×

फाइल तस्बिर ।

वीरगञ्ज । मधेस प्रदेशसहित तराईका विभिन्न भूभागमा अझै ५ दिनसम्म तातो हावा चल्ने भएको छ ।

आज आइतबारदेखि वैशाख २० गतेसम्म तातो लहर चल्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मधेस, लुम्बिनीसहितका अधिकांश जिल्लामा केही दिनअघि बाटै ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम मापन गरिएको र यो तापक्रम अझै केही दिन नघट्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा भैरहवामा सर्वाधिक ४२.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यस्तै दोस्रो स्थानमा नेपालगञ्जमा ४०.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दाङको घोराही, भैरहवा, विराटनगरमा तातो हावा चल्ने प्रक्षेपण गरिएको छ । महाशाखाका अनुसार तराई मात्रै नभएर पहाडी जिल्लाका खोँच तथा उपत्यकामा पनि तापक्रम बढ्ने अनुमान छ । दोलखाको जिरीमा पनि तातो हावा चल्न सक्ने महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले शनिवार ३८ डिग्रीभन्दा तल अधिकतम मापन गरिएका मधेसका पर्सा, सिराहा, सप्तरीलगायत जिल्लामा आज तापक्रम अझ बढ्न सक्ने देखिएको बताए ।

‘मधेस र पूर्वी तराईका केही जिल्लामा हिजो (शनिवार) बादल लागेको थियो । आज बादल हटेर तापक्रम बढ्ने देखिन्छ’, उनले भने, ‘अझै केही दिन तापक्रम घट्ने त्यस्तो सङ्केत देखिएको छैन ।’

Back to top