×

वीरगञ्ज । शल्यक्रिया गर्दा अधिकांशको रोजाईमा पर्ने प्रविधि हो दूरविन प्रविधि (ल्याप्रोस्कोपी विधि) । यस विधिमा पेटमा स–साना घाउ बनाइ दूरविनका मद्दतले पेटभित्रका कुनै पनि अंगमा भएका समस्यालाई हेर्न र उपचार गर्न सकिन्छ । 

जर्मनीबाट सुरु भएको ल्याप्रोस्कोपी सर्जरी नेपालका विभिन्न शहरहरुमा पनि भइरहेको छ । यो सर्जरीले पेट चिरेर गरिने परम्परागत सर्जरीलाई विस्थापन गरीरहेको छ । पेट सम्बन्धी सबै रोगका शल्यक्रिया ल्याप्रोस्कोपी सर्जरीको माध्यमबाट गर्न सकिने स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बिरेन्द्र भगत बताउँछन् । डा. भगतकाअनुसार पेटमा कुनै पनि रोग लागेको अवस्थामा दुरबिन (क्यामरा) को सहायताले सानो–सानो (१० एमएम) र ५ एमएम जतिको प्वालबाट औजार छिराएर गरिने शल्यक्रियालाई दुरबिन प्रविधिबाट गरिने शल्यक्रिया भनिन्छ । 

यात्रा डेलीसँगको संवादका क्रममा स्त्री तथा प्रसुती रोग विशेषज्ञ तथा क्यान्सर रोग विशेषज्ञ डा. भगतले भने, ‘सुरुमा मेशिनबाट हावा भरेर पेटलाई फुलाईन्छ, र पेटभित्रको भागलाई हेर्नका लागि हामी क्यामरा छिराउँछौ । क्यामराको सहायताले मोनिटरमा पेटभित्रको सबै अवस्था देखिन्छ । र त्यही हेरेर हामीले औजार चलाएर शल्यक्रिया गर्छाै ।’

पेट चिरेर शल्यक्रिया गर्दा ठूलो चिरा लगाइन्छ । तर दुरबिन प्रविधिबाट शल्यक्रिया गर्दा पेटलाई धेरै चिर्नै पर्दैन । तसर्थ पेट चिरेर गर्नुभन्दा दुरबिन प्रविधिबाट शल्यक्रिया गर्दा बाहिरको दाग र घाउ सानो हुन्छ । 

डा. भगतका अनुसार प्वाल सानो हुने बित्तिकै दाग पनि सानो हुन्छ र चिरा सानो हुँदा दुखाई पनि कम हुन्छ । यो प्रविधिबाट शल्यक्रिया गर्दा रगत बग्ने, रगत चढाउने अवस्था अत्यन्तै न्यून हुने उनी बताउँछन् । घाउ पाक्ने सम्भावना पनि एकदमै कम हुनुका साथै शल्यक्रियाबाट हुन सक्ने विभिन्न जटिलताहरु पनि हुँदैनन् । उनी भन्छन्, ‘पेट चिरेर शल्यक्रिया गर्दा अस्पतालमा पनि धेरै दिनसम्म बस्नुपर्छ, घर गएपछि पनि १ महिना जति कम्तीमा आराम गर्नुपर्छ । पछि पनि कुनै समयमा दुख्ने, घाउ पाक्ने जस्ता समस्याहरु देखिन्छन् । तर दुरबिन प्रविधिबाट शल्यक्रिया गर्दा ९० प्रतिशत बिरामी १ दिनमै घर फर्किन्छन् । र बढीमा १ हप्तापछि घरको सबै काम गर्न सक्छन् ।’

दुरबिन प्रविधिबाट शल्यक्रिया गर्दा महंगो भयो भन्ने प्रश्न पनि उब्जिन्छ । शल्यक्रिया शूल्क पेट चिरेर गर्दाको तुलनामा महंगो हुन्छ । यसमा मोनिटर लगायतका विभिन्न उपकरणको प्रयोग गरिएको हुँदा अप्रेशन चार्ज बढी हुन्छ । तर दुवै शल्यक्रिया गर्दाको जम्मा खर्च गर्ने हो भने दुरबिन प्रविधि सुरक्षित र विश्वसनीय मानिन्छ । अस्पतालमा धेरै दिन बस्दाको शूल्क, लामो समयसम्म औषधी सेवन गर्दाको शूल्क लगायतका सबै खर्च जोड्दा दुवै उस्तैउस्तै हुने उनको भनाई छ । 

दुरबिन प्रविधिबाट पाठेघर सम्बन्धी जुनसुकै रोग (धेरै रगत बग्ने, मासु पलाएको) पाठेघरबाहेक अण्डाशय, पाठेघर बाहिर पनि बच्चा बस्न सक्ने अवस्था हुने वा बच्चा फुटेर पेटभरी रगत बग्ने लगायतका सबै किसिमका समस्याको शल्यक्रिया गर्न सकिने डा. भगतको भनाई छ । साथै पत्थरी लगायत पेट भित्रका सबै किसिमका समस्याहरु यसै प्रविधिबाट शल्यक्रिया गरेर उपचार गर्न सकिने उनले बताए । पेटभित्र पलाएको मासु सानो छ भने पाठेघरकै मुखबाट निकाल्न सकिने बताउँदै डा. भगतले भने, ‘यदि पाठेघरको मुखबाट निकाल्न सम्भव भएन भने हामी मोर्सलेटर नामक यन्त्रको प्रयोग गरेर मासुलाई किमा बनाएर निकाल्छौ ।’ 

निःसन्तान, जीर्ण प्रकारका तल्लो पेट दुखाइ, तल्लो पेटमा मासु वा डल्लो पलाएको, महिनावारीमा तल्लो पेट दुख्ने समस्या, महिलाको स्थायी बन्ध्याकरण तथा पाठेघरमा हुनसक्ने विकृति पत्ता लगाउनेजस्ता स्त्री रोगसम्बन्धी स्वास्थ्य समस्या निदानमा ल्याप्रोस्कोपी प्रविधिद्वारा उपचार गर्न सकिने डा. भगतले बताए । 

उपचारका लागि पछिल्लोपटक भित्रिएका प्रविधिमध्ये ल्याप्रोस्कोपी सर्जरी सबैभन्दा सुरक्षित र भरपर्दोमध्ये एक भएको उनले दाबी गरे । एनकाअनुसार उच्च गुणस्तरका क्यामराका सहायतामा टिभीको दृश्यमा हेरेर गरिने शल्यक्रिया भएकाले पुरानो विधिबाट गरिनेभन्दा यो विधिबाट गरिने शल्यक्रिया विश्वसनीय छ ।
 

Back to top