×

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजदरबार हत्याकाण्डकाे छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन ठूला दलहरुलाई चुनाैती दिएका छन् ।  वीरगञ्जमा आयाेजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहकाे लाेकप्रियताबाट अत्तालिएर ठूला दलहरुले दरबार हत्याकाण्डमा पूर्वराजालाई मुछ्ने गरेकाे बताए ।

उनले भने,`जब जब राजाकाे लाेकप्रियता बढ्छ तब तब ठूला दलहरुले राजालाई धम्क्याउन दरबार हत्याकाण्डमा राजालाई मुछ्दै आएका छन् ।´ उनले थपे,`बारम्बार दरबार हत्याकाण्डसंग जाेडेर पूर्वराजालाई धम्क्याउने र बदनाम गर्न खाेज्नेहरुले हिम्मत छ भने छानबिन आयाेग गठन गरेर सत्यतथ्य सार्वजनिक गरुन् ।´

`यदि दरबार हत्याकाण्डमा पूर्वराजा दाेषी नै थिए भने दरबार हत्याकाण्डपछि शेरबहादुर देउवा,केपी ओली,प्रचण्ड,माधव नेपालहरु पटक पटक प्रधानमन्त्री भए ।आँफु पटक पटक प्रधानमन्त्री भएका बेला ती नेताहरुले दरबार हत्याकाण्डकाे किन छानबिन गरेनन् ? किन राजालाई  जेलमा हालेनन् ?, लिङ्देनकाे प्रश्न थियाे ।

अध्यक्ष लिङ्देनले गणतन्त्र र संघीयताकाे खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रकाे पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायतका एजेन्डा लिएर अहिले राप्रपा जनताकाे बिचमा आएकाे बताए । राप्रपाका यी मुद्दाकाे पक्षमा जनताकाे समर्थनपनि प्राप्त भइरहेकाे दाबी उनले गरे ।

अध्यक्ष लिङ्देनले नेपालमा गणतन्त्र र संघीयताकाे खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रकाे पुनर्स्थापना नेपाली जनताकै बलमा हुनुपर्ने राप्रपाकाे मान्यता रहेको बताए । यसमा कुनैपनि विदेशी शक्तिकाे हस्तक्षेप राप्रपालाई स्विकार्य नहुने उनले बताए ।

अध्यक्ष लिङ्देनले भने,`विदेशीकाे साथ र सहयाेगबाट आउने कुनैपनि परिवर्तन स्थायी हुदैन । जनताकाे लागिपनि हितकर हुदैन ।याे कूरा गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताले नै पुष्टि भइसकेको छ ।´

त्यसैकारण नेपालमा गणतन्त्र र संघीयताकाे खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रकाे पुनर्स्थापना नेपाली जनताकै चाहना र बलमा हुनुपर्छ भन्ने मान्यता राप्रपाकाे रहेकाे उनले दाेहाेर्याए। गणतन्त्र र संघीयताले नेपालीकाे पहिचान,धर्म,भाषा,संस्कृतिलाई खतरामा पारेकाले राप्रपाले गणतन्त्र र संघीयता खारेजीकाे माग गरेकाे उनले बताए । पत्रकार सम्मेलनमा राप्रपाका महामन्त्री धवलशम्सेर जबरा, नेता रविन्द्र मिश्र, सांसद ज्ञानेन्द्र शाही, विणा जयसवाल लगायतकाेपनि उपस्थिति थियाे ।

Back to top