×

वीरगञ्ज । नेपाल राष्ट्र बैङ्क लिमिटेडको ६९ औँ वार्षिक उत्सवको अवसरमा आयोजित टी–१० क्रिकेट लिग प्रतियोगितामा नेपाल मेडिकल एसोसिएसन पर्साले नेपाल पत्रकार महासङ्घ पर्सालाई फराकिलो रन अन्तरले हराएको छ ।

टी–१० क्रिकेट लिग प्रतियोगिताअन्तर्गतको मङ्गलवार भएको तेस्रो खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले नेपाल पत्रकार महासङ्घ पर्सालाई ६१ रनले हराएको हो । वीरगञ्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा १०७ रनको लक्ष्य पाएको पत्रकारले ९ ओभर ४ बलमा अलआउट हुँदै ४५ रन मात्र बनाएपछि नेपाल मेडिकल एसोसिएसन पर्साले ६१ रनले जितेको हो ।

यसअघि खेलमा पहिले ब्याटिङ गरेको नेपाल मेडिकल एसोसिएसन पर्साले १० ओभरमा ८ विकेटको क्षतिमा १०६ रन बनाएको थियो । अहिलेसम्म जिल्लामा भएको विभिन्न प्रतियोगितामा जित्दै इतिहास राखेको नेपाल पत्रकार महासङ्घ पर्साले नेपाल मेडिकल एसोसिएसन पर्सासँग पहिलो पटक हार व्यहोर्नु परेको हो ।

खेलको प्लेयर अफ दि म्याच नेपाल मेडिकल एसोसिएसन पर्साका खेलाडी डा. नदिम हुसेन घोषित भए । उनलाई नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. उदयनारायण सिंहले शिल्ड प्रदान गरेका थिए ।

यसै गरी, टी–१० क्रिकेट लिग प्रतियोगिताअन्तर्गत मङ्गलवार भएको दोस्रो खेलमा वीरगञ्ज बैंकर्स ग्रुपले आयोजक नेपाल राष्ट्र बैंकलाई हराएको छ । नेपाल राष्ट्र बैंकलाई वीरगञ्ज बैंकर्स ग्रुपले ९ विकेटले हराएको हो ।

वीरगञ्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा ८० रनको लक्ष्य पाएको बैंकर्स ग्रुपले ८ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि नेपाल राष्ट्र बैङ्क ९ विकेटले पराजित हुन पुगेको हो । यसअघि खेलमा पहिले ब्याटिङ गरेको आयोजक नेपाल राष्ट्र बैंकले निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा ७९ रन बनाएको थियो ।

नेपाल राष्ट्र बैङ्क वीरगञ्ज कार्यालयको आयोजनामा सोमबारबाट सुरु भएको टी–१० क्रिकेट लिग प्रतियोगिता वैशाख ५ गतेसम्म चल्ने नेपाल राष्ट्र बैङ्क वीरगञ्ज कार्यालयका सहायक निर्देशक नरेशकुमार सरार्फले जानकारी दिए । प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैङ्क, नेपाल पत्रकार महासङ्घ पर्सा, वीरगञ्ज बैंकर्स ग्रुप, नेपाल मेडिकल एसोसिएसन पर्सा, वीरगञ्ज महानगरपालिका कार्यालय र नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगञ्ज सहभागी भएको उनले बताए ।

Back to top