×

अफगानिस्तानमा फेरी अबैध सबन्ध राख्ने महिलालाई ढुंगाले हानेर मारिने नियम बनाइएको छ । तालिवान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले महिलाविरुद्ध नयाँ आदेश जारी गर्दै अबैध सबन्ध राख्ने महिलाइ सार्बजनिक स्थलमा ढुंगाले हानेर मारिने नियम ल्याएका हुन् ।

उनका अनुसार कुनै पनि महिला व्यभिचार गरेको अर्थात् आफ्नो पतिबाहेक अरूसँग यौनसम्बन्ध राखेको दोषी पाइएमा ढुङ्गाले हानेर मारिने छ।

एक अडियो सन्देशमा अखन्दजादाले पश्चिमी देशहरूको लोकतन्त्रलाई चुनौती दिदैँ  इस्लामिक कानून शरियालाई कडाइका साथ लागू गर्न आदेशसमेत दिएका छन । उनले भने, ‘ढुङ्गाले हानेर मार्दा महिलाको अधिकार हनन हो भनी तिमी भन्छौ तर छिट्टै यो सजाय व्यभिचारमा लागु हुनेछ । दोषी महिलाहरूलाई सार्वजनिक रूपमा कोर्रा र ढुङ्गाले हिर्काइने छ ।’

अखुन्दजादाले भने, ‘के महिलाहरूले पश्चिमा देशहरूको कुरा गरिरहेका अधिकार चाहन्छन् ? त्यस्ता सबै अधिकारहरू शरिया र धर्मगुरुहरूका राय विरुद्ध छन्। पश्चिमा लोकतन्त्रलाई उखालेर फाल्ने उही धर्मगुरुहरू हुन् । हामीले पश्चिमाहरू विरुद्ध २० वर्ष लड्यौं र आवश्यक परे आगामी २० वर्षसम्म लड्नेछौं ।’

तालिबान नेताले अगाडी यो पनि भने कि, ‘हामीले काबुललाई पुनः कब्जा गरेर मात्रै हाम्रो काम सकिएको छैन, हामी चुपचाप बसेर चिया पिउने छैनौं। हामी अफगानिस्तानमा शरिया फिर्ता गर्नेछौं।’

अफगानिस्तानमा सत्तामा आएपछि तालिबानले महिला अधिकार हनन नगर्ने आश्वासन दिएको थियो । यति हुँदाहुँदै पनि त्यहाँ उनीहरुको अधिकार निरन्तर कुण्ठित भइरहेको छ । पहिलो, किशोरीहरूको माध्यमिक र उच्च विद्यालय शिक्षामा प्रतिबन्ध लगाइयो भने त्यसपछि उनीहरूलाइ विश्वविद्यालय शिक्षा हासिल गर्न रोकिएको छ ।

अधिकांश कामबाट महिलाहरूलाई हटाइयो वा तिनीहरूको ठाउँमा आफ्नै परिवारका एकजना पुरुषलाई नियुक्त गरिएको छ भने अफगानिस्तानमा ब्यूटी पार्लर जाने र खेलकुद खेल्ने जस्ता महिलाहरूको धेरैजसो गतिविधिमा प्रतिबन्ध लगाइएको छ।

Back to top