×

वीरगञ्ज । पर्सा सुनचाँदी व्यवसायी संघले विधान विपरित पुनः एक वर्ष कार्यकाल थप गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साकोे पत्रलाई बेवास्ता गर्दै संघले एक सूचना सार्वजनीक गर्दै एक वर्ष कार्यकाल थप गरेको जानकारी गराएको हो । 

अधिवेशन नभएपछि जिल्ला प्रशासन कार्यालय पर्साले पर्सा सुनचाँदी व्यवसायी सङ्घलाई अधिवेशन तथा साधारण सभा सम्पन्न गर्न परिपत्र गरेको थियो । २० वैशाख २०८१ मा सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीद्वारा हस्ताक्षरित परिपत्रमा एक महिना भित्र अनिवार्य रूपमा लेखा परीक्षण  गरी साधारण सभा तथा अधिवेशन गर्न आदेश दिइएको थियो । उक्त आदेशलाई अटेरी गर्दै संघले कार्यकाल थप गरेको छ । 

सङ्घका महासचिव अनिल सर्राफले सूचना जारी गर्दै एक वर्ष भित्रमा अधिवेशन र साधारण सभा गर्ने उल्लेख गरेका छन् । महासचिव सर्राफले विधान विपरित कुनै पनि कार्य नगरेको भनेर दाबी गरेपनि संघले विधानको धज्जी उडाएको छ । हरेक आर्थिक बर्षकोे १५ दिन अघि नै मिति र स्थान तोकी सूचना निकालेर साधारण सभा गर्नुपर्ने र हरहिसाव पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्ने विधानलाई संघले नजरअन्दाज गरेको छ । संघले तीन वर्षमा एकपटक पनि साधारण सभा गरेको छैन । 

उक्त सूचनामा लेखिएअनुसार पर्साबाट छनौट गरेर पठाएका प्रतिनीधि कार्यसमितिका निर्वाचीत उपाध्यक्ष, सचिव, सदस्य लाई मात्रै नभई संघका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्यहरुलाई समेत बेवास्ता गरेर व्यवसाय नै सञ्चालन नगरेका आफ्ना नजिकका व्यक्तिलाई प्रतिनीधि बनाएर संघका अध्यक्ष भुलन सर्राफ र महासचिव अनिल सर्राफले पठाएको छ । 

साथै कार्यसमितिकै सदस्यहरुलाई पनि बैठकका निर्णय लेखिएका माइनुट पढ्न नदिने र लुकाइने गरिएको आरोप पनि एक सदस्यले लगाएका छन् । यसका अलावा विधानमा तोकिएको भन्दा पनि धेरै र मनोपोली ढंगले सदस्यता शूल्क असुल गरिएको तथ्य पनि यात्रा डेलीलाई प्राप्त भएको छ । 

विभिन्न किसिमका महामारी तथा बन्द हड्ताल वा अन्य विशेष परिस्थितीमा मात्रै कार्यसमितिको बैठकबाट अनुमोदन गरेर कार्यकाल लम्ब्याउनुपर्ने व्यवस्था भएपनि व्यक्तिगत स्वार्थका लागि सूचना निकालेकै भरमा कार्यकाल थपिएको प्रति संघकै अधिकांश सदस्यहरु सन्तुष्ट छैनन् । संघको यस्तो रबैयाले कानुनी राज्यमा बिधिको शासनलाई लत्याएको स्पष्ट हुन्छ ।

Back to top