×

वीरगञ्ज । पर्सामा १३ वर्षकी एक दलित बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । पर्साको कालिकामाई गाउँपालिका – ३ हरिहरपुर बिर्ताकी १३ वर्षीय बालिकालाई उनकै छिमेकका ५० वर्षीय बनारसी महतो केवटले वैशाख २२ गते शनिवार राति बलात्कार गरेको घटना शनिवार सार्वजनिक भएको हो ।

वैशाख २२ गते राति साढे ११ बजे तरी आफ्नै आँगणमा रहेको चापाकलमा पानी लिन घरबाट बाहिर निस्किएका बेला छिमेकका केवटले मुख थुनेर बाँस घारीमा लगेर नशालु पदार्थ सुँघाएर बेहोस बनाई बलात्कार गरेको पीडित भनिएकी बालिकाले बताइन् ।

पीडित भनिएकी बालिकाका बुबाका अनुसार, वैशाख २२ गते पानी लिन घरबाहिर निस्किएकी ती बालिकालाई छिमेकका महिलाहरूले वैशाख २३ गते बिहान आइतबार झिसमिसेमा बाँस घारीमा अचेत अवस्थामा देखेर खबर गरेका थिए । उक्त खबर पाएर बाँस घारीमा पुग्दा आफ्नी छोरी अर्धनग्न अवस्थामा अचेत फेला परेको पीडित भनिएकी बालिकाका बुबाले बताए । त्यसपछि घरमा ल्याएर घरेलु उपचार गरेको र होस खुलेपछि रुँदै छोरीले आफूसँग केवटले गरेको दुष्कर्मका बारेमा सविस्तार बताएको उनले जानकारी दिए ।

पीडित भनिएकी बालिकाकाले आफ्नो बुबालाई बताए अनुसार, राति पानी लिन आँगनको चापाकलमा गएका बेला पछाडिबाट आएका केवटले मुख थुनेर बाँस घारीमा लगेका थिए । बाँस घारीमा पुर्‍याएपछि केवटले बालिकाको हात र खुट्टा आफ्नो गम्छाले बाँधेर मुखमा रुमाल कोचेर करणी गर्न खोज्दा बालिकाले चिच्याएर प्रतिवाद पनि गरेकी थिइन् । त्यसपछि केवटले खल्तीबाट नशालु पर्दा निकालेर बालिकाको नाकमा सुँघाएर बेहोस बनाएका थिए ।

घटनाबारे आरोपित केवटको घरमा वैशाख २३ गते बिहान आफूहरू पुगेर सोधी खोजी गर्दा केवटले आफूले बलात्कार गरेको स्वीकार गर्दै एक लाख रुपैयाँ लिएर चुपचाप बस्न धम्की पनि दिएको पीडित भनिएकी बालिकाका बुबाले बताए । उनले भने, ‘केवटले तिमीहरू सानो जातका हौँ केही गर्न सक्दैनौ मलाई । मेरो पहुँच ठुलाबडा नेताहरूसँग छ । त्यसैले यदि मेरो कुरा मानेनौँ भने तिम्रो छोरीलाई भारतमा लगेर बेचिदिन्छु । अनि तिमीलाई पनि मारेर फालिदिन्छु भनेर धम्क्याए ।’

आरोपित केवट पहिल्यैदेखि आपराधिक गतिविधिमा संलग्न व्यक्ति भएको र अपहरण तथा ज्यान मार्ने मुद्दामा १० वर्ष जेल सजाय काटेर छुटेका व्यक्ति पनि भएका कारण उनको डर र लोक लाजका कारणले पनि एक दुई दिन घटना लुकाएर राखेको पीडित भनिएकी बालिकाका बुबाले बताए । तर आरोपित केवटबाट लगातार धम्की आउन थालेपछि गत मङ्गलवार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दरखास्त लिएर पुगेको भए पनि प्रहरीले हालसम्म जाहेरी दर्ता नै नगरेको दुखेसो पनि उनले सुनाए । 

उनले भने, ‘अपराधी अहिलेसम्म पक्राउ पनि परेको छैन । यता प्रहरीकोमा चार दिनदेखि सधैँ धाइरहेको छु तर प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरिरहेको छ ।’ उनले प्रहरीले जाहेरी दर्ता गर्नु पर्ने र आफ्नी छोरीसँग दुष्कर्म गरेका केवटलाई तत्कालै पक्राउ गरेर कारबाही गर्नुपर्ने बताए । 

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले भने पीडित भनिएकी बालिका र जाहेरी लिएर आउने उनका बुबाको बयान फरक परेकाले प्रहरीले जाहेरी दर्ता नगरेको बताए । स्वास्थ्य परीक्षणका लागि बालिकालाई शुक्रवार नारायणी अस्पतालमा पठाएको भन्दै उनले भने, ‘परीक्षण रिपोर्ट आएपछि मात्रै त्यसको आधारमा प्रहरीले जाहेरी दर्ता गर्छ ।’

आरोपित भनिएका केवट भने घटना भएकै समयदेखि घर छाडेर फरार रहेको उनले बताए । फरार रहेका उनको प्रहरीले खोजी गरिरहेको डिएसपी थापाले बताए ।

Back to top