×

वीरगञ्ज । सिर्सिया नदी प्रदूषण गराउनमा सबैभन्दा धेरै वीरगञ्ज महानगरपालिका – २१ परवानीपुरस्थित अरनिको टेक्सटाइलको हात रहेको पाइएको छ । वीरगञ्ज महानगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन महाशाखाअन्तर्गतको वातावरण शाखाका प्रमुख प्रकाश ऐरीका अनुसार नदी प्रदूषण गर्ने उद्योगमध्ये अरनिको टेक्सटाइल उद्योग पहिलो नम्बरमा छ । 

पटक–पटक ताकेता गर्दा पनि अटेरका गरेका उद्योगहरूलाई वीरगञ्ज महानगरपालिकाले १५ दिनको अल्टिमेटम दिएको थियो । अल्टिमेटम पूरा भएकै दिन महानगरको टोलीले मङ्गलवार उद्योगहरूमा स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । जसमा अरनिको टेक्सटाइलले तीन वटा पोखरी बनाएको छ । पोखरी भरिएपछि पुनः नदीमै प्रदूषित पानी मिसाइएको पाइएको हुँदा ध्यानाकर्षण गराइएको उनले बताए । प्लान्ट निर्माणका लागि प्राविधिक टोलीलाई बोलाएको हुँदा केही समयभित्रै प्लान्ट बन्ने उद्योग पक्षको दाबी छ ।

त्यस्तै सिद्धि टेक्सटाइलले पनि पोखरी बनाएको छ । तर प्रभावकारी रूपमा प्लान्ट नबनाएको पाइएको अनुगमनमा सहभागी वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले बताए । उनकाअनुसार अधिकांश उद्योगले प्रविधि टोली बोलाउने र अध्ययन गर्ने काम गरिरहेका छन् । उद्योग सुरु गर्ने समयमै गर्नु पर्ने काम वीरगञ्ज महानगरपालिकाको दबाबले अहिले सुरु गरेको उनको भनाई छ ।

महानगरपालिकाले नदी प्रदूषित गर्ने उद्योगलाई कुनै पनि हालतमा छुट नदिने उनले बताए । महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा नदीलाई प्रदूषणमुक्त बनाउनका लागि महानगरपालिकाले गम्भीरतापूर्वक काम गरिरहेको प्रमुख सिंहका स्वकीय सचिव सत्यराज घिमिरेको दाबी छ ।

मारुती पेपरले पछिल्लो समय महानगरको निर्देशनलाई मान्दै नमुना काम गरेको वातावरण शाखा प्रमुख प्रकाश ऐरीले बताए । उनले भने, ‘मारुती पेपरले अहिले नमुना काम गरिरहेको छ । यो उद्योगले आफ्नै प्रशोधन केन्द्र बनाएको छ । यसले अहिले नदीमा प्रदूषित पानी मिसाएको छैन भन्दा पनि हुन्छ ।’ 

दुर्गा पेपर एन्ड पल्प उद्योगले पनि प्रशोधन केन्द्र बनाएको ऐरीले जानकारी दिए । यद्यपि पानी प्रशोधन गरे पनि उद्योगका अन्य विकार पदार्थले भने नदी प्रदूषित भइरहेको उनको भनाई छ । विकार पदार्थलाई पनि उद्योगभित्रै व्यवस्थापन गर्न निर्देशन दिइएको ऐरीले यात्रा डेलीसँग भने । 

बाराको जितपुर सिमरा उपमहानगरपालिकाभित्र पर्ने नारायणी लेदर उद्योगमा पनि टोलीले अनुगमन गरेको थियो । वीरगञ्ज महानगरपालिका, परवानीपुर गाउँपालिका र जितपुर सिमरा उपमहानगरपालिका लगायतको सम्मिलित टोली मिलाएर बनाइएको समितिअन्तर्गत रहेर उक्त उद्योगमा अनुगमन गरिएको हो । 

नारायणी लेदर उद्योगले प्रशोधन केन्द्र भए पनि प्राविधिक टोली नहुँदा सञ्चालन गर्न नसकिएको बताएको छ । त्यसका लागि प्राविधिक व्यक्ति बोलाएर काम गराउने प्रतिबद्धता जनाएको वातावरण शाखाका प्रमुख प्रकाश ऐरीले बताए । 

त्रिवेणी टेक्सटायल, मरियम लेदर लगायतका उद्योगले पनि प्राविधिक बोलाउने र प्रशोधन केन्द्र सञ्चालन गर्ने काम भइरहेको बताएका छन् । अनुगमनमा पुगेको टोलीसमक्ष उद्योगले कम्तीमा २/३ महिनाको अझै समय माग गरेका छन् । 

तिन महिनाको समय दिन महानगर तयार भए पनि उक्त अवधिभर उद्योगको प्रदूषित पानी नदीमा नमिसाएर उद्योग परिसरभित्रै व्यवस्थापन गर्नुपर्ने वातावरण निरीक्षक ऐरीले बताए । उनले भने, ‘हामीले पटक–पटक समय दिएका छौँ, ताकेता गरिरहेका छौँ । तर पनि अटेर गरेको पाइएको छ । यद्यपि केही उद्योगले काम गरिरहेका पनि छन् । त्यसैले अब महानगर कडा रूपमा प्रस्तुत हुन्छ ।’

Back to top