×

वीरगञ्ज । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ ले पहिलो विकेन्डमा उत्साहजनक व्यापार गरेको छ । शुक्रबारदेखि रिलिज भएको यस फिल्मले तीनदिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ।

षट्कोण आर्ट्सले निर्माण गरेको महाजात्रा  ‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो सिरिज हो। पहिलो दिन महाजात्राले एक करोड २३ लाखको ओपनिङ गरेको थियो। दोस्रो दिन एक करोड ८३ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन व्यापार गरेको निर्माणटिमको दाबी छ। 

निर्देशक तथा लेखक प्रदीप भट्टराईले फिल्ममार्फत दिईएको मनोरञ्जन र संदेशलाई दर्शकले रुचाउनु भएको बताए।

‘हामी प्रदर्शनकै दिनदेखि हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छौँ । उहाँहरू मनोरञ्जनसँगै फिल्ममा उठान गरिएको राजनीतिक विषयसँग खुसी हुनुहुन्छ । फिल्म हेर्न हलसम्म परिवार नै आइरहनु भएको छ, उहाँहरूले हामी प्रति गरिरहनुभएको विश्वास घटेको छैन। यो हाम्रो सबै भन्दा ठुलो उपलब्धी हो’, भट्टराईले भने। 

प्रदीपकै लेखन रहेको यस फिल्ममा विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, हरिवंश आचार्य, दिव्य देव, शिशिर वाङ्देल, रवीन्द्रसिंह बानियाँलगायतको अभिनय छ। बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्।

Back to top