×

गर्भावस्थाका क्रममा महिलाले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ । किनकि गर्भवती महिलाले गरेको भोजन सिधै बच्चामा पनि जाने गर्छ । जसले गर्दा कुनै पनि खानेकुराको असर आमासँगै बच्चामा पनि हुने गर्छ ।

यस्तोमा धेरै गर्भवती महिला बिहानको समयमा के खाने भनेर अन्योलमा परिरहेका पनि हुन्छन् । त्यसैले आज हामीले गर्भवतीले बिहानमा केके खान सक्छन् भन्नेबारे बताउनेछौं ।

गर्भवती महिलाले बिहानको खानामा प्रोटिन अवश्य लिनु पर्दछ । अन्डा, दाल आदिको सेवनले शिशुको शारीरिक तथा मानसिक विकास पनि राम्रोसँग हुन्छ ।

फलहरुमा क्याल्सियम, फाइबर, आइरन, भिटामिन ए, सी, बी, जस्ता गुण हुन्छन् । त्यसैले दैनिक रुपमा बिहान एउटा फल खाँदा गर्भवती तथा पेटमा हुर्किरहेको शिशुका लागि पनि एकदमै फाइदाजनक हुन्छ । अमिलो फल भने बिहानको समयमा सेवन नगर्नु राम्रो हुन्छ ।

गर्भावस्थाको क्रममा बिहान ओखर, बदाम, काजु, मुंगफली आदि सेवन गर्नु पनि फाइदाजनक हुन्छ । यसले तपाईंलाई दिनभर ऊर्जावान बनाउँछ । यी सबै खाले नट्सहरुलाई साँझ सुत्नुअघि भिजाउनुहोस् र बिहान यसको सेवन गर्दा बढि फाइदा पाउन सकिन्छ ।

दुध तथा दुधबाट बनेका परिकारमा प्रोटिन प्रचुर मात्रामा पाइन्छ । दुध, दही, पनीर, मही, घ्यू, आदि पनि बिहानमा सेवन गर्न सकिन्छ ।

बिहानको समयमा फाइबरले भरिपूर्ण अनाजको सेवन गर्नु पनि गर्भवतीका लागि राम्रो मानिन्छ । यसका लागि कोदो, फापर, ओट्स, दलिया आदिको सेवन गर्न सकिन्छ । यसले पाचन प्रणाली पनि राम्रो बनाउँछ ।

कुनै पनि खानपान अपनाउनुअघि आफ्नो डाक्टरसँग सल्लाह पनि अवश्य लिनुहोला । यी सबै खानपान पनि विभिन्न स्वास्थ्य समस्यामा फरक पर्न सक्छन् । जसले गर्दा तपाईंलाई फाइदा हुनुको ठाउँमा बेफाइदा पनि गर्न सक्छ ।  त्यसैले आवश्यक स्वास्थ्य तथा डाक्टरको सल्लाह अनुसार नै खानपानमा ध्यान दिनु पर्दछ ।

Back to top