×

वीरगञ्ज । ‘कति अरुको होटलमा गएर बस्ने अब आफ्नै ठाउँमा खोलेर अरुलाई बोलाउनुपर्छ’ यही अठोटको उपज हो, ‘ठोरी जंगल रिसोर्ट’ । चार युवा (सुदिप थापा, धिर सिंह, विकास खत्री र सुदिप श्री पोख्रेल) कहिले पोखरा पुग्थे, कहिले मार्खु त कहिले सौराहा । फुर्सद मिल्ने बित्तिकै घुम्नका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न उनीहरुले आफ्नै गाउँमा रिसोर्र्ट खोल्ने सपना बुने । त्यही सपनाले अहिले सार्थकता पाएको छ । 

भारतको भेलाही स्टेशन नजिकै घर भएका ४८ वर्षीय रणधिर कुमार सपरिवार ठोरी जंगल रिसोर्टमा पुगेका थिए । पेशाले शिक्षक भएका उनले प्रकृतिको काखमा बसेर स्वादिष्ट खाना खाँदै परिवारसँग रमाउनुको अनुभव शब्द वर्णन गर्न नसकिने बताए । उनले भने, ‘छोराछोरीको गर्मी बिदाको अवसर पारेर घुम्नका लागि सपरिवार यहाँ आएका हौँ । स्वच्छ र सुन्दर वातावरण छ, रुखविरुवाको बीचमा बसेर स्वादिष्ट खाजा खाँदा एकदमै रमाइलो अनुभुती भएको छ, जसलाई शब्दमा वर्णन गर्न सक्दिन ।’ 

भारतबाटै रिसोर्टमा पुगेकी राधा गुप्ताको अनुभव पनि उस्तै छ । रिसोर्टको मौलिकपन र प्राकृतिक सुन्दरतामा उनी हराइरहेकी थिइन् । बुबाआमालाई घर फर्किन हतार भइसक्दासमेत कक्षा ६ मा अध्ययनरत राधालाई रिसोर्टमा बस्न पुगेकै थिएन । विद्यालयमा विदा हुने बित्तिकै रिसोर्टमा आउने उनले प्रतिक्रिया दिइन् । 

पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरका सञ्जय कुमार साह घरमा कोही पाहुना आउनेबित्तिकै ‘ठोरी जंगल रिसोर्ट’ मा पुग्छन् । ‘घरमा कोही आफन्त र पाहुना आउनुभयो भने मैले लिएर आउने र खुवाउने ठाउँ नै यही हो’, उनी थप्छन्, ‘चिसो वातावरण छ, आनन्दले बसेर रमाउँदा दुःख पिर पनि एकछिनलाई गायब हुन्छ ।’ 

सुवर्णपुरकै २८ वर्षीय नीतु गुप्तालाई ‘ठोरी जंगल रिसोर्ट’ मा पुग्दा शान्ति मिल्छ । उनी भन्छिन्, ‘मलाई यहाँ आउन असाध्यै राम्रो लाग्छ, यहाँको सजावट र सुन्दरताले मनलाई शान्ति मिल्छ । समय मिलेको बेला आइरहन्छु  र अरुलाई पनि यहीँ आउन सल्लाह दिन्छु ।’ 

करिब तीन करोडको लगानीमा पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ ईच्छानगरमा सञ्चालित ‘ठोरी जंगल रिसोर्ट’ मा दैनिक तीन सयदेखि चार सय जनासम्म आउने गरेको सञ्चालक सुदिप थापा दाबी गर्छन् । पर्सा, बारा, मकवानपुर, चितवन, काठमाण्डौदेखि भारतका विभिन्न स्थानबाट अतिथीहरु आउने गरेको थापाले बताए । भारतको मोतीहारी, बेतिया, पटनासम्मबाट रमाइलो गर्न ठोरीमा आउने गरेको उनले बताए । 

‘प्रायः ठाउँमा एकपटक पुगेपछि अर्काेपटक पुग्ने मन हुँदैन । तर हाम्रो रिसोर्टमा अतिथीहरु दोहोरिएर आउनुहुन्छ, यो हाम्रो लागि पनि महत्वपूर्ण उपलब्धी हो’, अर्का सञ्चालक धीर सिंह थप्छन्, ‘विशेष गरी हाम्रो गाउँठाउँलाई चिनाउने र धेरैभन्दा धेरै व्यक्तिहरुलाई हाम्रो ठाउँमा बोलाउने उद्देश्यले रिसोर्ट सञ्चालन गरेका हौँ । अहिले ठोरी जंगल रिसोर्टको नामबाटै हाम्रो गाउँ पनि जताततै चिनिएको छ ।’ सञ्चालक सिंहकाअनुसार मौलिकपन र प्रकृतिसँगै स्थानीय उत्पादनको प्रबद्र्धनले पाहुनाहरु आकर्षित हुन्छन् । 

रिसोर्टमा सेवाको दायरालाई बिस्तार गर्दै अतिथीको आवश्यक्ताअनुसार परिवर्तन र परिस्कृत गर्दै लैजाने सिंहको योजना छ । उनले भने, ‘हामीले दिनप्रतिदिन सुधार गर्दै र सेवा बिस्तार गर्दै लगेका छौँ । अझै पनि हाम्रो ठूलो योजना छ । त्यसअनुसार अहिले काम पनि भइरहेको छ ।’ 

रिसोर्टमा अहिले रेस्टुरेन्ट, बास बस्न टेन्टका आधा दर्जन कोठा र आकर्षक बगैँचा, स्थानीय निर्माण सामग्रीहरुकै प्रयोगबाट मौलिक डिजाइनमा बनाइएको छ । रिसोर्टमा स्वीमिङ पुल, चिल्ड्रेन पार्क, कन्फ्रेन्स हल, २५ वटा कोठा, हेलिप्याड निर्माणाधीन रहेको सिंहले बताए । स्ट्यान्डर्ड, डिलक्स, सुपर डिलक्स र भिल्ला श्रेणीका कोठाहरु उपलब्ध हुने उनले जानकारी दिए । 

तीन बिघाको रिसोर्टको कुल क्षेत्रफलमध्ये एक बिघामा रेस्टुरेन्ट, एक बिघामा अन्य सेवासुविधाका भौतिक पूर्वाधार र बाँकी एक बिघामा व्यावसायिक कृषि सञ्चालन गर्ने सञ्चालकहरुको योजना छ । पूर्णरुपमा रिसोर्ट सञ्चालन हुनेबेलासम्म करिब १२ देखि १५ करोडसम्म खर्च हुने उनीहरुको अनुमान छ । 

रिसोर्टमा अहिले छ वटा भवन अन्तिम चरणमा छन् । हिमाली र पहाडी भेगमा बन्ने परम्परागत शैलीमा भवन निर्माणको काम भइरहेको छ । रिसोर्टमा बास बस्नेलाई अर्गानिक तरकारी खुवाउन तरकारी खेती र माछापालनको समेत योजना कार्यान्वयन भइरहेको उनले बताए ।

कम्तीमा सय जना अट्ने सभाहल, २३ सय वर्गफिटको स्वीमिङ पुल पनि रिसोर्टमा बनाउने योजना छ । यी सबै पूर्वाधार अहिले निर्माण भइरहेका छन् । रेस्टुराँमा मात्र अहिले २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । जसमध्ये १८ जना ठोरीकै युवा हुन् ।

रोजगारीमा स्थानीयलाई बढी प्राथमिकता दिइएको पनि सिंहले यात्राडेलीसँगको कुराकानीमा भने । रिसोर्ट पूर्णरुपमा सञ्चालनमा आउँदा कम्तीमा ५० जनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा एक सय भन्दा बढीले रोजगारी पाउने उनको भनाई छ । रिसोर्टको रेस्टुराँमार्फत स्थानीय माछा डेरिया, पोठिया आदिलाई विशेष प्रवद्र्धन गर्दै लोकल कुखुरा, हाँस, लोकल बँदेललगायतका परिकारहरु पनि उपलब्ध छन् । 

पछिल्लो समय ठोरी जंगल रिसोर्टले जंगल सफारीको व्यवस्था पनि गरेको छ । इच्छानगरदेखि शिकारीबाससम्म र रातो पहाड, इच्छानगर, तालखोला, रानीबन, झोलुङ्गे पुल, तिनघरे लगायतका रमणीय स्थानमा घुमाउने प्याकेज पन रिसोर्टले उपलब्ध गराएको छ । एक जना व्यक्तिले २५ सय रुपैयाँमा खाना खाजा र एक रात बस्न पाउने भएकाले मूल्य पनि सस्तो र सर्वसुलभ छ । 


 

Back to top