×

वीरगञ्ज । आस्थाको महापर्व छठका अवसरमा बिहीबार वीरगञ्जको सझिया घाटमा पहिलो अर्घ्य सम्पन्न भएसँगै श्रद्धालुहरूले कोसी पूजाको तयारी सुरु गरेका छन् । छठी मातासँग मागिएको मनोकामना पूरा भएका व्रतालुहरूले आज राति परम्परागत कोसी पूजा गर्ने तयारी गरेका हुन् । छठ मनाउने घर-घरमा कोसी पूजा गर्ने चलन रहेको छ, जसका लागि परिवारले पहिले नै आवश्यक सामग्री जुटाइसकेका छन् ।

कात्तिक शुक्ल पक्षको चौथो तिथिदेखि सुरु भएर चार दिनसम्म चल्ने छठ पर्वको पहिलो दिन मङ्गलवार ‘नहाय-खाय’ विधिबाट प्रारम्भ भएको थियो । पहिलो दिन व्रतालुहरूले पवित्र जलले स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गरेका थिए । त्यसको भोलिपल्ट बुधवार ‘खरना’ अर्थात् रसियाव रोटी विधिमा व्रतालुहरूले दिनभर उपवास गरी साँझमा दूध र चामलबाट बनेको खिर, केरा र मिठाइहरू छठी मातालाई अर्पण गरी प्रसादका रूपमा परिवारलाई वितरण गरेका थिए ।

आजको षष्ठी तिथिमा बुधवारका दिन छठ पर्वको मुख्य विधि सम्पन्न भएको छ । स्थानीय भाषामा सझिया घाटे भनिने यस दिनमा, व्रतालुहरूले दिउँसो स्नान गरी नयाँ र चोखो वस्त्र धारण गरी नदी, पोखरी वा तलाउमा तयार पारिएको छठ घाटमा उपस्थित भई पूजा गरेका थिए । बाँसको चोयाबाट बनेको सुपली र माटोको ढकनीमा उखु, केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, नरिवल, केराउ, चामलका अछेता, र मूला राखी अस्ताउँदो सूर्यलाई अर्घ्य प्रदान गरिएको थियो ।

साँझमा पहिलो अर्घ्य सम्पन्न भएसँगै श्रद्धालुहरूले आज राति गरिने कोसी पूजाको तयारी गरिरहेका छन् । परम्पराअनुसार छठी मातालाई अर्घ्य दिइसकेपछि घरको आँगन, छत, वा नदी किनारमा चारदेखि २१ वटा उखुले मण्डप बनाई, रातो कपडामा ठेकुवा, फलफूल र अरू पूजाको सामग्री राखेर माटोको हात्ती र कलश सहित कोसी पूजा गरिन्छ । यसलाई विशेष रूपमा जोडीमा गर्न शुभ मानिन्छ र यसले भगवान् सूर्यप्रति कृतज्ञता प्रकट गर्ने मान्यता रहेको छ ।

भारत र नेपालका छठ पर्व मनाउने विभिन्न स्थानहरूमा, विशेष गरी तराई–मधेसमा, कोसी पूजा गर्ने परिवारले रातभर जाग्राम बस्ने परम्परा पनि निभाउँछन् । घरका महिलाहरू कोसी अगाडि बसेर गीत गाउने गर्छन्, भने पुरुषहरूले पूजा सम्पन्न गर्छन् । यसलाई ‘कोसी सेवा’ भनिन्छ ।

कोसी पूजा गर्ने विशेष विधि र नियमहरू छन्, जसलाई सावधानीपूर्वक पालना गरिन्छ । माटोको हात्तीमा सिन्दूर लगाई कलशमा मौसमी फल, ठेकुवा, अदुवा, र अन्य सामग्री राखेर कोसीमा दीप बालिन्छ । यही प्रक्रिया अर्को बिहान भोरिया घाट अर्थात् पारनको दिन नदी घाटमा पुनः दोहोर्‍याइन्छ । यस क्रममा महिलाहरू गीत गाउँदै मन्नत पूरा भएको खुसी र आभार व्यक्त गर्छन् । कोसी पूजा समाप्त भएपछि माटोको हात्तीलाई लगेर नदी र जलाशयमा विसर्जन गरेपछि कोसी पूजा सम्पन्न हुन्छ ।

अब भोलि बिहान छठ पर्वको अन्तिम दिन पारन अथवा ‘भोरिया घाट’ सम्पन्न हुनेछ । भोलि बिहान सबेरै व्रतालुहरू पवित्र जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन गर्नेछन् ।

Back to top