×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९, रानीघाटका २८ वर्षीय डा. सुरज प्रसाद सोनी आफ्नो परिवारमा पहिलो डाक्टर हुन्। अध्ययनप्रति गहिरो लगाव भएका सुरजले आफ्नो मेहनत र प्रतिबद्धताबाट चिकित्सा क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गरेका छन् ।

प्रारम्भिक शिक्षा र विद्यार्थी जीवन
सुरजको शैक्षिक यात्रा वीरगञ्जको ज्ञानज्योती स्कुलबाट प्रारम्भ भयो। उनले कक्षा १० मा जिल्लामै उत्कृष्ट नतिजा ल्याएर २०६७ सालमा डिस्टिन्सनसहित एसएलसी उत्तीर्ण गरे। त्यसपछि उनले प्लस टु तिनकुनेस्थित पेन्टागन इन्टरनेशनल कलेजबाट विज्ञान संकायमा सम्पन्न गरे।

चिकित्सा शिक्षा
प्लस टु पछि सुरजले मणिपाल कलेज अफ मेडिकल साइन्स, पोखराबाट पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न सफल भए। आफ्नो अथक परिश्रम र लगनशीलताको कारण उनी अध्ययनमा अब्बल साबित भए। एमबिबिएस पूरा गरेपछि उनले लोकसेवा आयोग अन्तर्गत कोशी प्रदेशबाट मेडिकल अधिकृत आठौं तहको परीक्षा दिए। सोही समयमा उनले एम.डी. अध्ययनका लागि पनि छात्रवृत्तीको परीक्षा दिए। दुवैमा नाम निस्किएपछि उनले सरकारी जागिर छोडेर अध्ययनलाई नै रोजे।

सुरज भन्छन्, “जागिर त जहिले पनि पाइहालिन्छ, तर पहिला पढ्नुपर्छ। पढाई पहिलो प्राथमिकता हो। एम.डी. सकेपछि फेरी आएर परीक्षा दिए भने पनि म लोकसेवामा नाम निकाल्न सक्छु।“ यही सोचको परिणामस्वरूप उनले एम्स (अल इण्डिया इन्सिच्युट अफ मेडिकल साइन्स) मा पूर्ण छात्रवृत्तिमा एम.डी. रेडियो डाइगोनोसिस एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्ययन गर्ने निर्णय गरे।

डा. सुरजले आठौ तहको मेडिकल अधिकृतमा खुलामा नाम निकालेको सूची र एम.डीका लागि पूर्ण छात्रवृत्तीमा नाम निकालेको सूची । 

पारिवारिक सहयोग
डा. सुरज श्यामशंकर प्रसाद सर्राफ र शबिता देवी सर्राफका कान्छा छोरा हुन्। उनका दाजु राज सर्राफ युवा उद्यमी हुन्, जो व्यवसाय क्षेत्रमा सक्रिय छन्। बहिनी रोशनी सर्राफ नेपाल राष्ट्र बैंकको वीरगञ्ज शाखामा कार्यरत छिन्। सुरजका दाजु राज सर्राफले भाईको मेहनत र प्रगतीलाई गर्वको विषय मानेका छन्। उनले भने, “एमबिबिएस, एमडी पढ्नका लागि लाखौं रुपैयाँ लाग्छ, तर भाईले आँट गरेपछि हामी पढाउन नसक्ने त होइन तर हरेक पटक आफ्नै क्षमताको भरमा छात्रवृत्तीमा नाम निकालेर पढ्नु हाम्रो लागि गर्वको कुरा हो।” 

भविष्यका लक्ष्य र रुचि
सुरजको मुख्य लक्ष्य आफ्नो ठाउँको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँदै गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने हो। उनले आफ्नै ठाउँमा अस्पताल खोलेर यहाँका नागरिकलाई सेवा गर्ने सपना देखेका छन्।

अध्ययन बाहेक उनले क्रिकेट खेल्न र उपन्यास पढ्न पनि मन पराउँछन्। डा. सुरज प्रसाद सोनीको जीवन यात्रा र उपलब्धिहरू प्रेरणादायी छन्। उनी आफ्नो स्थानमा स्वास्थ्य सेवामा सुधार ल्याउने लक्ष्यप्रति दृढ संकल्पित छन् र आफ्नो यात्रा आर्थिक अभावका कारण आँट नगरेकाहरूका लागि प्रेरक छन्। सुरजले यात्रा डेलीलाई भने, “म आफ्नो परिवार र सबै प्रोत्साहकहरूप्रति आभारी छु। उनीहरूको समर्थन र माया बिना म यहाँसम्म पुग्न सक्दिनथेँ।” 

डा. सुरज प्रसाद सोनीको यो समर्पण र सफलता असल स्वास्थ्य सेवा प्रवाह गर्न र भविष्यमा उत्कृष्ट चिकित्सक बन्ने मार्गमा उदाहरणीय छ।

Back to top