वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट समानुपातिक सांसद बनेकी वीरगञ्जकी बिना जयसवाल कुर्मीले छठ पर्वसम्म सिर्सिया नदीलाई रसायन मुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । नयाँ वर्ष अर्थात् चैते छठको अवसर पारेर गत वैशाख २ गते (१४ अप्रिल २०२४) मा उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटससमा लेख्दै सिर्सिया नदीलाई रसायन मुक्त बनाउने प्रतिबद्धता जाहेर गरेकी थिइन् ।
उनले लेखेकी थिइन्, ‘आउने छठ पूजासम्म सिर्सिया खोलालाई रसायन मुक्त गराउने मेरो प्रतिबद्धता जाहेर गर्दछु ।’ प्रतिबद्धतासहित प्रतिनिधिसभा सदस्य बिनाले रसायनयुक्त लेदोसहितको कालो पानीमा एक महिलाले छठको अर्घ दिइरहेको तस्बिर पनि पोस्ट गरेकी थिइन् ।
गत साउन ८ गते बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद कुर्मीले सिर्सिया नदिलाई प्रदूषण मुक्त बनाउन माग पनि गरिन् । सिर्सिया नदीमा भएको दोहन प्रति घोर भर्त्सना गर्दै उनले अतिक्रमणमुक्त बनाई रसायन मुक्त बनाउन सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
साउन ८ गते संसद्मा आवाज उठाउनुका साथै उनले विभिन्न मन्त्रीहरूलाई पनि भेटेर ज्ञापन पत्र बुझाइन् । १७ साउन २०८१ मा बिनाले खानेपानी मन्त्री प्रदीप यादवसँग भेटेर छलफल गरिन् । मन्त्री यादवसँग बिनाले सिर्सिया नदिलाई प्रदूषण मुक्त बनाउने विषयमा छलफल गरेकी थिइन् ।
सोही दिन उनले गृहमन्त्री रमेश लेखकसँग पनि भेटेर ज्ञापन पत्र बुझाउँदै सिर्सिया नदिलाई रसायनमुक्त बनाउन ध्यानाकर्षण गराइन् । यस्तै त्यही दिन उनले पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद एवम् नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियासँग पनि भेटेर छलफल गरेकी थिइन् ।
त्यही दिन सांसद कुर्मीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग भेट गरेकी थिइन् । वैशाख २ गते प्रतिबद्धता व्यक्त गरेकी कुर्मीले साउन ८ गते संसद्मा बोल्नु र साउन १७ गते एकै दिन पाँच जना मन्त्रीलाई भेट्नु बाहेक आफ्नो प्रतिबद्धता पूरा गर्न कुनै पहल नगरेको देखिन्छ ।
आजदेखि पवित्र छठ पर्व सुरु भएको छ । यस वर्ष पनि बर्तालुहरूले सिर्सिया नदीको रसायनयुक्त र प्रदूषित पानीमै अर्घ दिने भएका छन् । रसायनयुक्त प्रदूषित पानीका कारण स्वास्थ्यमा जोखिम हुन सक्नेमा पनि चिकित्सकहरू चिन्ता व्यक्त गर्छन् ।
जोस र जाँगरसहित सचेत युवा सांसद बनेपछि वीरगञ्जवासीमा आशा पलाएको थियो । तर युवा भनिए पनि पुरानै नेताको प्रवृत्तिलाई पछ्याउँदै चर्चामा आउन बोल्ने र व्यवहारमा उतार्न नसक्ने रवैयाले नागरिकमा पलाएको आशा पनि मरेको छ । वीरगञ्ज – १३ राधेमाईका आशिष गुप्ता भन्छन्, ‘जुन जोगी आएपनि कानै चिर्रेका भनेको यही हो, अब चर्चामा आउन जे पनि बोलिदिन्छन्, हामी जनता पनि उनैका स्टन्टबाजीमा विश्वास गर्छौँ ।’
सांसद कुर्मीको निजी निवास पनि वीरगञ्ज – २४ रामगढवास्थित गोकुल घाटमा नजिकै छ । जुन सिर्सिया नदीको छेउमै पर्छ । उनी दिनहुँ नदी माथि बनेको रानीघाट पुलबाटै आवतजावत गर्छिन् । यो कुरा उनले यात्रा डेलीसँगको कुराकानीमा पनि स्वीकार गरिन् । उनले भनिन्, ‘मेरो घर पनि नदिकै छेउमा छ । यो नदिलाई प्रदूषण मुक्त बनाउन म एकदम गम्भीर रूपमा लागिरहेको छु । तर म साधारण सांसदले मात्रै यो समस्या समाधान गर्न नसक्ने रहेछु ।’
आफूले पर्सा जिल्लाकै तीन जना मन्त्रीसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र गृहमन्त्रीसम्मलाई भेटेर ध्यानाकर्षण गराउँदा पनि केही हुन नसकेको उनले यात्रा डेलीसँग बताइन् । पर्सा जिल्लाकै मन्त्रीहरूसँग पनि अपेक्षित सहयोग नपाएको उनको गुनासो छ । उनले थपिन्, ‘मैले प्रतिबद्धता लिएकै दिनदेखि महानगर प्रमुखसँग पनि कुरा गरेको छु, मन्त्रीहरूसँग भेटेकी छु । स्थानीयसँग पनि छलफल गरेको छु । मलाई व्यक्तिगत रूपमा पनि बारादेखि पर्सासम्मका नदी छेउका बासिन्दाको गुनासोहरू आउँछ ।’
दशकौँदेखि प्रदूषणको चपेटामा परेको नदी एकै पटक सफा नहुने सांसद कुर्मीको भनाई छ । थोरै भए पनि कम होस् र सिर्सिया नदीको मुद्दा स्थापित होस् भन्ने हेतुले काम गरिरहेको उनले बताइन् । उनले भनिन्, ‘यो मिलीभगतको खेल भइरहेको छ, यति छिटै यो समस्या समाधान गर्न गाह्रो छ, तर मैले सकेसम्म प्रयास गरेको छु, हिम्मत हारेको छैन ।’
सिर्सिया नदी वीरगञ्जको महत्त्वपूर्ण जलस्रोत मात्र नभई धार्मिक तथा सांस्कृतिक महत्त्व राख्ने स्थल पनि हो । नदीको मुद्दामा अन्य जनप्रतिनिधिहरूको चासो पनि न्यून रहेको स्थानीयहरूको गुनासो छ । पर्सा क्षेत्र नम्बर ४ का सङ्घीय सांसद रमेश रिजालले केही समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी लिँदा पनि सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन कुनै ठोस कदम नचालेको गुनासो छ ।
यद्यपि, सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने दिशामा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले निरन्तर प्रयास गरिरहेका छन् । आफ्नो कार्यकालको प्रारम्भदेखि नै सिंहले नदी प्रदूषणको समस्यामा गम्भीर चासो राख्दै काम सुरु गरेका छन् । उनले सिर्सिया नदीलाई प्रदूषित गर्ने उद्योगहरूमा नियमित अनुगमन गरेका छन् र प्रदूषणका मापदण्ड उल्लङ्घन गर्ने उद्योगहरूलाई जरिवाना समेत गर्दै आएका छन् । सिंहको यो पहलले केही हदसम्म सिर्सिया नदीको प्रदूषण कम गर्न सहयोग पुगेको छ ।
सिर्सिया नदीको प्रदूषण समस्याको दीर्घकालीन समाधान सङ्घीय र प्रदेश सरकारको ठोस सहयोग विना सम्भव नरहेको प्रमुख सिंह बताउँछन् । सीमित अधिकारको कारणले नदीलाई पूर्ण रूपमा प्रदूषणमुक्त बनाउन कठिनाइ भइरहेको उनको भनाइ छ ।