×

इजरायलले लेबनानमा हिज्बुल्लाह समूहका नेता हसन नसरल्लाहको मृत्युलाई ऐतिहासिक उपलब्धि भएको प्रतिक्रिया दिएको छ। राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नसरल्लाहको हत्यालाई ‘टर्निङ पोइन्ट’ को संज्ञा दिएका छन्। 

उनले आफ्नो देशले हिज्बुल्लाहसँग हिसाब बराबर गरेकोसमेत दाबी गरेकोे बीबीसीले जनाएको छ। नसरल्लाह अनगिन्ती इजरायली र कयौँ विदेशी नागरिकको मृत्युका लागि जिम्मेवार रहेको भन्दै नेतन्याहूले उनको मृत्यु नै ठूलो उपलब्धि रहेको दाबी गरे। साथै हिज्बुल्लाहमाथिको आक्रमण जारी रहनेसमेत इजरायलले जनाएको छ। 

यता इजरायलको आक्रमणमा हिज्बुल्लाह समूहका नेता मारिएपछि लेबनानी सेना सडकमा निस्किएको छ। सत्ताबाहिर रहेको हिज्बुल्लाह समूहका नेता मारिएपछि देशमा शिया र सुन्नी समुदायबीच द्वन्द्वको खतरा बढेको भन्दै सेना सडकमा निस्किएको हो। 

अहिले जारी आक्रमणमा लेबनानले कुनै राजनीतिक प्रतिक्रिया दिएको छैन। पछिल्लोपटक भने लेबनानी सेना हतियारसहित सडकमा परिचालित भएको र केही स्थानबाट जोर्डनतर्फको सीमा क्षेत्रमा रकेट प्रहार गरेको समाचारमा जनाइएको छ।

Back to top