वीरगञ्ज । तराई-मधेसको प्रमुख पर्व छठ आज वीरगञ्जलगायत देशभर विशेष उल्लासका साथ मनाइँदै छ । छठ पर्वको तेस्रो दिन अर्थात् ‘सझिया घाट’ का अवसरमा व्रतालुहरू साँझ अस्ताउँदो सूर्यलाई अरघ (अर्घ्य) अर्पण गर्न नदी, पोखरी र विभिन्न छठ घाटहरूमा पुगेका छन् ।
छठ पर्वको परम्पराअनुसार, व्रतालुहरू आज आफ्नो परिवारका सदस्यहरूसँग ‘दउरा’ मा अर्घ्यका सामग्री (उखु, काँचो केरा, ठेकुवा, बोडी, अदुवा, स्याउ, मूला, भिजाएको केराउ र चामलको अछेता लगायतका फलफूल र प्रसाद) लिएर घाटसम्म पुगेका छन् ।
छठ व्रतालुहरूलाई स्वागत गर्नका निमित्त वीरगञ्जका मुख्य छठ घाटहरू; घडिअर्वा पोखरी, रानीघाटको सरिसवा घाट, नगवा, राधेमाई, मुर्लीलगायतका क्षेत्रमा विशेष सजावट गरिएको छ । घाटहरूमा झिलिमिली बत्ती लगाइएको छ ।
साँझ पर्नु अघि नै व्रतालुहरू नुहाइ धुवाइ गरेर नयाँ, पवित्र लुगा लगाई छठी माताको आराधनाका लागि घाटमा पुगेका हुन् । अस्ताउँदै गरेका सूर्यलाई अर्घ्य दिएपछि उनीहरूले बाँसको चोयाबाट बनेको ‘सुपली’ र माटोको ‘ढकनी’मा भएका पूजा सामग्रीहरू ‘सिरसोता’को अगाडि राख्छन् । सिरसोता, छठ पर्वको महत्त्वपूर्ण पाटो हो, जुन व्रतालुहरूको पूजा सामाग्रीलाई विशिष्ट स्थानमा सुरक्षित रूपमा अर्पण गर्न बनाइएको हुन्छ ।
आजको दिनलाई ‘सझिया घाट’ भनेर पनि चिनिन्छ, र यस अवसरमा सिरसोताको छेउमा बसेर स्थानीय व्रतालु महिला र पुरुषहरूले छठी माताका परम्परागत गीतहरू गाउँदै आफ्नो मनोकामना र धन्यवाद प्रकट गर्छन् । सिरसोता, छठ पूजाको आधिकारिक स्थल मानिन्छ ।
विशेष भाकल गरेका केही व्रतालु र भक्तहरूले आज अद्वितीय विधि ‘दण्ड प्रणाम’ मार्फत पनि घाटसम्म पुग्ने गर्छन् । दण्ड प्रणाम विधिमा व्रतालुहरू घरदेखि नदी या पोखरीको किनारसम्म आफ्नो शरीरलाई भूमि स्पर्श गर्दै (घस्रिँदै) अगाडि बढ्छन् । प्रत्येक कदममा उनीहरू हात जोडेर पृथ्वीमा प्रणाम गर्छन् र यस प्रकार, पूर्ण श्रद्धा र भक्ति भावका साथ घाटमा पुग्छन् । घाट पुगेर सूर्य देवता र छठी माताको पूजा गर्दै स्नान गरी व्रत पूरा गर्छन् ।
श्रद्धा, संयम, र कृतज्ञताको भावनासहित सूर्यास्तको समयमा व्रतालुहरूले सूर्यलाई अर्घ्य अर्पण गरेपछि, पारम्परिक छठी माताका गीत गाएर घर फर्कनेछन्, र त्यसपछि ‘कोसी पूजा’ को तयारमा जुट्ने छन् ।
सझिया घाटपछि भक्तजनले कोसी पूजा गर्ने छन् । कोसी पूजामा परम्परागत सामग्रीसँगै चारदेखि २१ वटासम्म उखुको मण्डप बनाइन्छ र माटोको हात्ती, कलश राखेर पूजा गरिन्छ । परिवारका सबै सदस्यहरूले सहभागिता जनाउने पूजाले मनोकामना पूरा भएको खण्डमा छठी माताको सम्मान र आभार प्रकट गरिन्छ । पूजा घर आँगन, छत, वा नदी किनारमा पनि गरिन्छ, र यसमा महिलाहरू गीत गाउँछन् भने पुरुषहरूले पूजा सम्पन्न गर्छन् ।
सझिया घाटको विधि सम्पन्न भएपछि भोलि बिहान छठ पर्वको अन्तिम दिन पारन अथवा ‘भोरिया घाट’ सम्पन्न हुनेछ । भोलि बिहान सबेरै व्रतालुहरू पवित्र जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन गर्नेछन् ।
श्रद्धा, संयम र कृतज्ञताको सन्देश दिने यो पर्वले सम्पूर्ण समाजलाई एकताबद्ध गर्ने प्रेरणा प्रदान गर्दछ । छठ पर्वले पवित्रता, सद्भाव, र प्रकृति प्रतिको आस्थालाई उजागर गराउँछ, जसमा परिवार र समुदायको एकजुटता महत्त्वपूर्ण भूमिका खेल्छ ।