×

वीरगञ्ज । संघीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रदेश सरकारको नेतृत्वको भागबण्डा मिलाएका छन् । प्रदेश सरकारको नेतृत्व भागबण्डामा सत्तारुढ दलहरुबीच सहमति जुटेको उच्चस्रोतले जनाएका छन् ।

नेपाली कांग्रेसको नेतृत्व रहेको प्रदेशहरु नेकपा एमालेले पाउने भएको छ ।एमालेले कोशी प्रदेश सरकारको नेतृत्वलाई अनिवार्य गरेको छ ।कोशी प्रदेश सहित तीनवटा प्रदेशको नेतृत्व एमालेले मागेको छ ।त्यसमा सहमति जुटेको स्रोतले बताएका छन् ।

जनता समाजवादी पार्टी(जसपा)ले मधेश प्रदेशको नेतृत्व पाउने छ ।जसपालाई अन्य प्रदेशमा नेतृत्व गर्ने संख्या नरहेकोले मधेश प्रदेश नै दिनेमा नेताहरु सहमत भएको स्रोतले जनाएका छन् ।जसपाका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनमा सहभागी हुँदा नै मधेश प्रदेशको नेतृत्वलाई ‘बटमलाईन’ बनाएका थिए ।

स्रोतहरुका अनुसार माओवादी केन्द्रले दुई वटा र नेकपा एसले एउटा प्रदेशको नेतृत्व लिने सहमति भएको छ ।सरकारमा ढिला गएको एसले एउटा प्रदेशमा अनिवार्य रुपमा नेतृत्व पाउनु पर्ने दाबी गरेका थिए । एसका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन एउटा प्रदेशको नेतृत्व दिन लागेको स्रोतले जनाएका छन् ।

उपनिर्वाचनमा बझांग जिल्लामा प्रदेश सभासदस्यमा उम्मेदवार उठाउने बताएपछि प्रदेश सरकारको नेतृत्व दिन लागिएको हो ।एमालेका उम्मेदवारलाई एसले नसघाए चुनाव जित्न मुश्किल हुन सक्छ ।हुनत कांग्रेसले अझै उम्मेदवारको विषयमा निर्णय गरिसकेको छैन् । उपनिर्वाचनको क्रममा इलाम र बझांगमा एमालेले उम्मेदवार घोषणा गरिसकेको छ ।तर नेपालले बझांगमा कोटा पाउनु पर्ने अडान लिएका छन् ।

नेपालले उम्मेदवार उठाउने अडान नछाडेपछि एमाले अध्यक्ष केपी शर्मा ओली पछि हट्ने अवस्था नरहेको शीर्ष नेताहरुको बैठकमा प्रष्ट गरेका छन् । बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सहभागिता थियो ।

सत्तागठबन्धनका साझेदार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भने बोलाइएको थिएन् । प्रदेशमा चुनाव नलडेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले चासो नलिएको कारण बैठकमा सहभागी गराइएको थिएन् ।तर रास्वपाले इलाममा उम्मेदवारी दिने घोषणा गरिसकेको छ । तीन नेताबीच प्रदेश सरकारको नेतृत्व विषयमा सहमति जुटेपछि जसपा अध्यक्ष यादवलाई समेत राखेर अब बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागबण्डा टुंगो लगाउने तयारी छ ।

नेकपा एसले सरकारबाट समर्थन फिर्ता लिए जसपा पनि सरकारबाट बाहिरिने निश्चित छ ।एस र जसपा बाहिरिएपछि सरकारले बहुमत गुमाउने छ ।सरकारले बहुमत गुमाउने बितिकै ठूलो दलको हैसियतमा कांग्रेसले सरकारमा दाबी गर्न सक्ने चिन्ता माओवादी र एमालेका नेताहरुको देखिन्छ ।

स्रोतहरुका अनुसार मंगलवार प्रदेश नेतृत्वको टुंगो लगाइने संकेत प्रधानमन्त्री प्रचण्डले आफ्ना नेता, कार्यकर्ताहरुलाई दिइसकेका छन् ।बागमती प्रदेश कमिटीको सोमबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले मंगलबार साँझ सम्म प्रदेशको नेतृत्व सम्बन्धी निर्णय हुने बताएका थिए । नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले सुदुर पश्चिममा सरकारमा दाबी गरेको छ ।

नाउपाको भरमा सुदुर पश्चिममा कांग्रेसले सरकार चलाइरहेको छ ।त्यहाँ सभामुखको कारण कोशी प्रदेशको समस्या दोहरिने संभावना छ । बागमती प्रदेशमा पनि सत्तारुढ गठबन्धनसित बहुमत छैन् ।

संघीय सरकारमा साझेदार नबनाइएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को समर्थन अनिवार्य जस्तै भएको छ ।राप्रपाले समर्थन दिन सक्ने संकेत गरेपनि सिटको बाँडफाँट विषयमा अझै छलफल भइसकेको छैन् । राप्रपा र नाउपाले समर्थन नगरे तीनवटा प्रदेशमा सत्तागठबन्धनलाई सरकार बनाउन सहज छैन् ।कोशीमा हाल कांग्रेसको सरकार छ ।

सुदुरपश्चिम , गण्डकी र लुम्बिनीमा पनि कांग्रेसको नै सरकार छ ।बागमती, कर्णालीमा माओवादीको सरकार रहेको छ ।मधेश प्रदेशमा जसपा निरन्तर छ ।तर जसपाको नेतृत्व फेर्नुपर्ने दबाब माओवादी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र एमालेले बनाउँदै आएका छन् ।नेतृत्वकै कारण जनमतले सत्ता गठबन्धन छाडेको अवस्था छ ।

Back to top