×

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत डा. पप्पु जयसवाल र डा. सुरज कुर्मीको लापरबाहीका कारण एक जना सात वर्षीय बालकको शल्यक्रिया गर्नुपर्ने अवस्था सृजना भएको छ । 

वीरगञ्ज महानगरपालिका – २४ निवासी अशेसर पटेलका सात वर्षीय छोरा कृष्णा पटेलको छातीमा समस्या आई नारायणी अस्पतालमा उपचारका लागि लगेकोमा त्यहाँ कार्यरत डा. जयसवाल र डा. कुर्मीको चरम लापरबाहीको कारण बालकको शल्यक्रिया गर्नुपर्ने अवस्था सृजना भएको अभिभावकले आरोप लगाएका छन् ।

कृष्णाको छातीमा साधारण चोट लागि ५० मिल लिटर (एमएल) रगत जमेको देखिएपछि उपचारको लागि शुक्रवार नारायणी अस्पताल लगिएकोमा चिकित्सकद्वयले तीन दिनसम्म उपचार नगरेका कारण छातीमा गम्भीर समस्या आएर वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरेर शल्यक्रिया गर्नुपरेको उनका अशेसरले बताए ।

अशेसरका अनुसार कृष्णालाई शुक्रवार अस्पतालमा लगेपछि चिकित्सकहरूले शुक्रवार, शनिवार र आइतबार गरी तिन दिनसम्म उपचार नै नगरेको कारण आइतबार साँझ छातीमा गम्भीर समस्या आएको थियो । ‘तीन दिनसम्म बच्चाको कुनै किसिमको चेकजाँच नगरी औषधी चलाएनन्,’ उनले भने, ‘शुक्रवार अस्पतालमा लैजाँदा चिकित्सक डा. जयसवालले आफ्नो निगरानीमा अस्पतालमा भर्ना गराएका थिए ।’ 

छोरा अस्पताल भर्ना भए पश्चात् दुई दिनसम्म डा. जयसवालले अस्पतालमा राखेर कुनै किसिमको उपचार नगर्दा समस्या जटिल बन्दै गएपछि आइतबार साँझ मात्रै ड्युटीमा आएका डा. कुर्मीले नारायणी अस्पतालमा उपचार सम्भव नभएको बताउँदै नेशनल मेडिकल कलेज लैजान सुझाव दिएका थिए ।

‘शुक्रवार छोराको छातीमा ५० एमएल मात्रै रगत जमेको थियो, चिकित्सकले आफ्नो निगरानीमा राख्नका लागि भर्ना गरेर उपचार नगर्दा आइतबार छोराको अवस्था गम्भीर भएपछि आफैले सिटी स्क्यान गराउँदा २५० एमएल रगत जमिसकेको थियो,’ अशेसरले भने, ‘त्यसपछि डा. कुर्मीले बच्चाको अवस्था गम्भीर भएको भन्दै नेशनल मेडिकल कलेज लैजान भनेर रेफर गरे ।’

दुई दिनसम्म अस्पतालमा राखे पनि कुनै किसिमको चेकजाँच तथा उपचार नभएको कारण छोराको अवस्था बिग्रिएको अशेसरको भनाई छ । अहिले कृष्णाको नेशनल मेडिकल कलेजमा उपचार चल्दै छ । ‘छोराको छातीमा समस्या भएर श्वास फेर्न गाह्रो भइरहेको कारण छातीमा चेस्ट ट्युब हाल्नु परेको छ,’ उनले थपे । शल्यक्रिया गरेर चेस्ट ट्युब हाली जमेको रगतलाई निकाल्नुपर्छ ।

छोराको उपचारमा लापरबाही गर्ने चिकित्सकद्वय डा. जयसवाल र डा. कुर्मीलाई कारबाही गर्न नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चित्तरञ्जन साहलाई जानकारी गराइएको अशेसरले बताए । मेसुलाई गुनासो गरेपछि सोमबार उनको कार्यकक्षमा उपचारमा संलग्न चिकित्सक, अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ता सहित सञ्चारकर्मीको रोहबरमा भएको छलफलमा चिकित्सकहरूको लापरबाहीले बच्चाको अवस्था गम्भीर भएको निष्कर्ष निकालिएको अशेसरले बताए ।

मेसु डा. साहले यसबारे आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएको उनले बताए । ‘दुईदेखि तीन दिन भित्र छानबिन समिति गठन गरेर घटनामा संलग्न रही लापरबाही गरेका चिकित्सकमाथि कारबाही गरिने मेसु डा. साहबाट आश्वासन पाएको छु,’ उनले भने । 

अशेसरका अनुसार छलफलको क्रममा अस्पतालको आन्तरिक रिपोर्टिङमा समेत कमी रहेको भेटिएको थियो । दुई दिनसम्म आफ्नो निगरानीमा राखेका डा. जयसवालले आइतबारका दिन ड्युटीमा आएका चिकित्सक डा. कुर्मीले बालकको अवस्थाबारे जानकारी नगराएको कारण उपचारमा लापरबाही भएको पाइएको उनको भनाई छ । तीन दिनसम्म भर्ना रहेका बच्चाको बारेमा चिकित्सकहरूलाई जानकारी नै नभएको कारण उपचारमा लापरबाही भएको देखिएको थियो ।

अहिले नेशनल मेडिकल कलेजमा राखेर उपचार गरे पछि कृष्णा पटेलको उपचार सुधार भएको उनका बुवा अशेसर पटेलले बताए ।

Back to top