×

वीरगञ्ज । नेपालले प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको रेखांकन केही ठाउँमा परिवर्तन गर्नुपर्ने र बाटोमा पर्ने प्रस्तावित निजगढ विमानस्थल र काठमाडौं–निजगढ द्रुतमार्गसँग रेलमार्ग नजुधाउन आवश्यक संरचना निर्माण गर्नुपर्ने गरी भारतीय पक्षलाई सुझाव दिएको छ । 

image

भारतीय कम्पनी भारतीय कोंकण रेलवे कर्पाेरेशन लिमिटेडले गरेको ‘फाइनल लोकेशन सर्वेक्षण’ प्रतिवेदनमाथि टिप्पणी गर्दै नेपाल सरकारले प्रस्तावित रेलमार्गको वर्तमान रेखांकनमा युरेनियमजस्ता खनिज पदार्थ देखिएकाले त्यसलाई छलेर नयाँ रेखांकन गरी फाइनल लोकेशन सर्वेक्षण तयार गर्नुपर्ने बताएको छ । फाइनल लोकेशन सर्वेक्षण एक प्रकारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) जस्तै हो, जुन भारतीय कम्पनीले गतवर्ष मेमा प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा नेपाललाई बुझाएको थियो ।

‘दु्रतमार्ग र निजगढ विमानस्थलका बिन्दुमा रेलमार्ग क्रश हुँदा केकस्ता संरचना बनाउन आवश्यक छ भन्ने कुरा पनि उक्त प्रतिवेदनमा समेट्न हामीले आग्रह गरेका छौं,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थले भने । धेरै वैदेशिक मामिलाका जानकारहरू सीमावर्ती भारतीय शहर रक्सौलसँग नेपालको राजधानी काठमाडौं जोड्ने प्रस्तावित रेलमार्गलाई भारतको रणनीतिक परियोजनाका रूपमा लिन्छन् । चीनले आफ्नो सीमावर्ती शहर केरुङसँग काठमाडौंलाई रेलमार्गले जोड्न विस्तृत सम्भाव्यता अध्ययन गरिरहँदा भारतले रक्सौल–काठमाडौं रेलवे अगाडि बढाउन खोजेको छ । 

केही ठाउँमा बाटो परिवर्तन र द्रुतमार्ग तथा निजगढ विमानस्थलसँग बाटो नजुधाउन बनाउनुपर्ने संरचना पनि समेटेर फाइनल लोकेशन सर्वेक्षण पुन: पेश गर्न भारतलाई नेपालको आग्रह ।

पन्थका अनुसार हालको अध्ययन प्रतिवेदनमा दु्रतमार्ग, विमानस्थल र खानीका विषयलाई कसरी सम्बोधन गर्ने भन्ने कुरा समावेश भएका छैनन् । काठमाडौंलाई छोटो दूरी र समयमा तराईसँग जोड्ने ७० दशमलव ९७ किलोमीटर लामो दु्रतमार्ग निर्माणाधीन अवस्थामा छ । अर्काेतर्फ सरकारले निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउने भनेर शुरुआती प्रक्रिया अघि बढाइसकेको छ । बाटोमा युरेनियमको खानी पनि पर्ने हुँदा स्वास्थ्यमा पर्ने जोखिम हटाउन त्यो ठाउँमा प्रस्तावित बाटो नै परिवर्तन गर्न नेपालले सुझाव दिएको छ । ‘मन्त्रालयले दिएका यी सुझाव पनि समेटिएर प्रतिवेदन आएपछि बल्ल फाइनल लोकेशन सर्वेक्षण पूर्ण हुनेछ,’ पन्थले भने । 

पन्थका अनुसार प्रस्तावित रेलमार्गको रेखांकन हेर्दा विभिन्न ६ ओटा बिन्दुमा बहुमूल्य खनिज पदार्थ छन् र त्यसका लागि खानी तथा भूगर्भ विभागले लाइसेन्ससमेत दिइसकेको छ । 

भारतीय कम्पनीले बुझाएको प्रतिवेदनअनुसार यो रेलमार्गमा ३१ ओटा शुरूङमार्ग बन्नेछन् । शुरूङकै कुल लम्बाइ ४० दशमलव ८६ किलोमीटर हुनेछ । छिमेकी देश भारतलाई जोड्ने प्रस्तावित रक्सौल बिन्दु र काठमाडौं जोड्ने उक्त रेलमार्ग १४० दशमलव ७९ किलोमीटर लम्बाइको हुनेछ । यो रेलमार्गमा विभिन्न स्थानमा गरेर १२ ओटा स्टेशन हुनेछन् । त्यसमा रक्सौल, वीरगञ्ज, बेलवा, मनहरवा, सपही बजार, निजगढ, मकवानपुर, दियाल, शिखरपुर, सिस्नेरी, सतिखेल र काठमाडौंमा रेल स्टेशन हुनेछन् । 

मन्त्रालयमा काेंकणले बुझाएको फाइनल लोकेशन सर्वेक्षण रिपोर्टमा यो रेलमार्ग ५ वर्षमा सम्पन्न गर्न सकिने उल्लेख छ । यो रेलमार्ग बनाउन नेपालले ३ खर्ब ८३ अर्ब रुपैयाँ लगानी जुटाउनुपर्छ । उक्त प्रतिवेदनले प्रस्तावित लगानी भारतीय रुपया २ खर्ब ३९ अर्ब ४५ करोड ३३ लाख आवश्यक हुने उल्लेख गरेको छ । लागत यो निर्माणका लागि मात्रै लाग्ने हो । यसमा जग्गा अधिग्रहण र अन्य मुआब्जालगायत खर्च जोडिएको छैन । 

२०७७ सालमै नेपाल सरकारले यो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिदिन भारत सरकारलाई आग्रह गरे पनि कोरोनाका कारण सर्वेक्षण रोकिएको थियो । काठमाडौं–रक्सौल रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने विषयमा भने नेपाल र भारत सरकारबीच २०७५ भदौमा सम्झौता भएको थियो । साभार : आर्थिक अभियानबाट

Back to top