×

काठमाडौँ । नाटक ‘यौटा सपनाको अवसान’ ओटीटी कान्तिपुर सिनेमाजमा स्ट्रीमिङ सुरु भएको छ । अनुप बराल निर्देशित ‘यौटा सपनाको अवसान’ लाई प्ले सिरिजका रुपमा प्रोडक्सन गरेर कान्तिपुर सिनेमाजमा स्ट्रीमिङ गर्न लागिएको हो । २०७९ को चैत्र १० बाट एक महिनासम्म मन्चन भएको नाटकलाई दर्शक र सेलेब्रीटीले असाध्यै रुचाएका थिए । 

सोहि अत्याधिक रुचाइएको नाटक कान्तिपुर सिनेमाजमा प्ले सिरिजका रुपमा स्ट्रीमिङ हुँदा दर्शकले नयाँ स्वादको कन्टेन्ट हेर्न पाउने ओटीटीका प्रमुख कार्यकारी अधिकृत सिइओ प्रकाश पुरीको विश्वास छ । नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट स्ट्रीमिङ सुरु भएको प्ले सिरिजमा रोय दीप श्रेष्ठ, दीया मास्के, मेनुका प्रधान, दिव्य देव, विकास जोशी, जीवन गौतम, अभिषेक खड्का, अविरल प्रताप अधिकारि, संदेश शाक्य, सूर्यमान लिम्बु, निकिता आचार्य र शेखर चापागाईंको अभिनय रहेको छ । 

थिएटरमा सिमित दर्शकले मात्र हेर्न पाएको नाटक, प्ले सिरिजका रुपमा ओटीटीबाट स्ट्रीमिङ हुँदा विश्वभरीका दर्शकले सजिलै घर बसी बसी हेर्न सक्नेछन् । यो सिरिज हेर्नका लागि कान्तिपुर सिनेमाजको एप डाउनलोड गरेर सब्सक्राइब गर्नुपर्नेछ । सब्सक्राईब गर्नका लागि महिनाको २९९ रुपैयाँ लाग्नेछ । एउटा सब्सक्रिप्सन २ ओटा स्क्रिनका लागि मान्य हुनेछ । २९९ तिरेपछि कान्तिपुर सिनेमाजका अन्य सिनेमा, सर्ट फिल्म र सिरिजहरु पनि हेर्न सकिनेछ । 

नयाँ वर्षसँगै नयाँ नयाँ सिरिज, फिल्म र सर्ट फिल्महरु पनि स्ट्रीमिङ गर्ने तयारी कान्तिपुर सिनेमाजको छ । सिरिज व्रह्मान्ड र मिस स्कार्लेट पनि बैशाख महिनामै स्ट्रीमिङ हुने भनिएको छ ।
 

Back to top