×

वीरगञ्ज । वीरगञ्जको जि.एच.पी. माद्यामिक विद्यालयका ७८ विद्यार्थीले यस वर्षको एसईई परीक्षामा ए प्लस ग्रेड प्राप्त गरेका छन् । विद्यालयका १२१ विद्यार्थीमध्ये ७८ जना ए प्लस ग्रेडमा उतिर्ण भएका छन् भने ३८ जना विद्यार्थीले ए ग्रेड प्राप्त गरेका छन् । पाँच विद्यार्थीले बि प्लस ग्रेड प्राप्त गरेका छन् ।

विद्यालयले शत प्रतिशत नतिजा प्राप्त गरेको छ । जसमध्ये ९६ प्रतिशतले ए र ए प्लस नतिजा हासिल गरेको जि.एच.पी माविकी प्रधानाध्यापक रोमी कौरले बताइन् । उनले भनिन्, “विद्यालयको उत्कृष्ट नतिजाको श्रेय हाम्रो शिक्षक टोलीलाई जान्छ जसले गुणस्तरीय र विश्वसनीय शिक्षा प्रदान गर्दै आएका छन् ।” 

“विद्यार्थीहरुले वर्षभरि गरेको मेहनत र परिश्रमको प्रतिफल आज हामीले देख्न पाएका छौं”, प्रधानाध्यापक कौरले थपिन् । जि.एच.पी. मा.वि.ले वीरगञ्जमै सबैभन्दा धेरै विद्यार्थीले ए ग्रेड ल्याएको प्रधानाध्यापक कौरको दाबी छ । उनले भनिन्, “वीरगञ्जमा भएका विद्यालय मध्ये ए ग्रेड ल्याउने सबैभन्दा धेरै विद्यार्थी हाम्रै विद्यालयका छन् । यो हाम्रो लागी महत्वपूर्ण उपलब्धी हो । हामी हाम्रा विद्यार्थीप्रति गर्व गर्छाै ।” गुणस्तरीय शिक्षा दिने उद्देश्यलाई एसईईको नतिजाले प्रमाणित गरेको उनको भनाई छ । 

विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुको सफलता पछाडि आफ्नै योगदान रहेको बताउँदै विद्यालयको उत्कृष्ट नतिजालाई सबैले मिलेर गरेको परिश्रमको नतिजा मानेका छन्।  यस सफलताले विद्यालय परिवारलाई गर्वान्वित बनाएको कौरले बताइन् ।

विद्यालयले यस सफलतामा खुशी व्यक्त गर्दै आगामी वर्षहरुमा पनि यस्तै उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरुलाई निरन्तर परिश्रम गर्न प्रेरित गरेको उनको दाबी छ । “हामीले हाम्रा विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरुलाई उज्ज्वल भविष्य बनाउन प्रोत्साहित गर्न निरन्तर लागि पर्नेछौं”, प्रधानाध्यापक कौरले भनिन् ।

विद्यार्थीहरुको यस शानदार सफलताले विद्यालयको प्रतिष्ठा अझ माथि उकास्नेमा विद्यालय परिवार विश्वास व्यक्त गरेको छ । विद्यालयले आफ्ना विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरुलाई आगामी अध्ययन जीवनमा समेत सफलताको लागि शुभेच्छा व्यक्त गरेको छ ।


 

Back to top