×

वीरगञ्ज । आस्थाको महापर्व छठको मुख्य दिन सझिया घाटमा बिहीबार वीरगञ्जको विभिन्न घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । सझिया घाटमा भेला भएका हजारौँ श्रद्धालुहरूले सूर्य देवलाई अर्घ्य अर्पण गर्दै छठ मातालाई प्रसन्न पार्न गहिरो भक्ति प्रदर्शन गरेका छन् ।

सझिया घाटको अर्घ्य दिएर घर फर्किएर छठी मातासँग मागिएको मनोकामना पूरा भएका व्रतालुहरूले आज राति परम्परागत कोसी पूजा पनि सम्पन्न गरेका छन् । अब भोलि बिहान छठ पर्वको अन्तिम दिन पारन अथवा ‘भोरिया घाट’ सबेरै व्रतालुहरू पवित्र जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन गर्नेछन् ।

कात्तिक शुक्ल पक्षको चौथो तिथिदेखि सुरु भएर चार दिनसम्म चल्ने छठ पर्वको पहिलो दिन मङ्गलवार ‘नहाय-खाय’ विधिबाट प्रारम्भ भएको थियो । पहिलो दिन व्रतालुहरूले पवित्र जलले स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गरेका थिए । त्यसको भोलिपल्ट बुधवार ‘खरना’ अर्थात् रसियाव रोटी विधिमा व्रतालुहरूले दिनभर उपवास गरी साँझमा दूध र चामलबाट बनेको खिर, केरा र मिठाइहरू छठी मातालाई अर्पण गरी प्रसादका रूपमा परिवारलाई वितरण गरेका थिए ।

आजको षष्ठी तिथिमा बुधवारका दिन छठ पर्वको मुख्य विधि सम्पन्न भएको छ । स्थानीय भाषामा सझिया घाटे भनिने यस दिनमा, व्रतालुहरूले दिउँसो स्नान गरी नयाँ र चोखो वस्त्र धारण गरी नदी, पोखरी वा तलाउमा तयार पारिएको छठ घाटमा उपस्थित भई पूजा गरेका थिए । बाँसको चोयाबाट बनेको सुपली र माटोको ढकनीमा उखु, केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, नरिवल, केराउ, चामलका अछेता, र मूला राखी अस्ताउँदो सूर्यलाई अर्घ्य प्रदान गरिएको थियो ।

साँझमा पहिलो अर्घ्य सम्पन्न भएसँगै श्रद्धालुहरूले कोसी पूजा पनि गरेका छन् । माटोको हात्तीमा सिन्दूर लगाई कलशमा मौसमी फल, ठेकुवा, अदुवा, र अन्य सामग्री राखेर कोसीमा दीप बालेर कोसी पूजा गरिएको हो । यही प्रक्रिया अब भोली बिहान भोरिया घाट अर्थात् पारनको दिन नदी घाटमा पुनः दोहोर्‍याइन्छ । यस क्रममा महिलाहरू गीत गाउँदै मन्नत पूरा भएको खुसी र आभार व्यक्त गर्छन् । कोसी पूजा समाप्त भएपछि माटोको हात्तीलाई लगेर नदी र जलाशयमा विसर्जन गरेपछि कोसी पूजा सम्पन्न हुन्छ ।

अब छठ पर्वको चौथो दिन अर्थात् शुक्रवार बिहान ‘पारन’ का दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइनेछ । वीरगञ्जको भोरिया घाटमा व्रतालुहरू पवित्र जलाशयमा स्नान गरेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन गर्नेछन् । यो अन्तिम अर्घ्यपछि श्रद्धालुहरूले प्रसाद ग्रहण गरेर आफ्नो व्रत समाप्त गर्छन् । यस दिनलाई मन्नत पूरा भएकोमा आभार व्यक्त गर्ने दिनको रूपमा विशेष मानिन्छ ।

Back to top