×

वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई उथलपुथल पार्ने गरी नयाँ सत्ता गठबन्धन निर्माण भएको छ । यस गठबन्धनमा मधेस केन्द्रित सबै दलहरू सामेल हुने सम्भावना देखिएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) र सिके राउत नेतृत्वको जनमत पार्टीले नयाँ सत्ता साझेदारीमा सामेल हुने सङ्केत गरेका छन् । यादवले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति भई बनेको नयाँ गठबन्धनलाई साथ दिने घोषणा गरिसकेका छन् । यादवले परिवर्तित अवस्थामा बनेको गठबन्धनलाई समर्थन रहने बताएका छन् । यसअघि जसपा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा आबद्ध थियो ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टी पनि नयाँ गठबन्धनमा जोडिने भएको छ । जनमतका उपाध्यक्ष ई. दीपक साहले आफ्नो दलको नेतृत्वमा रहेको मधेस सरकारलाई निरन्तरता दिने बारे कुरा भइरहेको बताएका छन् । कांग्रेस–एमाले गठबन्धनमा पार्टी रहने लगभग निश्चित रहेको पनि साहले जानकारी दिए ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि कांग्रेस–एमाले गठबन्धनलाई सघाउने भएका छन् । लोसपाका महासचिव मनिष मिश्रले बदलिँदो परिस्थितिबारे पार्टीमा छलफल भइरहेको बताए । यद्यपि, कांग्रेस–एमाले गठबन्धनप्रति आफ्नो दल सकारात्मक रहेको उनको भनाई छ । 

राई नेतृत्वको जसपाले पनि कांग्रेस–एमाले गठबन्धनप्रति सकारात्मक प्रतिक्रिया दिएको छ । पार्टी महासचिव इस्तियाक राईले बदलिँदो राजनीतिक परिस्थितिबारे पार्टीमा छलफल भइरहेको जानकारी दिए ।

यस प्रकार, पहिलो पटक सबै मधेस केन्द्रीकृत दलहरू एउटै गठबन्धनमा अट्ने सम्भावना बलियो बनेको छ । कांग्रेस–एमालेबीच मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने समझदारी भइसकेको छ, जसले नयाँ गठबन्धनलाई थप सुदृढ बनाउने छ ।

नेपाली राजनीति नयाँ मोडमा प्रवेश गर्ने सम्भावना देखिएको छ, जसमा मधेस केन्द्रीकृत दलहरूको एकता महत्वपूर्ण भूमिका खेल्न सक्छ।
 

Back to top