमा पूजा गरिएको उखु र पूजन सामाग्री एवम् प्रसाद लिएर छठ घाट बनाइएको जलाशय छेउमा लिएर जान्छन् । त्यहाँ पनि पुरुषहरूले आँगनमा गरिएको विधि जस्तै उखुले मण्डप बनाई दियो र धूप बाली पूजापाठ गर्नेछन् ।

त्यसपछि कोसी (माटोको कलश र हात्ती आकृतिको मूर्ति) जलाशयमै डुबाएर उखु र अन्य प्रसाद लिई उनीहरू घर फर्किएपछि छठको निराहार निर्जल व्रत लिएका व्रतालुहरू रातिको तेस्रो प्रहरमै फेरि नुहाइ धुवाइ गरी चोखो भई पूजन सामाग्री र प्रसाद लिएर सूर्य नउदाउँदै छठ घाटमा पुग्ने छन् ।

सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरूले श्रीमान्, श्रीमती, छोराछोरी र परिवारका सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको लागि छठी मातासँग अनुनय विनय गर्ने छन् ।

सप्तमी तिथिका दिन बिहान सूर्य उदाउनु भन्दा पहिले नै व्रतालुहरू सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद, फलफूल लिएर छठ घाटको जलाशयमा पस्छन् र सूर्य उदाउने क्रममा उनीहरूले सूर्य र छठ मातालाई अर्घ्य दिन्छन् ।

सूर्यलाई अर्घ दिए पछि छठ घाटमै व्रतालु महिलाहरूले एक अर्काको नाकको टुप्पादेखि सिउँदोसम्ममा सिन्दूर लगाइ दिन्छन् । त्यसपछि उनीहरू आ–आफ्नो घर फर्किन्छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ । त्यस दिनलाई ‘परना’ वा ‘पारन’ भन्ने चलन छ ।

Back to top