×

वीरगञ्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । शिक्षा बिकास तथा समन्वय एकाई पर्साले चैत्र १५ गते (भोली) देखि हुन लागेको परीक्षाको तयारी पूरा भएको जनाएको हो ।

बिहिबारदेखि सुरु हुने एसईई परीक्षा चैत्र २७ गते मंगलबारसम्म सञ्चालन रहने कार्यतालिका छ । शिक्षा विकास तथा समन्वय एकाई पर्साका परीक्षा सहायक गोपाल साहका अनुसार जिल्लाबाट यसवर्ष १० हजार २५३ परीक्षार्थीले एसईई परीक्षामा भाग लिइरहेका छन् ।

नियमिततर्फ ९ हजार ५२५, प्राविधिकधारतर्फ १८५ र ग्रेडवृद्धितर्फ ५४३ जना परिक्षार्थी भाग लिइरहेको उनले बताए । परिक्षार्थीहरुमध्ये साधारणतर्फ ७ वटा विषय र प्राविधिकधारतर्फ १० वटा विषयको परीक्षा दिने उनले बताए ।

यो वर्ष पर्सा जिल्लामा २६ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाई समितिले जनाएको छ । वीरगञ्ज महानगरपालिकाभित्र १४ वटा विद्यालय र वीरगञ्ज बाहिर १२ वटा विद्यालय गरी जम्मा २६ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाई पर्साका परीक्षा सहायक साह बताउँछन् ।

कहाँ कहाँ तोकिएको छ त परीक्षा केन्द्रहरु ?

एसईई परीक्षाका लागि वीरगञ्ज महानगरपालिका अन्र्तगत त्रिजुद्ध मावि, कन्या मावि, त्रिभुवन हनु्मान मावि, नेरा मावि नगवा, माइस्थान विद्यापिठ मावि र पन्नालाल मावि, नेपाल रेल्वे मावि, सुरजीदेवि मावि, नेरा मावि श्रीपूर, सिद्धार्थ मावि, नृसिंह मावि पिपरामठ, दारदेवि मावि अलौँ, नेरा मावि सोलखपुर र अल्पाइन मावि श्रीपुरमा केन्द्र तोकिएको छ ।

यस्तै पर्सागढी नगरपालिकाको नेरा मावि बर्वा छटौली, नेरा मावि बडेर्वा, औराहा पचँगावाको दिप नारायण मावि, राधा कृष्ण चौरसिया मावि बहुअर्वा भाठ्ठा, जगरनाथपुरको नेरा मावि मसिहानी, पोखरीयाको जिल्ला उच्चांगल मावि, पकाहामैनपुरको रामचरित्र भगत मावि, छिपहरमाईको मंगल मावि भिस्वा, जिराभवानी वितो महतो जनता मावि जितपुर, नेरा मावि निचुँटा, श्री मावि विजयवस्ती ठोरी, बहुदरमाई देव नन्दन देवराज मावि रामनगरी गरी २६ विद्यालयमा केन्द्र तोकिएको परीक्षा सहायक साहले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डबाट आएको प्रश्नपत्रहरु जिल्ला प्रहरी कार्यालय पर्सामार्फत सम्बन्धित परीक्षा केन्द्रमा वितरण सुरु गरिएको बताइएको छ ।जिल्ला अन्र्तगतका २६ केन्द्रहरुका लागि १५ वटा प्रहरी चौकीहरुमार्फत प्रश्नपत्रहरु सम्बन्धित केन्द्रमा पठाइएको उनले बताए । प्रहरी कार्यालयमार्फत पठाइएका प्रश्नपत्रहरू परीक्षा सुरु हुनुपूर्व केही समय अघि मात्रै सम्बन्धित परीक्षा केन्द्रमा पठाइने छन् ।

प्रश्नपत्र बोर्डले पठाउने गरेको छ भने उत्तरपुस्तिका प्रदेश सरकारले पठाउने गरेको हो । एसईई परीक्षाका लागि पर्सा जिल्लाका केन्द्रहरुमा २६ जना केन्द्राध्यक्ष र ५२ जना सहायक केन्द्राध्यक्ष तोकिएका छन् । पास हुन परीक्षार्थीहरुले अनिवार्य रुपले ३५ प्रतिशत ल्याउनुपर्ने हुन्छ । एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।

Back to top