×

वीरगञ्ज । वीरगञ्जको सिद्धार्थ मा.वि. मा कक्षा ६ मा अध्ययनरत लक्ष्मी सिंह महिनावारीका बारेमा केही थाहा पाउँथिन्, तर उनी पूर्ण रूपमा जानकार थिइनन्। आइतवार विद्यालयमै आयोजित सचेतनामूलक कार्यक्रममा सहभागी भएपछि उनले महिनावारी तथा प्रजनन स्वास्थ्यका बारेमा विस्तृत जानकारी पाउने अवसर प्राप्त गरिन्।

लक्ष्मी भन्छिन्, ‘अब महिनावारीका बारेमा म मात्रै हैन अरु साथीलाई पनि बुझाउँछु ।’ कक्षा ९ मा अध्ययनरत अनिषा पण्डितलाई महिनावारी र प्रजनन स्वास्थ्यका बारेमा थाहा थियो । तर उनी यो लुकाउने र कसैलाई नभन्ने कुरा हो भन्नेमा अस्पष्ट थिइन् । जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति पर्साले विद्यालयमा आयोजना गरेको प्रशिक्षणका अवसरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. दिप्ती यादवले महिनावारी लुकाउने र लजाउने कुरा हैन भनेर उनलाई स्पष्ट पारिन् । 

डा. यादवकाअनुसार किशोरावस्थामा शारिरीक र मानसिक रुपमा परिवर्तन आउनु स्वभाविक हो । प्रजनन स्वास्थ्य महत्वपूर्ण विषय भएकाले यसका बारेमा खुलेरै विद्यार्थीसँग, शिक्षकसँग, साथीसँग तथा परिवारसँग कुरा गर्नुपर्नेमा उनले जोड दिइन् । महिनावारी तथा प्रजनन स्वास्थ्य महिलाको मात्रै सवाल नभएको स्पष्ट पार्दै डा. यादवले छात्रले पनि थाहा पाउनुपर्ने र छात्राहरुलाई सहज वातावरण बनाइदिनुपर्ने आवश्यक्ता औँल्याइन् । उनले भनिन्, ‘प्रजनन स्वास्थ्यको बारेमा थाहा भएपछि विवाह, पारिवारीक योजना, सन्तान उत्पादन, जन्मान्तर लगायतका बारेमा थाहा हुन्छ । प्रजनन स्वास्थ्य लाज मान्ने र लुकाउने विषय हैन । खुलेरै बहस र चर्चा गर्ने विषय हो । यसका बारेमा जति धेरै कुरा हुन्छ, त्यति धेरै बुझ्न सहज हुन्छ ।’ 

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत आयोजित सचेतनामुलक कार्यक्रमका अवसरमा महिनावारी तथा प्रजनन स्वास्थ्यका बारेमा डा. यादवले प्रशिक्षण दिइन् भने साइबर क्राइम र बालविवाह सम्बन्धी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक स्वपनिल देवकोटाले प्रशिक्षण दिएका थिए । कसैले मोवाइल तथा सामाजिक सञ्जालमार्फत हिंसा गरेमा अनलाईनबाटै उजुरी गर्न मिल्नुका साथै उजुरीकर्ताको परिचय गोप्य राखिने विषयमा पनि उनले स्पष्ट पारे । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग हुने गरेको चिन्ता व्यक्त गर्दै उनले साइबर अपराधका बारेमा विद्यार्थीले थाहा पाउन जरुरी रहेको बताए । 

प्रहरी सहायक निरीक्षक नन्दकला टमाटा बेधाले लैंगिक हिंसाको प्रमुख कारण बालविवाह पनि रहेको बताइन् । अपरिपक्व सोच र उमेरमा विवाह गर्दा पछि हिंसा निम्तिने हुँदा बालविवाह नगर्न र नगराउन उनले सुझाव दिइन् । बालविवाहले हिंसासँगै भविष्य पनि जोखिममा पर्ने गरेको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा आउने अधिकांश उजुरी पनि बालविवाह तथा लैंगिक एवम् घरेलु हिंसाका हुने गरेको उनले बताइन् । 

बालविवाह नगर्ने र नगर्न साथीभाईलाई सुझाव दिने कक्षा ८ मा अध्ययनरत छात्रा अनुष्का साहले प्रतिबद्धता जनाइन् । सञ्जालले आयोजना गरेको सचेतनामुलक कार्यक्रमले महिनावारी, प्रजनन स्वास्थ्य, बालविवाह तथा साइबर अपराधका विविध आयामका बारेमा स्पष्ट हुने मौका मिलेको उनको अनुभव छ । कक्षा ९ कै मिथलेस यादवको पनि सोच फेरिएको छ । यसअघि उनलाई महिनावारी महिलाको सवाल मात्रै हो भन्ने लाग्थ्यो । अब दिदी बहिनी तथा अन्य छात्राहरुलाई महिनावारीको समयमा असहज हुने काम नगर्ने र गर्न नदिने उनले बताए ।

कक्षा ६ मा पढ्ने आदित्य साह पनि महिनावारी तथा प्रजनन स्वास्थ्यका बारेमा स्पष्ट भएका छन् । उनको बुझाईमा पनि महिनावारी लाजको विषय थियो । तर अब उनको बुझाई पनि बदलिएको छ । 

विद्यार्थीलाई व्यवहारिक कुरा सिक्नका लागि सञ्जालको तालिम कोशेढुंगा साबित भएको सिद्धार्थ माविका प्रधानाध्यापक उमेश कुमार मिश्राले दाबी गरे । उनले भने, ‘प्रजनन स्वास्थ्यसँगै साइबर अपराध तथा बालविवाह सम्बन्धी सानै उमेरदेखि विद्यार्थीलाई सचेत बनाउन जरुरी छ । आज विद्यार्थी सचेत भए भने भोली हाम्रो समाज सचेत हुन्छ ।’ 

सञ्जालले विद्यार्थीलाई सचेत बनाउने अभिप्रायले विद्यालयहरुमा सचेतनामुकल कार्यक्रम गर्दै आएको समितिका सदस्य कमल चौगाईले जानकारी दिए । उनकाअनुसार यसअघि वीरगञ्जसहित पर्सा जिल्लाका अन्य सामुदायिक तथा संस्थागत विद्यालयमा पनि कार्यक्रम सम्पन्न भइसकेको छ । आगामी दिनमा अन्य विद्यालयमा पनि निरन्तरता दिने योजना पनि उनले सुनाए । समाजसेवी एवम् अभियानतासमेत रहेका चौगाइले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान पनि प्रदान गर्नुपर्नेमा जोड दिए । 

विद्यालयको कक्षासँगै बेलाबेला विद्यार्थीलाई आफुले पनि प्रजनन स्वास्थय तथा महिनावारीका बारेमा सिकाउने गरेको सिद्धार्थ माविकी स्कुल नर्स ऋचा रुपाखेतीले बताइन् । महिनावारीका समयमा छात्रालाई निःशूल्क महिनावारी प्याड उपलब्ध गराउँदै आएको जानकारी दिँदै उनले अन्य स्वास्थ्यका बारेमा पनि विद्यार्थी बिस्तारै बुझ्दै गएको जिकिर गरिन् । सो अवसरमा सिद्धार्थ मा.वि.मा कक्षा ६ देखि ९ सम्म अध्ययरन ८० जना विद्यार्थी सहभागी थिए । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलको संयोजकत्वमा जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति छ । जसले लैंगिक हिंसा नियन्त्रणसँगै साइबर अपराध, प्रजनन स्वास्थ्य, बालविवाह जस्ता विषयमा विद्यार्थीलाई सचेत बनाउने कार्यक्रम गर्दै आएको छ । विद्यार्थीलाई सचेत बनाएमा विद्यार्थीमार्फत घरपरिवार तथा समाजलाई सचेत बनाउन सघाउ पुग्ने सञ्जाल समितिका संयोजक प्रहरी उपरीक्षक ढुङ्गेलले बताए । फलस्वरुप सचेतनामुलक कार्यक्रमको लागि विद्यालय नै सञ्जालको पहिलो प्राथमिकतामा छ । विद्यालय मात्रै नभएर सामाजिक संघ संस्थासँगको सहकार्यमा समुदायमा पनि सचेतनामुलक कार्यक्रम हुँदै आएको प्रहरी उपरीक्षक ढुङ्गेलले जानकारी दिए । 
 

Back to top