तस्बिरः सन्नी शर्मा
वीरगञ्ज। एसियन युथ चेस च्याम्पीयनशिपमा सहभागि हुने वीरगञ्जकी सनम श्रेष्ठलाई बिहीबार एक कार्यक्रमका बीच बिदाई गरिएको छ । यहि जुन ९ तारिखदेखि २१ जुनसम्म काजगस्तानको अल्माटी सहरमा आयोजना हुने च्याम्पीयनशिपमा नेपालबाट प्रतिनिधित्व गर्दै श्रेष्ठ सहभागि हुन लागेकी हुन् ।
वीरगञ्जको कुम्हालटोलस्थित मुनलाईट माविमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उनलाई खादा र नेपालको राष्ट्रिय झण्डा ओढाएर बिदाई गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले श्रेष्ठलाई सफलताको शुुभकामना व्यक्त गरे । नेपालबाट एकल प्रतिनिधिका रुपमा अन्तर्राष्टिय प्रतियोगितामा श्रेष्ठ सहभागि हुनु वीरगञ्ज सहित समग्र देशका लागि गौरवको विषय भएको उनले बताएका थिए । उनले भने,“शुभेच्छालाई शक्तिका रुपमा लिनु र राष्ट्रको प्रतिनिधित्व गर्दै विजयी हुनु, शुभकामना छ” । उनका अनुसार खेलाडीको प्रोत्साहन र मनोबल वृद्धिमा महानगरपालिकाले आवश्यक समन्वय र सहकार्य गर्नेछ ।
विद्यालयका प्रधानाध्यापक श्याम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई बीरगञ्ज महानगरपालिका वडा नं ५ की वडा सदस्य सन्जु दाहाल, जसपा वीरगञ्ज महानगरका अध्यक्ष ईश्वचन्द्र यादव, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईं, प्रिन्सटन एकेडेमीका प्रबन्ध निर्देशक बिनोद पटेललगायतले सम्बोधन गरेका थिए । सम्बोधन गर्ने क्रममा विनोद पटेलले प्रोत्साहन स्वरुप श्रेष्ठलाई ११ हजार सहयोग गर्ने उद्घोष गरेका छन् । त्यस्तै वडा सदस्य सन्जु दाहालले सहयोग स्वरुप ५ हजार १ सय रुपैँया हस्तान्तरण गरिन् ।
कार्यक्रममा काजगस्तानमा हुन लागेको च्याम्पीयनशिपका बारेमा नेपाल बुद्धिचाल संघ पर्साका सदस्य सुलभ केसीले प्रकाश पारेका थिए । उनका अनुसार च्याम्पीनशिपमा नेपालसहित विश्वभरिका ३५ वटा देशले सहभागिता जनाउँदै छन् । अन्तर्राष्ट्रिय खेल खेल्न जाने खेलाडीहरुलाई सरकारले कुनै सहयोग नगरेको उनको गुनासो छ । आफ्नै लगानीमा च्याम्पीयनशिपमा सहभागि भएर देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा उनको जोड छ ।
यसअघि वीरगञ्जमा सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको १८ वर्ष उमेर मुनीको समूह श्रेष्ठ विजयी भएर अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएकी हुन् । सोही प्रतियोगितामा सहभागि हुन श्रेष्ठ यहि आईतबार काजगस्तानका लागि प्रस्थान गर्दै छिन् ।
श्रेष्ठ सामुदायिक संस्था सानो पाइलाको सुनिश्चित भविष्य परियोजना अन्तर्गत सञ्चालित बाल गृह सानो घरमा बस्छिन् । सानो घरले उनको पालनपोषणदेखि शिक्षादीक्षासम्मको व्यवस्था गर्दै आएको छ । उनी मुनलाईट माविमा कक्षा ९ मा अध्ययनरत छिन् । अन्तर्राष्ट्रिय खेलमा श्रेष्ठ छनौट हुनु हामी सबैका लागि महत्वपूर्ण उपलब्धी भएको सानो घर परियोजनाका प्रमुख विवेक कर्णले बताए ।
