×

वीरगञ्ज ।  धान र घरेलु मदिरा तस्करी गरिरहेको अवस्थामा ट्रक र ट्र्याक्टरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ८ सय १० लिटर घरेलु मदिरा र ११ लाख ८० हजार रुपैयाँ बराबरको धानसहित उनीहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सवारी साधन जाँच गर्ने क्रममा बिन्दवासिनी गाउँपालिका ४ स्थित सडक खण्डबाट ना ४ त २५७२ नम्बरको ट्र्याक्टरबाट ६ हजार किलो धान बरामद गरेको हो । ट्र्याक्टर चालक पर्साकाे पकाहामैनपुर गाउँपालिका १ का ४५ वर्षीय विनोदकुमार महतो पक्राउ परेका छन् ।

त्यसैगरी, वीरगञ्ज महानगरपालिका २१ हनुमान मन्दिरस्थित सडक खण्डबाट हेटौंडाबाट आउँदै गरेको ना ७ ख ७९७७ नम्बरको मालबाहक ट्रकबाट ८ सय १० लिटर अवैध घरेलु मदिरा बरामद भएको छ । ट्रक चालक बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका १६ का ३५ वर्षीय राजु यादव पक्राउ परेका छन् ।

ट्र्याक्टर चालक महतोलाई वीरगन्ज भन्सार कार्यालयमा र ट्रक चालक यादवलाई आन्तरिक राजस्व कार्यालय वीरगञ्जको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

Back to top