×

वीरगञ्ज । वीरगञ्जमा आजदेखि राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । नेपाल बुद्धिचाल महासङ्घ, पर्सा जिल्ला बुद्धिचाल सङ्घ र मुनलाइट स्कुलको मुख्य आयोजना र नेशनल इन्फोटेक कलेजको सह-आयोजनामा आजदेखि प्रतियोगिता सुरु भएको हो । 

पर्सा जिल्ला बुद्धिचाल संघका अध्यक्ष अजय कुर्मीको अध्यक्षतामा भएको मुनलाइट यूथ एन्ड क्याडेट नेशनल चेस च्याम्पियनसिपको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले गरेका हुन् । १२ गते बुधवारसम्म चल्ने प्रतियोगिताको उद्घाटन गर्दै एसपी ढुङ्गेलले सहभागीहरूलाई शुभकामना दिएका छन् । बुद्धिचाल प्रतियोगिताले बुद्धिको विकास गर्ने र नयाँ कुराको सोचमा सघाउ पुग्ने उनको भनाई छ । वीरगञ्जमा राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता आयोजना हुनु गर्वको विषय भएको उनले बताए । 

कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय सदस्य छेडुप लामा, मुटुरोग विशेषज्ञ डा. अच्युतलाल कर्ण, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौंगाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै चेस खेलका गतिविधि बढाउनुपर्नेमा जोड दिए । 

प्रतियोगीताका चिफ आर्बिटर एवम् नेपाल बुद्धिचाल महासङ्घका पूर्व केन्द्रीय सदस्य राम किशोर सिंह परागले प्रतियोगिताको प्रक्रियाका बारेमा प्रकाश पारेका थिए । वीरगञ्ज लगायतका अन्य ठाउँबाट आएका ननरेटेड खेलाडीलाई रेटेड खेलाडीसँग खेलेर रेटेड खेलाडी बन्ने अवसर पनि यस प्रतियोगिताले प्रदान गर्ने परागको भनाई छ । 

टुर्नामेन्ट निर्देशक सुलभ केसीले स्वागत मन्तव्य राख्दै प्रतियोगिता आयोजना गर्नुको उद्देश्यका बारेमा अवगत गराए । उनकाअनुसार राष्ट्रिय स्तरका चेस खेलाडी उत्पादन गर्नुका साथै चेस खेलतर्फ आकर्षित गर्ने अभिप्रायले प्रतियोगिताको आयोजना गरिएको हो । बुद्धिचालप्रति अभिरुचि जागृत गराउनुका साथै कुशल बुद्धिचाल खेलाडी उत्पादन गर्न प्रतियोगिताले सघाउ पुग्ने उनको विश्वास छ । 

प्रतियोगितामा देशभरबाट ६१ जना छात्र र १४ जना छात्राले सहभागिता जनाएका छन् । सहभागीलाई ३ वटा उमेर समूहमा विभाजन गरिएको छ । १० वर्ष मुनी, १४ वर्ष मुनी र १८ वर्ष मुनीको उमेर समूहको आधारमा प्रतियोगिता सञ्चालन भइरहेको चिफ आर्बिटर परागले बताए । १० वर्ष मुनिको खेलमा १०  जना सहभागी छन् । १४ वर्ष मुनीको खेलमा २९ जना सहभागी छन् भने १८ वर्ष मुनीको खेलमा २२ जनाले भाग लिएका छन् । छात्रातर्फ १४ जना प्रतिस्पर्धी छन् । 

उमेर समूहका विजेताहरूले आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन यूथ चेस च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । समूहगत विजेतालाई ट्रफी, मेडल र डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ । सहभागीहरूलाई ३ दिनसम्म खाना तथा बस्नको व्यवस्था पनि आयोजकले नै गरेको छ । 

वीरगञ्ज महानगरपालिका, प्याब्सन पर्सा, प्याब्सन वीरगञ्ज, वीरगञ्ज युवा समाज, एम्स इन्सिच्युट, क्वेष्ट फर्मा, टेराबाईट सफ्टवेयर, ब्युटिफुल स्माईल डेनटल लगायतका सङ्घ संस्थाले प्रतियोगितामा सहयोग गरेका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । 

कार्यक्रमको उद्घाटन सत्रमा नेपाल बुद्धिचाल महासङ्घकी केन्द्रीय सदस्य सुशीला गुरुङ, पूर्व नेशनल च्याम्पियन आर्विटर मनोज श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, वीरगञ्ज युवा समाजका अध्यक्ष सञ्जीव थापा, खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव लगायतको उपस्थिति रहेको थियो । 

आयोजक मुनलाइट स्कुलका संस्थापक प्रधानाध्यापक श्याम केसीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी उज्ज्वल शर्माले गरेका थिए । यसअघि गत वर्ष पुसमा पनि वीरगञ्जको मुनलाइट माविले वृहत् स्तरको बुद्धिचाल प्रतियोगिता आयोजना गरेको थियो ।

Back to top