वीरगञ्ज । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा रहेको छठ पर्व आज बिहीबार सूर्य भगवान् र छठी माताको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइँदै छ ।
कात्तिक महिनाको शुक्ल पक्षको चौथो तिथिदेखि सुरु हुने छठ पर्व मुख्य रूपमा चार दिनसम्म चल्छ । पर्वको पहिलो दिन मङ्गलवार व्रतालुहरूले नहाय-खाय विधि सम्पन्न गरेका थिए । यस विधिमा व्रतालुहरूले बिहानै नुहाएर चोखो भई शुद्ध शाकाहारी भोजन ग्रहण गरेका थिए । यस दिन प्याज र लसुन नमिलाउने परम्परा र उपास्य देवतालाई ध्यानमा राखेर आहार चयन गरिन्छ । यस दिनको प्रमुख उद्देश्य शारीरिक र मानसिक शुद्धता प्रकट गर्नु हो ।
दोस्रो दिनलाई खरना अर्थात् स्थानीय भोजपुरी भाषाअनुसार रसियाव रोटी विधि भनिन्छ । बुधवार खरनाका दिन व्रतालुहरूले दिनभरि उपवास गरेपछि साँझ दूध र चामलसँग बनेको खिर (रसियाव) सहित मिठाइहरू, केरा र फलफूलका अन्य सामग्रीसँग पूजाका लागि सजाएर छठी मातालाई अर्पण गरेर र परम्परा अनुसार घरका सबै सदस्यलाई प्रसादका रूपमा वितरण गरेका थिए । यस विधिको उद्देश्य समृद्धि र सुख प्राप्तिको निम्ति छठी मातालाई सम्मान र आशीर्वाद प्राप्त गर्ने हो ।
छठको मुख्य दिन ‘सझिया घाट’
खरनाको भोलि पल्ट अर्थात् आज बिहीबार परेको षष्ठी तिथिको दिन छठ पर्वको मुख्य दिन हो । यस दिनलाई स्थानीय भोजपुरी भाषामा सझिया घाटे भनिन्छ । व्रतालुहरू आज दिउँसोको समयमा नुहाइ धुवाइ गरी नयाँ चोखो वस्त्र पहिरेर छठ पूजाका लागि नदी, पोखरी, तलैया इत्यादि जलाशयमा तयार पारिएको छठ घाटमा जान्छन् । घर-परिवारका सबै सदस्य पनि नुहाइ धुवाइ गरी चोखो भई नयाँ लुगा लगाएर छठको लागि तयार पारिएको अरघ (अर्घ्य)हरू ‘दउरा’ मा लिएर घाटसम्म पुग्छन् ।
घाट पुगेर व्रतालुहरूले जलाशयमा पसी अस्ताउँदै गरेका सूर्य भगवान्लाई बाँसको चोयाबाट बनाइएको ‘सुपली’ र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अछेता, पातसहितको मूला लगायतका फलफूल र प्रसाद राखेर अर्घ्य दिन्छन् । त्यसपछि व्रतालुहरूले चोखो माटोले बनाइएको पूजा स्थल ‘सिरसोता’ छेउमा बसेर छठी माता र सूर्य भगवान्सँग जोडिएका पारम्परिक गीत गाउँछन् । सूर्य अस्त भएपछि व्रतालुहरू छठी माताको पारम्परिक गीत गाउँदै आ-आफ्नो घर फर्किन्छन् ।
कोसी पूजा
घाटबाट आफ्नो घर फर्किएपछि कोसी पूजा गर्ने प्रचलन पनि रहेको छ । छठी मातासँग मागिएको मनोकामना पूरा भएका व्रतालुहरूले कोसी पूजन गर्ने गर्छन् । वीरगञ्जको प्रायः हरेक घाटमा कोसी पूजा गर्ने दृश्य देख्न सकिन्छ । यसका लागि पहिले नै परिवारले तयारी गर्दछ । यसमा प्रयोग गरिने सामग्री पनि फरक हुन्छ । पहिलो अर्घ्यको दिनदेखि यसको सुरुआत हुन्छ र दोस्रो अर्घ्यसँगै समाप्त हुन्छ ।
मान्यता अनुसार कुनै व्यक्तिले मागेको मनोकामना पूरा भएमा उसले कोसी पूजा गर्नुपर्छ । जोडी बनाएर कोसी पूजा गर्नु शुभ मानिन्छ । सूर्य षष्ठीको साँझ छठी मातालाई अर्घ्य दिएपछि घरको आँगन, छत, वा नदी किनारमा कोसी पूजा गरिन्छ । यसका लागि कम्तीमा चारदेखि २१ वटासम्म उखुको मण्डप बनाइन्छ । रातो कपडामा ठेकुवा, फल, अर्कपात, केराउ राखेर उक्त मण्डपमा बाँधिन्छ । मण्डपभित्र माटोले बनाइएको हात्ती राखेर त्यसको माथि कलश राखी पूजा गरिन्छ । कोसी पूजामा घरका महिलाहरू कोसी अगाडि बसेर गीत गाउने गर्छन् भने पुरुषहरूले कोसी पूजा गर्छन् । यसलाई ‘कोसी सेवा’ पनि भनिन्छ ।
कोसी पूजा गर्ने केही नियम र विधिहरू छन् । यो धेरै सावधानीपूर्वक गर्नुपर्ने मानिन्छ । सबैभन्दा पहिले, पूजा गर्दा माटोको हात्तीमा सिन्दूर लगाइन्छ र कलशमा मौसमी फल, ठेकुवा, अदुवा, सुथनी लगायतका सामग्री राखिन्छ । कोसीमा दियो बालिन्छ । त्यसपछि कोसीको चारैतिर अर्घ्यको सामग्री राखिएको सूप, डगरा, डालो र माटोको ढक्कनमा तामाको भाँडो राखेर दियो बालिन्छ । यस क्रममा धूप हालेर हवन गरिन्छ र छठी माताको पूजा गरिन्छ । यही प्रक्रिया अर्को बिहान नदी घाटमा पुनः दोहोर्याइन्छ । यस क्रममा महिलाहरू गीत गाउँदै मन्नत पूरा भएको खुसी र आभार व्यक्त गर्छन् । कोसी पूजा समाप्त भएपछि माटोको हात्तीलाई लगेर नदी र जलाशयमा विसर्जन गरेपछि कोसी पूजा सम्पन्न हुन्छ ।
परना अर्थात् भोरिया घाट
षष्ठीको भोलि पल्ट सप्तमी तिथिका दिन अर्थात् शुक्रवार बिहान झिसमिसेमै व्रतालुहरू फेरी नुहाइ धुवाइ गरी चोखो भई दउरामा पूजन सामाग्री र प्रसाद लिएर सूर्य नउदाउँदै छठ घाटमा पुग्नेछन् । सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरूले श्रीमान्, श्रीमती, सन्तान र परिवारका सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको लागि छठी मातासँग अनुनय विनय गर्नेछन् ।
सप्तमी तिथिका दिन बिहान सूर्य उदाउनु भन्दा पहिले नै व्रतालुहरू सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद, फलफूल लिएर छठ घाटको जलाशयमा पस्छन् र सूर्य उदाउने क्रममा उनीहरूले सूर्य र छठी मातालाई अर्घ्य दिनेछन् । सूर्यलाई अर्घ्य दिएपछि छठ घाटमै व्रतालु महिलाहरूले एक अर्काको नाकको टुप्पादेखि सिउँदोसम्ममा सिन्दूर लगाइ दिन्छन् । त्यसपछि उनीहरू आ–आफ्नो घर फर्किनेछन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ । यस दिनलाई भोजपुरी भाषामा परना अथवा भोरिया घाट पनि भनिन्छ ।
छठ पर्वको इतिहास
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञात वासमा रहँदा उक्त गुप्त वास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको जानकारहरू बताउँछन् ।
साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।
विक्रम संवत् २०४६ अघि तराई मधेसलगायत सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । विक्रम संवत् २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । बिचमा केही वर्ष बिदा काटिएकामा अहिले फेरि दिन थालिएको छ ।
छठ पर्वका नेपालको भोजपुरी भाषी क्षेत्रबाट सुरु भएको पर्व हो । त्यसैका लागि भोजपुरी बाहुल्य भएको वीरगञ्जको घडिअर्वा पोखरी, रानीघाट, नगवा, मुर्ली, राधेमाईलगायत पर्सा जिल्लाका अन्य स्थानीय तहमा रहेका पोखरी, ताल तलैया र नदी किनारमा सजावट गरिएको छ ।
छठ पर्वको धार्मिक र सांस्कृतिक महत्त्व
छठ पर्व मुख्य रूपले सूर्य देवता, पृथ्वी र प्रकृतिसँग जोडिएको एक अत्यन्तै कठोर उपासना हो । यस पर्वको माध्यमबाट व्रतालुहरू सत्य, अहिंसा र कृतज्ञता भावनालाई जीवनमा समेट्ने प्रयास गर्छन् । छठ पर्वले धार्मिक मात्र नभई सामाजिक दृष्टिकोणबाट पनि महत्त्व राख्छ, जहाँ परिवार र समाजको एकता र सहकार्यको महत्त्वलाई पनि प्रकट गर्दछ ।
यो पर्व विभिन्न प्रकारका कठिनाइहरूको सामना गर्ने शारीरिक र मानसिक धैर्यताको परीक्षा पनि हो । व्रतालुहरू निराहार रहनु र सूर्यको पूजा गर्नु, प्राचीन संस्कृतिका धरोहरलाई जीवित राख्ने कार्य हो ।
छठ पर्व परिवारका सबै सदस्यहरूको सहभागिता र सहयोगमा मनाइन्छ, जसले एकता र सामाजिक सञ्जाललाई बलियो बनाउँछ । व्रतालुहरू आफूले अर्पित गरेको श्रद्धा र पूजा सामग्रीलाई घरका अन्य सदस्यहरूसँग साझा गर्छन् र यसरी पारिवारिक प्रेम र सम्बन्ध अझ दृढ बनाउँछन् ।
यस पर्वले मानिसको आत्मिक उन्नतिको मात्र होइन, समग्र समाजको मानसिक शुद्धता र एकता कायम राख्ने कार्यमा पनि योगदान पुर्याउँछ ।