×

वीरगञ्ज । धनुषामा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका – ४ खुट्टापिपराका २५ वर्षीय रामबाबु साह रहेको धनुषाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जन अवाले जानकारी दिए ।

डिएसपी अवाका अनुसार मङ्गलवार बिहान सवा ६ बजेतिर जनकपुर–ढल्केवर सडक खण्डमा ढल्केवतर तर्फ जाँदै गरेको लक्ष्मीनियामा जनकपुर तर्फबाट जाँदै गरेको प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बी.एल.१२ सी ०९४४ भारतीय नम्बर प्लेटको कारले पछाडिबाट ठक्कर दिँदा साह गम्भीर घाइते भएका थिए । साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको हो ।

साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । दुर्घटना लगतै कार चालक फरार भएको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Back to top