×

वीरगञ्ज । क्यानडामा त्रिकोणात्मक टी–२० सिरिज जित्ने नेपालको सपना अधुरै रहेको छ । बिहीबार राति सम्पन्न खेलमा क्यानडासँग ओमानले ५ विकेटको हार बेहोरेसँगै सिरिज जित्ने नेपालको सपना पूरा नभएको हो ।

नेपालले शृङ्खला जित्न ओमानले क्यानडालाई हराउनुपर्ने समीकरण बनेको थियो । तर, यस खेलमा ओमानले निकै खराब प्रदर्शन गर्‍यो । टस हारेर ब्याटिङको निम्तो पाएको ओमान १९.४ ओभरमा ८२ रनमै अलआउट भयो ।

उसका लागि कप्तान अकिब इलियासले ४४ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३५ रन बनाए । यस्तै, शाकिल अहमदले २४ बलमा नटआउट १८ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् ।

ओमानलाई सस्तैमा समेट्नेक्रममा क्यानडाका लागि अखिल कुमार र प्रवीन कुमारले तीन/तीन तथा हर्ष ठाकरले दुई र सादबिन जाफरले एक विकेट लिए । ओमानले दिएको ८३ रनको झिनो लक्ष्य क्यानडाले १४.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै सिरिज जित्यो ।

यस सिरिजमा क्यानडाले चारमध्ये तीनमा जित र एक खेलमा मात्र हार बेहोर्‍यो । यस्तै, दोस्रो स्थान हासिल गरेको नेपाल चारमध्ये दुईमा विजयी र दुई खेलमा पराजित भयो । नेपालले क्यानडासँग हार बेहोर्दा ओमानविरुद्धको दुवै खेलमा जित निकालेको हो ।

टी–२० सिरिजको पहिलो खेलमा क्यानडाले दिएको १ सय २४ रनको सामान्य लक्ष्य पूरा गर्न नसक्दा नेपाललाई ठूलो घाटा भयो । यस्तै, नेपालले दोस्रो खेलमा ओमानविरुद्ध ३७ रनको जित निकाल्दा तेस्रो खेलमा क्यानडासँग ५ विकेटको हार बेहोर्‍यो ।

त्यस्तै, चौथो खेलमा ओमानलाई ५६ रनले हराउँदै नेपालले सिरिजमा आफूलाई जीवित राखेको थियो । तर, गए राति सम्पन्न खेलमा ओमानविरुद्ध क्यानडा विजयी भएपछि नेपालको सिरिज जित्ने योजना चक्नाचुर भयो । नेपाले सिरिज जित्न नसके पनि व्यक्तिगत प्रदर्शनको कुरा गर्दा स्पिनर सन्दीप लामिछानेले प्रदर्शन उत्कृष्ट रह्यो । उनले चार खेलमा ४ खेलमा ५.२५ को इकोनमीमा सर्वाधिक ८ विकेट लिए । 

सन्दीप चार वटै खेलमा विकेट लिन सफल भए । उनीपछि नेपालको तर्फबाट सर्वाधिक विकेट लिने मामलामा कुशल भुर्तेल रहे । उनले चार खेलको २ इनिङ्समा ८.६८ को इकोनमीमा ५ विकेट लिए ।

यस्तै, यो सिरिजमा नेपाली कप्तान रोहितकुमार पौडेल सर्वाधिक रन बनाउने मामलामा दोस्रो स्थानमा रहे । उनले ४ खेलमा १०५.३१ को स्ट्राइक रेटमा ९९ रन बनाए । रोहितपछि अनिलकुमार साह रहेका छन् । उनले ४ खेलमा १४४.२६ को राम्रो स्ट्राइक रेटमा ९४ रन बनाए । यो त्रिकोणात्मक शृङ्खलापछि नेपालले क्यानडा इलाभेनसँग दुई एक दिवसीय म्याच खेल्ने छ । यद्यपि उक्त खेलको मिति तय हुन बाँकी छ । 

त्यसपछि नेपाली टिम अमेरिका प्रस्थान गर्नेछ । त्यहाँ नेपालले पहिले अमेरिकासँग तीन खेलको टी–२० सिरिजमा प्रतिस्पर्धा गर्नेछ । उक्त सिरिजको खेल १८, २० र २१ अक्टोबरमा हुनेछ ।

टी–२० शृङ्खलापछि नेपालले अमेरिकामै आइसिसी विश्वकप लिग–२ सिरिज खेल्ने तालिका छ, जसअन्तर्गत नेपालले २७ अक्टोबर र २ नोभेम्बरमा अमेरिका तथा २९ अक्टोबर र ४ नोभेम्बरमा स्कटल्यान्डको सामना गर्नेछ ।

जारी लिग–२ मा नेपालले अहिलेसम्म आठ म्याच खेलेको छ, जसमा नेपालले ६ मा हार एकमा अङ्क बाँड्दा एक खेलमा मात्र जित निकालेको छ । नेपाल अहिले तालिकाको सातौँ स्थानमा छ । लिग–२ मा नेपालले अब कुल २८ म्याच खेल्न बाँकी छ ।    

Back to top