×

युरोपेली च्याम्पियनसिपमा आज क्वाटरफाइनल समीकरण पूरा हुँदैछ । आज पहिलो खेलमा रोमानियाविरुद्ध नेदरल्यान्ड्सले खेल्दैछ। 

 युरोपेली फुटबलमा रोमानियाभन्दा नेदरल्यान्ड्स धेरै माथि छ। सन् १९९० पछि नेदरल्यान्ड्सले रोमानियासँग हारेको पनि छैन। यी दुई टिमबिच अहिलेसम्म १४ पटक आमनेसामने हुँदा नेदरल्यान्ड्सले रोमानियालाई १० पटक हराएको छ। यस क्रममा नेदरल्यान्ड्सले २९ गोल गरेको छ। 

रोमानियाबाट मात्र तीन गोल आएको छ। पछिल्लो पटक सन् २००७ मा भएको युरोपेली च्याम्पियनसिपको छनोट चरणमा रोमानियाले नेदरल्यान्ड्सलाई हराएको थियो। रोमानिया युरोको नकआउटमा पुगेको दोस्रो पटक हो । सन् २००० मा रोमानियाले क्वाटरफाइनलसम्मको यात्रा गरेको थियो। नेदररल्यान्ड्स सन् १९८८ को विजेता हो।

रोमानिया समूह ‘इ’ विजेता बन्दै नकआउट चरणमा पुगेको हो। नेदरल्यान्ड्स बल्लतल्ल उत्कृष्ट तेस्रो स्थानमा रहने चार टिम अगाडि बढ्ने प्रावधान अनुरूप मात्र समूह चरणबाट बिदा हुनबाट जोगिएको हो। 

समूह चरणमा युक्रेनलाई ३–० ले हराएपछि रोमानिया दोस्रो खेलमा बेल्जियमसँग २–० ले पराजित भएको थियो। यद्यपि अन्तिम लिग खेलमा स्लोभाकियासँग १–१ ले बराबरीमा खेलेर रोमानिया समूह विजेता बन्यो। नेदरल्यान्ड्सले पोल्यान्डविरुद्ध पुनरागमन जित हासिल गरेको थियो। फ्रान्ससँग गोलरहित बराबरीमा खेल्यो। अन्तिम खेलमा अस्ट्रियासँग ३–२ ले हारेपछि नेदरल्यान्ड्स टिममा समस्या देखिएको थियो । आजै हुने अर्को खेलमा फ्रान्स, नेदरल्यान्ड्स र पोल्यान्ड जस्तो ठुला फुटबल राष्ट्र सामेल समूहबाट विजेता बनेर नकआउटमा पुगेकाले अस्ट्रिया उच्च मनोबलमा रहेको छ। उसले आज  टर्कीविरुद्ध  अन्तिम १६ को भिडन्तमा अस्ट्रियालाई दाबेदार मानिएको छ ।

 समूह ‘एफ’ बाट अघि बढेको टर्कीले राम्रो प्रदर्शन गरेको छैन्। युरो २००८ मा सेमिफाइनलसम्मको यात्रा गरेको टर्की पछिल्लो खेलमा १० खेलाडीमा सीमित चेक गणतन्त्रविरुद्ध जित हासिल गर्दा सङ्घर्षरत बनेको थियो। 

अस्ट्रिया भने पोल्यान्ड र नेदरल्यान्ड्स जस्ता टिमलाई हराएर अघि बढेको हो। गत मार्चमा टर्कीसँग मैत्री खेल हुँदा अस्ट्रिया ६–१ ले विजयी भएको थियो।सन् २००२ को विश्वकपको प्लेअफमा टर्कीले समग्रमा अस्ट्रियालाई ६–० ले पराजित गरेको थियो।

पछिल्ला प्रदर्शन हेर्ने हो भने अस्ट्रिया शानदार लयमा देखिन्छ । युरो २०२४ को छनोटमा अस्ट्रियाले मात्र एक खेल हारेको थियो । अस्ट्रियाले पछिल्ला १९ खेलमध्ये १४ मा जित हात पारेको छ । दुई खेल बराबरीमा सकिएको थियो भने दुई खेलमा अस्ट्रिया पराजित भएको थियो । एपी   

Back to top