×

वीरगञ्ज । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि चीनका राजदूत छन सोङले बुधबार भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा मन्त्री लामिछानेले चीनले गरेको आर्थिक वृद्धि, रोजगारी सिर्जना, प्रविधिको उपयोग र गरिबी निवारणबाट नेपालले सिक्नुपर्ने भन्दै नेपालको विकाससहित विपद्का बेला चीनले गर्दै आएको सहयोग अविष्मरणीय रहेको र त्यसले निरन्तरता पाउने अपेक्षा राखे ।

मन्त्री लामिछानेले सुरक्षा प्रणालीको सुधार, अध्यागमन प्रणालीको आधुनिकीकरण र प्रविधिकीकरण, विपद् व्यवस्थापन, सीमा व्यवस्थापनका साथै व्यापार प्रवद्र्धन र पर्यटन क्षेत्रमा थप सहयोग र सहकार्य आवश्यक रहेको औँल्याए । उहाँले चीनका केही सहरबाट भैरहवा र पोखरामा सीधा हवाई उडानको अपेक्षा राख्दा राजदूतले अधिकतम प्रयास भइरहेको जानकारी दिए ।

सो क्रममा नेपालको बृहत्तर हितका लागि सधैँ सहकार्य हुने भन्दै राजदूत सोङले सीमा व्यवस्थापनका लागि मन्त्रालयस्तरीय समन्वय र सहकार्य बढाउन आवश्यक रहेको औँल्याए । 

उनले कानुन कार्यान्वयन गराउने सरकारी निकायको क्षमता विकास र विस्तारसहित प्रहरीका लागि आवश्यक सवारी साधनको व्यवस्थापन, त्रिभुवन विमानस्थलसहित अन्य अध्यागमन कार्यालयको सुदृढीकरण र प्रणालीको सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटका क्रममा चिनियाँ राजदूतले समकक्षी वाङ छियाहङका तर्फबाट गृहमन्त्री लामिछानेलाई चीन भ्रमणको निमन्त्रण दिएका थिए ।  

यसैबिच आजै उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेसँग नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हस्मीले पनि भेटवार्ता गर्नुभएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

राजदूत अब्रारले नेपाल र पाकिस्तानबीच अपराध नियन्त्रणसम्बन्धी सम्झौता हुन बाँकी रहेका समझदारी–पत्र उपर छलफल गर्न र पाकिस्तानबाट क्रिकेटसहितका खेलकुदमा क्लबस्तरमा समन्वय र सहकार्य गरी नागरिकस्तरसम्म थप असल सम्बन्ध स्थापित गराउनुपर्नेमा जोड दिएका थिए ।

सो क्रममा गृहमन्त्री लामिछानेले भर्खर सम्पन्न निर्वाचनले स्थायी सरकार र शान्ति स्थापनामा उल्लेख्य योगदान गर्ने विषयमा आफू विश्वस्त रहेको बताउँदै पाकिस्तानी जनताप्रति शुभेच्छा व्यक्त गर्नुभएको गरेका थिए ।,

Back to top