×

वीरगञ्ज । मधेश प्रदेशमा मिटर ब्याज (अनुचित लेनदेन) सम्बन्धी २४ हजार ९९ उजुरी परेका छन् । पर्सा, बारा, रौतहट लगायत प्रदेशका आठ वटै जिल्लामा मिटर ब्याज सम्बन्धी उजुरी आएका हुन् । यसमध्ये पर्सामा मात्रै दुई हजार १५३ उजुरी दर्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा एक हजार ६५५ उजुरी दर्ता हुँदा, सोझै प्रहरी कार्यालयमा ४९८ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । उनका अनुसार, प्राप्त उजुरीमध्ये एक हजार उजुरीको मेलमिलाप भइसकेको छ ।

प्रहरी नायब उपरीक्षक भारतीले बताए अनुसार, २२२ उजुरीको जिल्ला प्रशासन कार्यालय पर्सामा मेलमिलाप भएको छ भने ७७८ उजुरीको जिल्ला प्रहरी कार्यालयमा मेलमिलाप भएको छ । पाँच वटा उजुरी मात्र मुद्दा दर्ता गरेर कानुनी प्रक्रियामा गएको छ भने एक हजार १४८ उजुरीमा मेलमिलाप हुन बाँकी रहेको छ । मिटर ब्याजकै उजुरीको आधारमा पर्सामा ६ जना पुरुष पक्राउ परेको पनि भारतीले जानकारी दिए । उनले भने, “हाम्रो जिल्लामा मुद्दा दर्ता सबैभन्दा कम भएको छ, अनि मेलमिलापको अनुपात पनि बढी छ । अब बाँकी रहेका उजुरीमा पनि मेलमिलाप गराउने गरी तीव्र गतिमा काम भइरहेको छ ।”

पर्सा प्रहरी मिटर ब्याज सम्बन्धी उजुरीलाई प्राथमिकताका साथ हेरेर काम गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल दाबी गर्छन् । उनका अनुसार, मिटर ब्याज (अनुचित लेनदेन) का उजुरी आउने संख्या पनि पहिलेको तुलनामा कम भएको छ । 

पर्सा जिल्लामा मात्रै २६ करोड ३३ लाख ८३ हजार ८३० रुपैयाँ मागदावी भएकोमा १४ करोड ५१ लाख १४ हजार ३५९ बिगो रकममा मेलमिलाप भएको छ। सबै गरेर हालसम्म १६ बिघा ८ कठ्ठा ३ धुर ७ कन्वा घर जग्गा तथा अन्य जिन्सी सामान फिर्ता गरिएको प्रहरी नायब उपरीक्षक भारतीले यात्रा डेलीलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।

मधेश प्रदेशमा सबैभन्दा कम उजुरी रौतहटमा परेका छन्। त्यहाँ दुई हजार ७८ उजुरी दर्ता भएका छन् भने ती मध्ये ५१३ उजुरीमा मेलमिलाप भइसकेको छ। २१ वटा उजुरीको मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको छ।

प्रदेशमा सबैभन्दा धेरै उजुरी सिराहामा परेका छन्। सिराहामा तीन हजार ८४२ उजुरी दर्ता भएको तथ्यांकमा उल्लेख छ। जसमध्ये ५९३ उजुरीमा मेलमिलाप भइसकेको छ भने १६ वटा मुद्दा दर्ता भएका छन्।

अन्य जिल्लाहरुमा धनुषामा तीन हजार ७६०, बारामा तीन हजार ७३३, महोत्तरीमा तीन हजार ४१३ र सप्तरीमा दुई हजार ७९४ उजुरी दर्ता भएका छन् ।

मिटर ब्याजको समस्या मधेश प्रदेशमा व्यापक रूपमा देखिएको छ । उजुरीको संख्याले समस्या कत्तिको गम्भीर छ भन्ने कुरा देखाउँछ । हालसम्म धेरै उजुरीमा मेलमिलाप भइसकेको भए पनि बाँकी रहेका उजुरीलाई प्राथमिकताका साथ मेलमिलाप गराउनु आवश्यक छ । यस किसिमका उजुरीमा प्रहरीको भूमिका महत्वपूर्ण रहन्छ, र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनु पर्ने देखिन्छ ।
 

Back to top