×

‘विद्यार्थीले सर्टिफिकेटसँगै रोजगारीको अवसर पनि पाउँनुपर्छ । शिक्षा क्षेत्रमा राजनीति हाबी हुनु हुँदैन । विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक क्यालेण्डर लागु हुनुपर्छ । पठनपाठन, परीक्षा र नतिजा समयमै हुनुपर्छ । पढाइसकेपछि देशमै काम पाइन्छ भन्ने विश्वास विद्यार्थीलाई दिलाउन सक्नुपर्छ ।’  – प्रकाशकुमार उपाध्याय, शिक्षाप्रेमी

देशमा रोजगारीका नयाँ अवसर सिर्जना नहुँदा दक्ष जनशक्ति विदेशिने क्रम बढ्दो छ । सरकारी प्रतिवेदनहरुले नै अध्ययनका नाममा नेपालबाट बाहिरिने युवाको संख्या दिनानुदिन बढिरहेको देखाउँछ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ महिनाको मात्रै तथ्याङ्क हेर्ने हो भने वैदेशिक अध्ययनमा ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम साढे ४२ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवदेनले देखाएको छ । गत आर्थिक वर्षमा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो ।

विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा अध्ययनका लागि विदेश जाने क्रम बढेको बताइन्छ । एकातर्फ उच्च शिक्षासँगै अवसरका लागि विदेश जाने क्रम बढेको देखिन्छ । अर्कोतर्फ उच्च शिक्षा अध्ययन गरेपछि पनि देशभित्रै अवसर नपाउँदा बेरोजगार बस्नुपर्ने बाध्यता छ । शैक्षिक बेरोजगारीको अवस्था अन्त्यका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउँछन्, शिक्षा क्षेत्रमा लामो समयसम्म काम गर्दै आएका शिक्षाप्रेमी प्रकाशकुमार उपाध्याय । शैक्षिक गुणस्तर बढाउन समग्र शिक्षा क्षेत्रमा देखिएका कमिकमजोरीलाई सुधार गर्नुपर्ने उनको सुझाव छ । उनी भन्छन्, ‘विद्यार्थीले सर्टिफिकेटसँगै रोजगारीको अवसर पनि पाउँनुपर्छ । शिक्षा क्षेत्रमा राजनीति हाबी हुनु हुँदैन । विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक क्यालेण्डर लागु हुनुपर्छ । पठनपाठन, परीक्षा र नतिजा समयमै हुनुपर्छ । पढाइसकेपछि देशमै काम पाइन्छ भन्ने विश्वास विद्यार्थीलाई दिलाउन सक्नुपर्छ ।’

अध्ययनप्रतिको लगाबले स्कूल स्थापना
प्रकाशकुमार उपाध्यायले आजभन्दा करिब २५ वर्ष अघि ०५४ सालमा वीरगंजको भगवती टोलमा एउटा बोर्डिङ स्कूलको स्थापना गरे । उनले सञ्चालन गरेको बोर्डिङ स्कूलमा हाल कक्षा १ देखि १० सम्म पठनपाठन हुँदै आएको छ भने करिब २५ जनाले रोजगारी पाएका छन् । उक्त बोर्डिङ स्कूलमा झण्डै चार सय जना विद्यार्थी अध्ययनरत छन् । नीजि विद्यालयले विद्यार्थीबाट मनलाग्दी पैसा असुल्ने गरेको आरोप विगतमा देखिएको भए पनि अहिले त्यस्तो अवस्था नरहेको उनी बताउँछन् । विगतमा अनुगमन गर्ने निकाय फितलो भएका कारण त्यस्तो अवस्था आएको उनको भनाइ छ । उनी भन्छन्, ‘नीजि विद्यालयलाई पनि पालिकाको शिक्षा महाशाखाले सबै किसिमको अनुगमन गरिरहेको हुन्छ, त्यसैले अहिले नीजि विद्यालयहरुमा पनि सुधार भएको छ ।’ त्यो बेला प्रकाश उपाध्यायलाई कुनै योजना भन्दा पनि अध्ययनप्रतिको लगाब स्कूल स्थापना गर्न डोर्यायो । उनी विगत सम्झिन्छन् ‘त्यो बेला केही साथीहरुले प्रकाशजी अब राजनीति छोडेर स्कूल चलाउन थाल्यो भन्थ्ये । आजभोलि तपाईले ठीकै गर्नु भएछ स्कूल खोलेर भन्नुहुन्छ ।’

‘अहिले नेपालमा शिक्षाको गुणस्तर अलिकति खस्केको भए पनि त्यसलाई सुधार गर्न सकिन्छ । तर निरास हुनुपर्ने अवस्था छैन’ उनी भन्छन्, ‘शिक्षालाई प्राविधिक क्षेत्र र नयाँ प्रविधीसँग जोड्न सक्नुपर्छ । विद्यार्थीलाई आफै स्वभालम्बी बन्न सक्ने एउटा आधार तयार गरिदिनुपर्छ । त्यसका लागि कृषि क्षेत्रमा पनि युवालाई त्यही अनुसारको शिक्षा र तालिम दिन सक्नुपर्छ । साथै अहिलेको आइटीको युगमा त्यही अनुरुपको अवसरहरु प्रदान गरिदिनुपर्छ । यसो गर्दा शैक्षिक बेरोजगारीको अवस्थालाई कम गर्न सकिन्छ । राष्ट्र निर्माणका लागि जग बनाउने आधार भनेकै शिक्षा हो । त्यसैले पनि शिक्षा क्षेत्रमा राज्यको लगानी बढाउन आवश्यक छ ।’

सन्त नेता भट्टराईका सारथी
वीरगंज महानगरपालिका वडा नम्बर ४ भगवती टोलका बसिन्दा हुन् प्रकशकुमार उपाध्याय । एउटा मध्यमवर्गीय परिवारमा जन्मिएका उपाध्यायका बुबा तत्कालिन समयमा जिल्ला न्यायाधीश थिए । चार दिदी बहिनी र दुई जना दाजुभाईको पढाइ खर्चसहित घरपरिवारको सबै खर्च बुबाकै जागिरले धान्नुपर्ने स्थिति थियो । प्रकाश उपाध्यायलाई बाल्यकालमा फुटबल खेलमा बढी रुचि थियो । वीरगंजको माइस्थान विद्यापीठमा उनले दश कक्षासम्मको अध्ययन पूरा गरे । त्यसपछि वीरगंजकै हरिखेतान क्याम्पसमा अध्ययन गरे । दुई वर्ष भारतमा गएर आइएसी गरे । फेरि नेपाल आएर ठाकुरराम बहुमुखी क्याम्पसमा बिए अध्ययन गरे । बिए, बिएल हुँदै समाजशास्त्रमा स्नाकोत्तर गरेका उपाध्यायले राजनीतिमा बढी सक्रिए हुँदै गए । कानुनी व्यवसायी समेत रहेका उपाध्यालले वकालती पेशमा भने धेरै सक्रिय बनेन् । उनले बढी समय त्यो बेला राजनीतिमा नै दिए । विद्यार्थी जीवनमा पनि राजनीतिमा सक्रिय उपाध्यायले तत्कालिन समयमा वीरगंजका रिक्सा मजदुरको नेतृत्व गर्दै काम गरे । राजनीतिसँगै समाजसेवामा लागेका उपाध्याय क्षेत्रीय सचिव, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै पर्सा जिल्लाको उपसभापति बने ।

तत्कालिन समयमा चुनावमा लगातार पराजित नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईलाई पर्साबाट जिताएको श्रेय उपाध्यायलाई नै जान्छ । सन्त नेता कृष्णप्रसाद भट्टराईले संसदीय निर्वाचनमा लगातार तीन पटक हार बेहोरे । वि.स. २०१५, २०४८ र २०५० को उपचुनावमा समेत पराजित भट्टराईले २०५६ सालमा पर्सा क्षेत्र नं.१ उम्मेदवारी दिएका थिए । लगातार पराजित भट्टराईलाई पर्साबाट विजयी बनाउन सारथी बनेका थिए, प्रकाशकुमार उपाध्याय । तत्कालिन अवस्थामा उपाध्याय नेपाली कांग्रेस पर्साका क्षेत्रीय सभापतिको भूमिका थिए । तर, अहिले भने उनी राजनीतिबाट आझेलमा परेका छन् ।

‘नेताहरुको राजनीतिक चरित्र स्खलित भयो’
देशमा लामो समयदेखिको राजनीति अस्थिरता र राज्यका संयन्त्रहरुबाट प्रभावकारी काम हुन नसक्दा त्यसको असर हरेक क्षेत्रमा देखिन्छ । आधारभूत आवश्यकता परिपूर्तिका लागि नागरिकले देश छोड्नुपर्ने अवस्था आजपनि विद्यमान छ । विगतमा पटक–पटक भएका थुप्रै राजनीतिक आन्दोलनले व्यवस्थामा परिर्वतन ल्याए तापनि नागरिक अपेक्षा किन पूरा हुन सकेनन् ? यस्तो हुनुमा राजनीतिक दलको भूमिका कति छ ? के देशले अंगिकार गरेको संघीय लोकतान्त्रिक शासन व्यवस्थाकै दोष छ ? प्रकाशकुमार उपाध्याय भन्छन्, ‘हरेक क्षेत्रसँग जोडिएको मुख्य नीति राजनीति सही दिशामा अघि बढ्न नसक्दा त्यसको प्रभाव हरेक क्षेत्रमा परेको हो ।’ उनी अगाडि थप्छन्, ‘एकार्फ नेताहरुको चरित्र र व्यवहार स्खलित भएको देखियो भने अकोतर्फ अहिलेको निर्वाचन प्रणालीमा पनि गडबढ देखियो । अहिलेको निर्वाचन पद्धतिले मुलुकलाई स्थायित्व दिनै सक्दैन । त्यसैले अहिलेको निर्वाचन प्रणालीलाई सुधार गर्नै पर्छ ।’

अहिलेको निर्वाचन प्रणालीले कुनै पनि पार्टीको एकल बहुमत ल्याउन सक्ने अवस्था नरहेकाले मिलीजुलीकै सरकार बनाउनुपर्ने बाध्यता रहेको उनी बताउँछन् । गठबन्धन गरेर चुनाव लड्ने चुनाव जितेपछि गठबन्धन फेरबदल गर्नु जनतालाई झुक्याउने कुरा मात्रै भएको उनको बुझाइ छ । चुनावमा गठबन्धन गर्ने दलहरुले पाँच वर्षसम्म नै गठबन्धनलाई निरन्तरता दिन सक्नुपर्ने उनको सुझाव छ । प्रदेश संरचना नेता व्यवस्थापनका लागि मात्रै बनेको टिप्पणी गर्दै उनले संघीय संरचनामा पनि सुधारको खाँचो औल्याए । केन्द्रमा राजनीतिक समिकरणमा फेरियो भने त्यसको असर प्रदेशमा पनि देखिनुलाई सही नभएको उनको भनाइ छ ।

‘सत्ताका लागि गठबन्धन गर्ने दलहरुले देशको अव्यवस्थालाई सुधार्न गर्न गठबन्धन गर्न नमिल्ने हो ?’ उनी प्रश्न गर्छन् । गठबन्धन बनाउने र भत्काउने खेल भन्दा पनि राष्ट्रिय मुद्दाहरुमा दलहरु एक ठाउँमा उभिन सक्नुपर्ने उनको सुझाव छ । नागरिक अपेक्षा पूरा हुन नसक्दा राजनीतिप्रति निरासा बढेको प्रकाशकुमार उपाध्याय स्वीकार गर्छन् । विगतमा भएका विभिन्न राजनीतिक आन्दोलनबाट आएको परिवर्तनले नागरिकमा आशा जगाएको भए पनि नेतृत्वले त्यसलाई पूरा गर्न नसकेको उनी बताउँछन् ।

‘देशमा राम्रो व्यवस्था आयो भने रोजगारी पाइने, देशले विकास र समृद्धि हासिल गर्ने नागरिकमा विश्वास थियो । नेताहरुप्रति पनि विश्वास थियो । किनभने त्यतिबेला मूल्य र मान्यताको राजनीति थियो । जनतालाई केन्द्रमा राखेर राजनीति गरिन्थ्यो । त्यो बेला कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारीलगायतका नेताहरुले विचार सिद्धान्त र मूल्य मान्यताको राजनीति गर्दथ्ये ।’ उनी थप्छन्, ‘अहिले त्यो राजनीति स्खलित भएको छ । विचार, सिद्धान्त, मूल्य मान्यता र राजनीतिक घोषणापत्रलाई एकातिर राखेर शक्ति केन्द्रीत राजनीति हाबी भयो । देशको अर्थतन्त्र, युवा शक्ति विदेश पलायन, रित्तिदै गएका गाउँघर, बाँझो खेतबारीतर्फ ध्यान पुगेको देखिदैन । त्यसले अब राजनीतिलाई सुधार गर्नुको विकल्प छैन ।’ विश्वकै उत्कृष्ट व्यवस्था मानिएको लोकतन्त्र शासन प्रणालीको कार्यान्वयनका क्रममा यदि कुनै कमि कमजोरी भए त्यसलाई सुधार गर्नुपर्ने बताउँदै उनी भन्छन्, ‘संघीयता, निर्वाचन प्रणाली र सतहमा देखा परेका राष्ट्रिय मुद्दाहरुलाई नेतृत्वले सम्बोधन गर्न सक्नुपर्छ ।’ साभार मधेश दृष्टिबाट

Back to top