×

महिमाको चर्चा आजसम्म दार्शनिकरूपमा र तार्किकरूपमा यदि कसैले गरेको छ भने ती ओशो नै हुन् । ओशोले आफ्ना प्रायःजसो सबै प्रवचनमा बुद्धको व्याख्या गरेकै हुन्छन् । उनले बुद्धत्वको व्याख्या यस्तो गरेका छन् कि वास्तवमा उनी नै बुद्धको नयाँ अवतार हुन् जस्तो लाग्छ ।

आज बुद्ध जयन्तीको दिन केही अलग्गै लेखौं भन्ने विचार आयो र यो आलेख तयार गरें ।

ओशोले विचार र ध्यानको बारेमा बुद्धले भनेका कुरालाई यसरी व्याख्या गर्छन्– “बुद्धले विज्ञानले भन्दा पनि ठूलो काम गरेर आफू ब्रह्मलीन हुनुभयो । किनकि विज्ञानले भन्छ वस्तुप्रति निरपेक्ष भाव राख्नुपर्छ । वस्तुप्रति निरपेक्ष भाव राख्न ज्यादै सजिलो काम हो ।

तर स्वयंप्रति अर्थात् आफूप्रति निरपेक्ष भाव राख्नु ज्यादै कठिन काम हो । विज्ञान बहिर्मुखी हुन्छ तर बुद्धको विज्ञान त अन्तर्मुखी छ । धर्मको अर्थ हुन्छ, अन्तर्मुखी विज्ञान । बुद्ध भन्छन्, “जसरी तिमी अरूलाई विना कुनै धारणाले हेर्छाैं, ठीक त्यसैगरी आफूले आफैंलाई पनि विना कुनै धारणाले हेर्न सक्नुपर्छ ।” यो काम धेरै कठिन छ, लगभग असम्भव जस्तै ।

किनकि हामी आफूलाई विना कुनै धारणा हेर्नै सक्दैनौं । हामी सबैले आफ्नोबारेमा केही न केही धारणा अर्थात् एक किसिमको आफ्नै प्रतिमा बनाएर बसेका हुन्छौं । हामी सबैले आफूलाई एक किसिमको समाजले सृजना गरेको व्यक्तित्वको आत्मरतिमा रमाइरहेका हुन्छौं ।” कसैले हामीलाई हामीले बनाएको व्यक्तित्वको विरुद्धमा बोलिदियो या औंला उठाइदियो भने हामीमा शत्रुताको भावना उद्वेलित भएर आउँछ, जसरी अहिले कैलाश सिरोहियाको विरुद्धमा राज्यले एउटा कदम चालेको छ ।

उसले बनाएको व्यक्तित्वलाई धक्का लागेको छ र उसले रवि लामिछानेलाई धारे हात लगाइरहेको छ । आफ्नोबारेमा विभिन्न धारणा बनाएर हिंड्दा हामीलाई हाम्रो अहम्मा धक्का लाग्नु स्वाभाविक नै हो । किनकि हामीले समाजले बनाइदिएको अझ भनौं पूँजीवादले भिœयाएको व्यक्तित्वमा नै हामी रमाउन चाहन्छौं ।

ओशो भन्छन्– “हामीले मनमा आफ्नो एक स्वर्ण प्रतिमा बनाएका छौं– कल्पनाको, सपनाको र इन्द्रधनुषको । बुद्ध भन्नुहुन्छ, “हामीले आफ्नोबारेमा जुन प्रतिमा बनाएका छौं, यही नै सारा दुःखको जड हो ।” समाजमा हुने अशान्ति, मारकाट, एकापसमा देखिने वैमनश्यताको कारण नै ‘म’ भन्नुको अहङ्कार हो ।

बुद्ध भन्छन्, “तिमी को हौ, यो धारणा मनबाट हटाइदेऊ ।” तिमी हिन्दू, मुस्लिम, जैन, क्रिश्चियन, ब्राह्मण, शुद्र, क्षेत्रीय, साधु कि असाधु यी सङ्कुचित विचारभन्दा माथि उठ । यी सबैबाट माथि उठ्ने बित्तिकै तिमीले आफूभित्र ध्यानको माध्यमबाट नियालेर हेर्ने कोशिश गर्दै जाऊ । अनि तिमीले वास्तविक परमात्मालाई प्राप्त गर्न सक्छौ ।”

ओशो अगाडि भन्छन्, “तिमी ससाना कुरामा अल्झिएर आफ्नो अस्तित्वलाई बेकार बनाइरहेका छौ । जब तिमी ससाना चीजमा अल्झिन्छौं, तिमीले परमात्माको विराट रूपको कहिल्यै अनुभव नै गर्न पाउँदैनौं । जति विचार तिमीमा प्रकट हुन्छ, यो त तिमीले उधारोमा पाएको चीज हो ।

मन त एक ठूलो चौर हो, जसमा विचार यात्रीको रूपमा आउने जाने गरिरहन्छ । यसमा तिम्रो कहिल्यै पकड हुँदैन । बुद्धत्व भनेकै आफूलाई जान्नु, चिन्नु र खोज्नु हो । यसको अर्थ नै आफूले आफूलाई नै सधैं जगाइरहनु हो ।”

बुद्धका केही वाणीहरू यहाँ उल्लेख छन्–

१) शान्ति भन्ने कुरा हामीभित्रैबाट प्राप्त हुने कुरा हो । यसलाई बाहिर नखोजौं ।

२) आकाशमा पूर्व र पश्चिमको कुनै भेद छैन, ‘भेदभाव’ मानिसले आफैं सृजना गरी भिœयाइएको शब्द हो ।

३) कोही व्यक्ति सम्पूर्णतामा जब टुटेको हुन्छ, त्यही व्यक्ति फलाम भएर निस्किन्छ ।

४) धनवान् बन्नको लागि एक/एक कणलाई बचत र सङ्ग्रह गर्नुपर्छ र गुणवान् बन्नका लागि एक/एक क्षण सदुपयोग गर्नुपर्छ ।

५) संसारमा केही पनि स्थायी हुँदैन ।

६) ज्ञान, धनभन्दा श्रेयस्कर हुन्छ किनकि धनलाई तिमीले रक्षा गर्नुपर्छ तर ज्ञानले तिमीलाई रक्षा गर्छ ।

७) कोही पनि व्यक्ति ठूलो पद र ओहोदा पाएर ठूलो हुने होइन, उसलाई त उसको गुण र व्यवहारले ठूलो बनाउँछ ।

८) जब मन अशान्त हुन्छ, हामीले कहिल्यै निर्णय लिनुहुँदैन ।

९) खाना नखाने मात्र व्रत नलिनुस्, व्रत लिनुस्– फोहोरी विचार, फोहोरी नियत र तुच्छ व्यवहारको ।

१०) क्रोधलाई पालिराख्नु भनेको तातो कोइलालाई आफ्नो शरीरमा राख्नु जस्तै हो ।

 बुद्ध जयन्तीको सबैमा हार्दिक मङ्गलमय शुभकामना तथा नमन ।

(राजेन्द्र प्रसाद कोइराला (पीएचडी) वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ ।)

Back to top