×

भनिन्छ कि जस्तो अन्न त्यस्तै मन, अर्थात् तपाईंले जे खानुहुन्छ, त्यसले मन र आचार–विचारलाई प्रभावित गर्छ । धार्मिक ग्रन्थहरूमा राजसीक, तामसिक र सात्विक गरी तीन प्रकारका भोजनको उल्लेख पाइन्छ ।

राजसीक भोजनमा मिठा, पोषिला विभिन्न पकवान, तामसिक भोजनमा मासु र मदिरा र सात्विक भोजनमा फलफूल, तरकारी, र शाकाहारी खाना समावेश हुन्छ ।

नेपालमा पनि कुल जनसंख्याको ७.४ प्रतिशत मानिस शाकाहारी छन् । पछिल्ला केही वर्षहरूमा शाकाहारी र भेगन डाइटको चलन पनि बढेको छ । स्वास्थ्यको दृष्टिकोणले हेर्दा मांसाहारीको तुलनामा शाकाहारी भोजनका फाइदा धेरै छन् ।

शाकाहारी भोजन स्वाद, स्वास्थ्य, र पोषणले भरिपूर्ण हुन्छ । यसले तपाईंको शरीरलाई धेरै खतरनाक रोगहरूबाट टाढा राख्छ । अब जानौँ शाकाहारी भोजनका फाइदाहरू के-के छन् ?

हृदयको रोगबाट टाढा 

जो मानिसहरू शाकाहारी भोजन गर्छन्, तिनीहरूलाई हृदयसम्बन्धी रोगहरूको खतरा ७५ प्रतिशत कम हुन्छ । शाकाहारी खानाले रगतको कोलेस्ट्रोल र रगतको चिनीलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । स्वस्थ हृदय बनाउनका लागि धेरै फलफूल, तरकारी, गेडागुडी र फाइबरले प्रभावकारी काम गर्छन् ।

मिर्गौला स्वस्थ 

शाकाहारी खानाले शरीरलाई धेरै फाइबर प्रदान गर्छ । जसले मिर्गौलाको कार्य सुधार गर्न मद्दत गर्छ । वनस्पतिमा आधारित खानाले उच्च रक्तचापलाई कम गर्न सकिन्छ । यसले रगतको चिनीको स्तरलाई नियन्त्रण राख्छ, जसले मिर्गौलाको कार्यलाई सुधार गर्न मद्दत गर्छ ।

तौल घटाउन मद्दत

मांसाहारीको तुलनामा शाकाहारी खानाले मोटोपन छिटो घटाउँछ । शाकाहारी भोजनमा फाइबर र अन्य पोषक तत्त्वहरू पाइन्छन्, जसले तौल घटाउन सजिलै मद्दत गर्छन् । जबकि मांसाहारीमा स्वस्थ पोषक तत्त्वहरूसँगै बोसो पनि धेरै हुन्छ, जसले तौल बढाउँछ । स्वस्थ तौल नियन्त्रण गर्न शाकाहारी भोजन आवश्यक छ ।

भिटामिन र पोषक तत्त्वहरूको भण्डार

शाकाहारी भोजनमा धेरै पोषक तत्त्वहरू पाइन्छन् । फलफूल, तरकारी र दालहरूमा यस्ता पोषक तत्त्वहरू पाइन्छन्, जसले शरीरलाई पोषण दिन्छन् र रोगहरूबाट टाढा राख्छन् ।

शाकाहारी खानामा फाइबर, एन्टिअक्सिडेन्ट, पोटासियम, म्याग्नेसियम, फोलेट, आइरन, भिटामिन सी, ए, र ईजस्ता आवश्यक पोषक तत्त्वहरू पाइन्छन्, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछन् ।

क्यान्सरको जोखिम कम

वनस्पतिमा आधारित खानाले क्यान्सर जस्ता गम्भीर रोगहरूको जोखिम पनि कम गर्न सकिन्छ । एक अध्ययनकाअनुसार शाकाहारी खानाले पेटको क्यान्सरदेखि फोक्सोको क्यान्सरसम्मका लक्षणहरूलाई कम गर्न मद्दत गर्छ ।

Back to top