×

नयाँ दिल्ली । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको  जानकारी दिएको हो ।

रामदेव, आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध पनि लागूऔषध तथा जादुई उपचार ऐन उल्लङ्घन गरेको भन्दै आपराधिक उजुरी परेको छ । लाइसेन्स रद्द भएका उत्पादनहरूमा स्वसरी गोल्ड, स्वसरी वाटी, ब्रोन्कोम, स्वासरी प्रवाही, स्वसरी अवलेह, मुक्तवती एक्स्ट्रा पावर, लिपिडम, बीपी ग्रिट, मधुग्रित, मधुनाशिनी वती एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट, आईग्रिट गोल्ड र पतञ्जलि डा. आँखा ड्रपहरू समावेश छन् ।

उत्तराखण्ड सरकारले सर्वोच्च अदालतमा दिएको शपथ पत्रमा यस्तो जवाफ दिएको हो । सर्वोच्च अदालतमा रामदेव र पतञ्जलिका प्रबन्ध निर्देशक बालकृष्णविरुद्ध अदालतको आदेशको अवहेलना गरेको मुद्दाको सुनुवाइ भइरहेको अवस्थामा राज्य सरकारको यो कदम आएको हो ।

सर्वोच्चको आदेशपछि पतञ्जलिले केही दिन अघि मात्र बिना सर्त माफी मागेको विज्ञापन विभिन्न पत्रिकामा छपाएको थियो । कोभिड खोप अभियान र औषधिको आधुनिक प्रणालीको मानहानिको आरोप लगाउँदै सर्वोच्च अदालतले भारतीय चिकित्सा सङ्घ (आईएमए) द्वारा २०२२ को याचिकाको सुनुवाइ गर्दै छ ।

पतञ्जलिसँग सम्बन्धित दिव्या फार्मेसीविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । यी विज्ञापनहरूले रक्तचाप, थाइराइड, कलेजो, छालालगायतका रोगको पूर्ण निको हुने दाबी गर्नुका साथै आधुनिक चिकित्सा विज्ञानको पनि आलोचना गरेका छन् ।

यस मामिलामा रामदेव र बालकृष्ण दुवैले अदालतमा बिना सर्त माफी मागेका छन् ।

Back to top