×

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ निवासी अनिष प्रसाद कुशवाह लोकसेवाको तयारी गरीरहेका छन् । प्राविधिकतर्फको सबइन्जिनियरींगको तयारीका लागि उनी वीरगञ्जको आदर्शनगरस्थित पुस्तकालयमा पुग्छन् । 

वीरगञ्ज महानगरपालिकाले सञ्चालनमा ल्याएको पुस्तकालय अनिष जस्तै युवाहरुका लागि अध्ययन गर्ने थलो बनेको छ । त्याहाँ अनिष मात्रै आउँदैनन्, सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ४ स्थायी घर भई हाल वीरगञ्जमै बसीरहेका अभिषेक कुमार झा पनि लोकसेवाकै तयारी गरीरहेका छन् । उनको पनि अध्ययन गर्ने अड्डा त्यही हो । 

अध्ययनका लागि आएका विद्यार्थीहरु त्यहाँ बसेर अध्ययन त गर्छन्, तर मन लगाएर अध्ययन गर्ने वातावरण भने छैन । पुस्तकालयका लागि हुनुपर्ने पर्याप्त स्थान नभएको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का तिलकराज यादव बताउँछन् । यात्राडेलीसँगको कुराकानीमा एमबिबिएस अध्ययनका लागि तयारी गरीरहेका उनले भने, ‘हामी अध्ययनका लागि आउँछौ, तर मन लगाएर पढ्ने  वातावरण भने छैन । गर्मीको समयमा बसी नसक्नु हुन्छ । अनि पढाईमा ध्यान नै जाँदैन ।’ 

पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर १ का सन्दिप पटेल पनि तिलकराज यादवकै कुरामा थप्छन्, ‘पढ्नका लागि सबैभन्दा पहिला मन र वातावरण शान्त हुन जरुरी छ । तर गर्मीले गर्दा मनमा तनाव भएपछि पसिनाले शरिर भिजेको अवस्थामा जति पढेपनि बुझ्न सकिदैन ।’

शिक्षक सेवा आयोगको तयारी गरीरहेका सन्दिपकाअनुसार पुस्तकालयलाई वातानुकुलित बनाउन जरुरी छ । पुस्तकालयमा एसी जडान गर्नुपर्ने विद्यार्थीहरुको माग छ । गर्मीसँगै पुस्तकालयमा पिउने पानीको पनि अभाव छ । पिउने पानीका लागि बाहिर जानुपर्ने वा पसलबाट खरिद गरेर पिउनुपर्ने बाध्यता रहेको पुस्तकालयमै पढ्नका लागि आएका विद्यार्थीहरुले दुखेसो सुनाए । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ निवासी कृष्ण साहका अनुसार पुस्तकालयमा पुस्तकको अभाव छ । विशेष गरी लोकसेवा, शिक्षक सेवा, इन्जिनियरींगतर्फका, सुरक्षा तर्फका, खाद्य संस्थान, नेपाल टेलिकम लगायतका किताबहरु आवश्यक भएको कृष्णले बताए । धार्मिक, कानुन, इतिहास सम्बन्धी पुस्तकहरु पनि भइदिए पढ्न सहज हुने उनको भनाई छ । साथै उनले अध्ययनको समय मौसमअनुसार बढाउनुपर्ने पनि माग गरेका छन् । गर्मीको समयमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म पुस्तकालय खुला हुन्छ । तर साँझ कम्तीमा ९ बजेसम्म खुला राख्नुपर्ने विद्यार्थीको माग छ । 

वीरगञ्जको पुस्तकालयमा वीरगञ्जका मात्रै नभएर बारा, पर्सा रौतहट सिराहा लगायतका जिल्लाका विद्यार्थीहरु पनि अध्ययनका लागि आउने गरेको पुस्तकालय प्रमुख शम्भु प्रसाद पासवानले जानकारी दिए । उनकाअनुसार दैनिक कम्तीमा ३० जनादेखि ५० जनासम्म विद्यार्थीहरु अध्ययनका लागि पुस्तकालय आउने गरेका छन् ।

पुस्तकालयका लागि छुट्टै भवन हुनुपर्ने, एसी जडान गर्नुपर्ने, बत्ती जान सक्ने हुँदा ईन्भर्टरको व्यवस्था हुनुका साथै आवश्यक कुर्सी टेबल लगायतका फर्निचरको कमी रहेको प्रमुख पासवानले बताए । व्यवस्थित गर्न सकेमा पुस्तकालयमा अध्ययन गर्न आउने विद्यार्थीको संख्या अझै बढ्ने उनको विश्वास छ । 

वीरगञ्जको नगर सभा गृह (टाउन हल) सँगै रहेको वडा नम्बर १० को कार्यालय रहेको भवनमा पुस्तकालय अवस्थित छ । पुस्तकालय भवनको २७ फागुन २०४८ सालमा तत्कालिन प्रधानमन्त्री स्वर्गिय गिरिजा प्रसाद कोइरालाले उद्घाटन गरेका थिए । 

 

Back to top