×

वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुसँग ६० रनले पराजित भएसँगै पञ्जाब किंग्सको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।

बुधवार धर्मशालामा भएको खेलमा बेंगलुरुले प्रस्तुत गरेको २४२ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले १७ ओभरमा सबै विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो ।

पञ्जाबका रिली रोसोउले २७ बलमा सर्वाधिक ६१ रन बनाए पनि टिमको हार टार्न सकेनन् । शशांक सिंहले ३७, जोनी बाइस्टोले २७ र कप्तान साम करनले २२ रनको योगदान गरे । 

बेंगलुरुका मोहम्मद सिराजले सर्वाधिक तीन विकेट हात पारे । स्वप्निलसिंह, लकी फर्गुशन र कर्ण शर्माले समान दुई विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको बेंगलुरुले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २४१ रन बनाएको थियो ।

बेंगलुरुका निम्ति विराट कोहलीले सर्वाधिक ९२ रन जोडे । उनले ४७ बलमा सात चौका र ६ छक्का प्रहार गरे । रजत पटिदारले ५५ र कामरोन ग्रिनले ४६ रनको योगदान गरे ।

पञ्जाबका हर्षल पटेलले सर्वाधिक तीन विकेट लिए । विद्वान्त कवेरप्पाले दुई र अर्शदीप सिंह र साम करनले एक/एक विकेट हात पारे ।

जितसँगै १२ खेलबाट १० अंक जोडेको बेंगलुरुले प्लेअफ पुग्ने सम्भावनालाई कायमै राखेको छ । बेंगलुरु तालिकाको सातौँ स्थानमा छ । समान खेलबाट आठ अंकको पञ्जाबको भने प्लेअफमा पुग्ने सम्भावना सकिएको छ । पञ्जाब नवौँ स्थानमा छ ।

Back to top