×

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले राजीनामा माग भइरहेका बेला विश्वासको मत लिने तयारी थालेका छन्। पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्री सिंहले त्रुटिपूर्ण बजेट प्रस्तुत गरेको स्वीकार गरिसकेकाले तत्काल राजीनामा माग गरेका थिए। तर, मुख्यमन्त्री सिंहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेपछि विभिन्न अड्कलबाजी सुरु भएको छ।

मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने आन्तरिक तयारी गरिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुष्टि गरेको छ। संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ। त्यसअनुसार, उनले २२ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

सत्तारुढ नेकपा एकीकृत समाजवादीको महाधिवेशनलाई ध्यानमा राख्दै, पार्टीका सांसदहरूले २० गतेभन्दा अगाडि विश्वासको मत नलिन आग्रह गरेकाले सिंहले २१ गतेलाई मिति तय गरेका छन्।

पूर्वमुख्यमन्त्री यादवले प्रदेशसभामा बहुमत प्राप्त नगरेपछि सिंहले बहुमत सांसदहरूको समर्थनमा मुख्यमन्त्री पद ग्रहण गरेका थिए। उनलाई सरकार टिकाउन ५४ जना सांसदहरूको समर्थन आवश्यक रहेको छ, र उनले आफ्नो पक्षमा ५५ जना सांसदहरूको समर्थन रहेको दाबी गरेका छन्।

मुख्यमन्त्री सिंहले सबै दलको समर्थनमा त्रुटिपूर्ण बजेट संशोधन गर्ने प्रयासका साथ प्रदेशसभाबाट सर्वसम्मत रुपमा विश्वासको मत लिने तयारी गरिरहेका छन्। यस कदमले सिंहलाई स्थिर मुख्यमन्त्रीका रुपमा स्थापित गर्ने प्रयास भएको टिप्पणी गरिएको छ।

Back to top