×

वीरगञ्ज । बाराको सिमरामा आयोजित १४ ओं जगदम्बा जीतपुरसिमरा गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

सिमरा रङ्गशालामा सोमबार राति भएको फाइनल खेलमा मच्छिन्द्र क्लबलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै पुलिस क्लबले उपाधि उचालेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटेको समयमा पनि दुवै टिमले गोल रहित बराबरी खेलेपछि खेलको नतिजा टाईब्रकेरबाट निकालिएको थियो ।

पहिलो पटक जीतपुसिमरा गोल्डकपको उपाधि उचालेको नेपाल पुलिस क्लबले नगद १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता मछिन्द्रले भने ५ लाख रुपैयाँमै चित्त बुझाउनु पर्‍यो ।

प्रतियोगिताको समापन समारोहमा बारा क्षेत्र नम्बर ४ का सांसद कृष्ण कुमार श्रेष्ठ किसानले उपाधि विजेता पुलिस क्लबका खेलाडीलाई नगद पुरस्कार, ट्रफी प्रदान गरे भने उपविजेता मछिन्द्र क्लबका खेलाडीलाई नायक राजेश हमालले नगद पुरस्कार र मेडल वितरण गरे ।

नव जनजागृति युवा क्लब सिमराले आयोजना गरेको प्रतियोगितामा १० टिमले भाग लिएका थिए ।

Back to top