×

फाईल फोटो

वीरगञ्ज । कांग्रेस र एमालेबीच सोमबार मध्यरातमा भएको सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बन्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

ओलीको राजनीतिक यात्रा

केपी ओली पहिलो पटक २०७२ साल असोज २४ गते प्रधानमन्त्री बनेका थिए। संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले १० महिना सरकार सञ्चालन गरे। २०७३ साल असार ३० गते माओवादीले अविश्वास प्रस्ताव दर्ता गरेपछि उनले साउन ९ गते संसदलाई सम्बोधन गर्दै राजीनामा दिएका थिए।

दोस्रो कार्यकाल

२०७४ सालमा एमाले–माओवादीसहित वाम गठबन्धन बनाएर चुनावमा गएपछि, झन्डै दुईतिहाइको बहुमत ल्याएर ओली दोस्रोपटक ३ फागुन २०७४ मा प्रधानमन्त्री बने। त्यस समयमा पनि ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो। २०७५ साल जेठमा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भयो तर, आलोपालोको सहमति कार्यान्वयन भएन। नेकपाभित्रको विवाद चुलिएपछि ओलीले २०७७ साल पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरे। सर्वोच्च अदालतले २०७७ साल फागुन ११ गते विघटन असंवैधानिक ठहर गर्दै पुनर्स्थापना गरिदियो। त्यसपछि माओवादीले समर्थन फिर्ता लिएको थियो र ओली सरकारले २०७८ साल वैशाख २७ गते सदनमा विश्वासको मत गुमायो। दोस्रोपटक ओलीले तीन वर्ष तीन महिना सरकार चलाए।

तेस्रो कार्यकाल

ओली सरकार ढलेपछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी थिइन् तर कुनै पनि दलले बहुमत पुर्‍याउन नसकेको भन्दै राष्ट्रपतिले ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्त गरिन्। यद्यपि, त्यतिखेर कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए। तेस्रोपटक नियुक्त भएका प्रधानमन्त्री ओलीले २०७८ साल जेठ ८ गते फेरि प्रतिनिधिसभा विघटन गरे। यसविरुद्ध पनि सर्वोच्च अदालतमा मुद्दा परेपछि २०७८ साल असार २८ गते सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुका साथै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्‍यो। ओली यतिखेर दुई महिना मात्र प्रधानमन्त्री भएका थिए।

चौथोपटक प्रधानमन्त्री

हालै कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार केपी ओली चौथोपटक प्रधानमन्त्री बन्ने भएका छन्। राष्ट्रपति पौडेलले आजै उनलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

Back to top