×

वीरगञ्ज । आजदेखि सुरु हुने नेपालको पहिलो फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) मा सहभागि ‘मधेश युनाइटेड’ की प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुन् संज्ञा श्रेष्ठ । सिईओ श्रेष्ठकाअनुसार मधेश युनाइटेड कमजोर टिम हैन । उनी भन्छिन्, ‘नथिङ्ग इज इम्पोसिबल, असम्भव भन्ने कुरा केही पनि छैन । मधेश युनाइटेड एकदमै बलियो टिम हो । मधेश युनाइटेडकै कारण मधेशमा भलिबल प्रतिको क्रेज बढ्नेमा म ढुक्क छुु ।’

चितवन निवासी संज्ञालाई अधिकांशले गर्ने प्रश्न हो, ‘चितवनको आफ्नै टिम हुँदाहुँदै मधेशको समर्थनमा किन ?’ यही प्रश्नको जवाफमा संज्ञा भन्छिन्, ‘मलाई आफ्नो कम्फर्ट जोन भन्दा बाहिर गएर काम गर्न मजा आउँछ । चितवनमा सबै चिनेकै थिए, काम गर्दा सहज पनि हुन्थ्यो । तर पनि मैले मधेश युनाइटेडमा आवद्ध भएर काम गर्ने अठोट लिए ।’ उनले जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर पनि हुन्छ भन्ने विश्वासले नै मधेश युनाइटेडको नेतृत्व गर्ने मन बनाएकी हुन् । उनी पूर्व बक्सर खेलाडीसमेत हुन् । त्यसैले पनि उनको खेल क्षेत्रमा बडो लगाब छ ।

यसले गर्दा खेलाडीहरूको जीवनशैली र परिश्रमलाई उनी अझ राम्ररी बुझ्छिन् । फलस्वरुप मधेश युनाइटेडका सबै खेलाडीलाई व्यवस्थित तरिकाले आवास र खानपानको व्यवस्था गरिएको उनले जानकारी दिइन् । उनकाअनुसार खेलाडीको लागि अभ्यास गर्न आवश्यक पर्ने विभिन्न खेल सामग्रीसँगै आवश्यक खेल पोसाकसमेत उपलब्ध गराइएको छ ।

इडब्लुभिएल प्रतियोगितामा सहभागी सबै टिमले ३–३ जना विदेशी खेलाडी समावेश गरेका छन्, जसले प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा पु-याएको छ । मधेश युनाइटेडले भारत, कजाकिस्तान र ट्युनिसियाका खेलाडी अनुबन्ध गरेको छ । यस लिगले नेपाली खेलाडीलाई सिक्ने अवसर दिनेमा संज्ञा विश्वस्त छिन् । ‘युरोप, रसिया, अमेरिका लगायतका विभिन्न देशका खेलाडीहरू नेपाल आएपछि हाम्रो खेलाडीलाई सिक्ने अवसर हुनेछ,’ उनले थपिन्, ‘इडब्लुभिएल आयोजना नेपाली भलिबलको विकासका लागि कोशेढुङ्गा साबित हुनेछ ।’

नेपालमा अवसर पाएमा महिलाले ठूलो उपलब्धि हासिल गर्न सक्छन् भन्नेमा संज्ञा विश्वस्त छिन् । विश्वकै सर्वाेच्च शिखर चढ्ने पासाङ ल्हामु शेर्पादेखि बक्सर खेलाडी माला राईसम्मका उदाहरण दिँदै, उनले भनिन्, ‘अवसर पाएपछि महिलाले पनि गरेर देखाउन सक्छन् । उनले नयाँ पुस्ताका खेलाडीहरू पनि यस्ता लिगहरूबाट प्रेरित हुने धारणा राखिन् । ‘यस लिगले मात्र होइन, खेलकुदले नेपालको खेल क्षेत्रमा महिलाहरूको भविष्य उज्ज्वल बनाउनेछ,’ संज्ञाले थपिन् ।

नेपालमा थुप्रै क्षमता भएका महिला खेलाडीहरू छन्, तर अवसरको कमी छ । यदि उचित अवसर र स्रोतसाधन प्रदान गरियो भने, महिलाहरूले खेल क्षेत्रमा ठूलो सफलता हासिल गर्न सक्ने उनी बताउँछिन् । भलिबलजस्तै खेलकुद गतिविधिले पर्यटनमा पनि ठूलो योगदान पुग्ने उनी बताउँछिन् । ‘खेलकुदमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकिन्छ, र यसले भलिबल मात्र होइन, समग्र पर्यटन क्षेत्रलाई पनि प्रवर्द्धन गर्छ,’ उनले भनिन् ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा असोज १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन् । मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स र कर्णाली यस्विस गरी ६ फ्रेन्चाईज टिमले प्रथिस्पर्धा गर्न लागेका हुन् । ६ टिममा गरेर कुल १८ विदेशी खेलाडीले पहिलो संस्करणको एभरेष्ट महिला लिग खेल्दैछन् ।

मधेश युनाइटेडकी मार्की निरुता ठगुन्ना हुन् । जो काभा भलिबल बाट चर्चामा आएकी थिइन् । निरुताकाअनुसार लिगले सबैलाई उत्साहित बनाएको छ । उनी भन्छिन्, ‘यस्ता लिगहरू भए भने नयाँ खेलाडीहरू पनि आउँछन् । यसले भलिबलको विकासमा पनि सहयोग गर्छ ।’

मधेश युनाइटेडमा (काजकिस्तान) कालिनोभा यभजेनिया, ट्युनिसियाकी योस्रो जेरामदिनी र भारतकी जिनी कोभात रहेका छन् । यी विदेशी खेलाडीसँगै निरुता ठगुन्ना, संगम महतो, शान्ति कला तामाङ, पुजा थारु, जसना महतो, हिरा केसी, एलिसा मानन्धर, आशिका क्षेत्री र मीना चौधरी (ट्यालेन्ट हन्ट) ले मधेश युनाइटेडबाट खेल्नेछन् ।

 

Back to top